कविता : आउँछ त्यो खुसी

राकेश कार्की
२३ मंसिर २०८१ १२:५२
48
Shares

सानै कुरो थियो
अलिकति स्वर ठूलो भयो
उनीलाई मन परेन
कुरो बढ्दै बढ्दै गयो
रिस चढ्दै चढ्दै गयो
चर्काचर्की भयो
बाझाबाझ भयो
झगडाले उग्ररूप लियो
उनी हिँडिन एकातिर
ऊ हिँड्यो अर्कोतिर
बेग्लाबेग्लै बस्नथाले
वकिलहरू सगबगाउन थाले
फाटो बढ्न थाल्यो
डिभोर्ससम्मको कुरो हुनथाल्यो

त्यसपछि पल बित्यो
दिन बित्यो
रात बित्यो
बेला समय बित्नथाल्यो
विरहै विरहले
शून्य शून्यमा
एक्लै एक्लै
न ऊसँग उनी
न उनीसँग ऊ

हर पल उनी जिउन थालिन्
उसैको यादहरुमा
ऊ त झन् टोलाउन थाल्यो
उनीकै यादहरूमा

उसले सोचिरह्यो
यो दुईदिनको जिन्दगी
त्यो छुटेका मीठा मीठा साथ
त्यो छुटेका मधुर प्यार
उसको मन
उसको आँसु
भन्दै थियो
‘भो अब यो भन्दा बढी
सहन सक्दिन’

त्यस्तै उनी पनि
सधैँभरिको बिछोडको पीँडामा
बस्न सकिनन्
पागल पागल जस्तो भइन
के के हराए जस्तो
के के गुमाए जस्तो

अदालतकै अगाडि
दुबैको भेटभयो
आँखा जुध्यो
आसलाग्दो हेराइ
सामिप्यमै अन्तरमनको संगम
ओठमा मन्द मन्द मुस्कान
हृदयभित्रदेखि प्रष्फुटित भयो
स्पर्श गरूँ गरूँ लाग्ने
मीठो प्रेम चाहना

दुबैले दुबैसँग माफीमागे
अँगालोमा लपक्क टाँसिएर
मायाले धेरै बेरसम्म रोए
कहिले त्यो बिछोडको
दु:खका आँसु
कहिले यो मिलनको
हर्षको आँसु

अदालतमा पस्नै परेन
उनी ऊ विना र
ऊ उनी विना
बाँच्नै नसक्ने भए

वकिलहरु हेरेको हेरै भए
वरपर सबैले हेरिरहे
हातमा हात समातेर
सँगै बाँकी जीवनतिर लम्किरहेका
मायालु जोडीलाई
श्रीमान् श्रीमतीलाई

समय हो
माया गर्नेहरुलाई
एकदिन न एकदिन
आउँछ त्यो खुसी

लस एन्जेलस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *