कविता :चुचुरो चुम्ने रहर

शुरज थपलिया
२० मंसिर २०८१ १४:२२
68
Shares

हिँडेका दिनबाट मलाई,
माया लाग्यो घरको
पदमार्गमा सहयत्री हुँदा पनि,
आफ्नै जस्तो हुन्न रैछ परको।

निकै रहर बोकी हिँडेको थिएँ,
हिमाल चढ्न भनी
परदेशीलाई के हुँदो हो कुन्नी,
जब देखिँदैन फर्किने बाटो पनि।
थाकेका बेला रुँदा रैछन्,
तन, अनि कोमल मुटु
सबै पिर मनमै बोकी,
आफ्नै आँसु घुटु–घुटु।

थामी दिने हात हुन्न,
जति दुःख परे पनि
हिँड्नै पर्छ जसरी नि,
सहयत्री जो भेटिएपनि।

नचिनेको माटो त्यो,
अथाह बाटो हुने
कुन ठाँउ जाने थाहा छैन,
भरोसाले नै हो हिमाल छुने।

एक टक संसार निहाल्दा,
हाँस्छ मन कताकता
जति टाढा हुँदै गयो,
याद आउँछ घरको जतातता।

पूर्वी घाममा किरणले,
देखाइदियो बाटो सबै
मनमा आशाको दियो जलाई,
हटाइदियो कालो रातको त्रास सबै।

देखियो चुच्चे हिमाल,
प्रफुल्लित भयो मन साह्रै
सम्झनाको पोखरी बन्यो,
भुलाइ अनिदो रातका दुःख सबै।

माया लाग्यो प्रियसीको,
याद आयो झलझल्ती
कति रमाउँथिन् होला उनी,
एक्लै हुँदा खिन्न भयो मन अति।

घरबाट देखिने हिमालमा,
हर्षित हुन्थे उनका मन कठै
नजिकै बाट हिमाल छुँदा पनि,
खुशी भएन मेरा मन कतै।

हिमालको काखमा बसेर पनि,
देखिन मन छुने दृश्य कतै
जति माथि गयो त्यति भयानक हुँदै गयो,
ङिच्च हाँसेको हिमाल जताततै।

फर्किने भर नै थिएन त्यहाँ ,
चढे जस्तो सजिलो भएन झर्न
हिँउ पग्लिदै गर्दा चिप्लिएर लडे
त्यहा मलाई छुट थिएन मर्न ।

खोचमा फसे पछि,
बल्ल सास आयो तनमा
पैताला मुनीको जमिन नदेखिदा,
सकिन आफ्नो मन थाम्न।

माटोको जस्तो हुन्न रैछ,
हिउँका बाटो सबै
अर्काे जुनी लिए भने,
टेक्छु हिमालका माटो सबै।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *