आफ्नै डायरीका पानाबाट

गीताको फोन, मेरा आँसु र डाक्टरलाई काउन्सिलिङ

लक्ष्मीधर गुरागाईं
३ पुष २०८१ १२:५२
188
Shares

नयाँ दिल्लीबाट बहिनी गीताको फोन आयो। मैले हतार हतार फोन उठाएँ, मैले केही बोल्न नपाई उसले उताबाट भनी  “दाजु, मलाई राम्रो भएछ, डाक्टरले तीन महिनापछि आउनु, तपाईंलाई ठीक हुन्छ भनेका छन्।तपाईंले धेरै पीर लिनुहुन्छ भनेर अस्पतालबाट बाहिर निस्कने बित्तिकै तपाईंलाई फोन गरिहालेकी हुँ।”

उसका कुरा सुनेर मैले भने “लु , राम्रो भएछ।” यसभन्दा बढी मैले केही बोल्न सकिन। मेरा दुवै आँखाबाट मूल फुटेजस्तो आँसुका धारा बग्न थाले। मेरो गला अवरुद्ध भयो,  भित्रैदेखि भक्कानिएर रोएँ म। हुन त ती हर्षका आँसु थिए। बहिनी गीताका सन्च सुबिस्ताका कुराले खुसीको सीमा नभएर त्यस्तो भएको थियो।

मेरो अवस्था देखेर हतार हतार सपनाले मेरा हातबाट  मोबाइल खोसिन् र भनिन् “मैया, दाजु रोएको रोएकै गरेर मैले फोन खोसें, दाजु रुन्चे भन्ने त थाहा होला नि। हुन त बहिनीलाई अब ठीक भएछ भनेर दाजुको रुवाइ हर्षको रुवाइ हो। पीर लिन पर्दैन है।”

यसपालि गीता निकै बिरामी भई। एकदिन परिवारसित बसेर कुराकानी गर्दा गर्दै उसका दुवै आँखा अचानक बन्द भएर ढलिछ। परिवारमा रुवाबासी चलेछ। एकछिन् पछि फेरि आँखाको भिजन खुलेछ।

उसलाई भान्जा प्रकाश, विकास र भान्जी प्रतिमाहरुले हतार हतार ह्याम्स हस्पिटल लगेछन्। मुटुको समस्या पो हो कि भनेर  पहिलेदेखि जँचाइरहेको डा. मानबहादुरलाई देखाएछन्, सिटी स्क्यान र एमआरआई गरेपछि डाक्टर मानबहादुरले सल्लाह दिएछन् “एकपटक तपाईंहरुले डा. भगवान कोइरालालाईलाई पनि  देखाउनु होला।”

भान्जाभान्जीले गीतालाई डा. भगवानकहाँ जँचाउन लगेछन्। डा. भगवान कोइराला त्यसदिन कुन सोचमा थिए ,उनलाई के भएको थियो,  के कुराको तनाव पो थियो कि उनले सबै रिपोर्टहरु हेरिसकेपछि गीता, उनका दुई छोरा छोरी र बुहारीका अगाडि नै भनेछन् “ल, उहाँका टाउकाका नसा नै नब्बे प्रतिशत सुकेछन्, नसामा रक्तसञ्चार नै भएको छैन, चुँडिनमात्र बाँकी छ, अब केही उपाय छैन, राम नाम जप्नु बस्नु। उपचार गराउनेतिर नलागे हुन्छ। कुनै पनि बेला जीवन  कोल्याप्स हुने अवस्था छ।”

डाक्टरका कुराले भान्जाभान्जीसहित बिरामी त्यहीं डाँको छोडेर रुन थालेछन्। डाक्टरले नै त्यसो भनिसकेपछि उनीहरु ज्यादै हतास र पराजित मनस्थितिमा  पुगेछन्।
मलाई लाग्यो डाक्टरहरु किन बिरामी र बिरामीका आफन्तलाई त्यसरी अत्याउँछन्।

असाध्य नै रोग लागेको, निको नहुने अवस्था देखिएको भएपनि बिरामीका कोही आफन्तलाई सुटुक्क त्यही कुरा भनेका भएपनि त हुने नि। यस विषयमा डाक्टरहरुको आचारसंहिता हुन्छ कि हुँदैन होला भन्ने लाग्यो।

लाग्यो हिजोआज बिरामीको उपचार गरेर सेवागर्ने  डाक्टरहरु  पनि ज्यादै संवेदनहीन बनेर जाँदैछन्। यो संवेदनहीन मनमस्तिष्कको दिगो उपचार के होला? मैले निकैबेर आफ्नो निदार खुम्च्याएँ।

डाक्टरको त्यो भनाइ एक कान दुई कान मैदान भएर ८७ वर्ष पुगेकी हाम्री आमाका कानमा पनि पर्दा आमाको मनस्थिति कस्तो भयो होला। हाम्रो परिवारमा निकैदिन रुवाबासी चल्यो।

त्यसपछि भान्जाभान्जीले सल्लाह गरेर गीतालाई  अन्नपूर्ण हस्पिटलमा डा. बसन्त पन्तलाई जँचाउन लगेछन्। डा. पन्तले सबै रिपोर्ट हेरेर भनेछन् “ टाउकाका नसा त सुकेका छन् तर, त्यति हदसम्म आत्तिन पर्दैन, यसको उपचार छ, म आज तीन महिनालाई खाने औषधि दिन्छु, नआत्तिनु, यो रोग ठिक हुन्छ। तीन महिनासम्म औषधि खाएपछि म अप्रेसन गर्न सक्छु, यस्ता थुप्रै अप्रेसनहरुमा  मैले पूरा सफलता पाएको छु। तीन महिनापछि आउनु। तनाब नलिनु,  पटक्कै नआत्तिनु।”

डा. पन्तको भनाइले बिरामी र बिरामीका सबै आफन्तमा नवीन आशाको प्राणसञ्चार भएजस्तो भयो। डा. पन्तको ढाडसले उनीहरुमा सकारात्मक ऊर्जाको विकास भएछ।

त्यसपछि परिवारका सबै सदस्यको सल्लाहमा हाम्री बहिनी गीतालाई नयाँदिल्ली लाने निर्णय भयो। नयाँदिल्ली जानुभन्दा अगाडि हामी दुबैजना गीताका घर गयौं। मलाई उसको अनुहार कसरी हेर्नुजस्तो भएको थियो। उनका घर गएर पनि हामीले रोग र बिरामका विषयमा एकशब्द नभनी अरु नै घरायसी गफ, हाँसो, ठट्टा गरेर फर्कियौं।

सपना भन्थिन् “गीता मैयाँको मुख देख्नेबित्तिकै रुनेचाहिँ होइन नि! बिरामीका अगाडि गएर कोही रुने कराउने गरेका खण्डमा बिरामीको मनोबल घटेर अझ नराम्रो असर पर्छ।”

हामी कुमारीगालबाट गीताको घर जान बाइकका हिँड्यौं। बाटाभरि उसैकोमात्र अनुहार आँखा सामु आइरह्यो।

ऊ सानी छँदा ज्यादै बाठी थिई। हाम्रा बा भन्नुहुन्थ्यो “गीता कति बाठी छ कति , भोलिपर्सि इन्दिरा गान्धीभन्दा पनि ठूली मान्छे हुन्छे।” बाका कुरा सुनेर हामी खुसी हुन्थ्यौं।
ऊ बोल्न पनि ऊ धेरै सानैमा बोलेकी, धेरै सानैमा हिँडेकी, ठूली भएपछि पनि सबैलाई आफूले सकेको सहयोग गर्नु आफ्नो धर्म सम्झिन्छे। कसैसित बैरभाव राख्दिन, सबैको राम्रो सोच्ने मान्छे,  उसको स्वभाव साँच्चै असल छ, मिलनसार छ।

बाइक चलाउँदै चलाउँदै उसको निवास बाल्कोटमा पुग्यौं हामी।  त्यसदिन मैले आफ्नो मन कसरी बाँधेंछु , मलाई नै थाहा छैन। उसका घर गएर हामीले रमाइला गफ गर्‍यौं। गीताले भनी “दाजु, तपाईंले हाम्रा आमाहरुको मेलजुलका विषयमा कति राम्रो कथा लेख्नुभएको रहेछ मैले दुई तीन पल्ट पढें नि। हाम्रा आमाहरु कति बिघ्नै मिल्नुहुन्थ्यो नि दाजु। अरुका सौता सौता मारामार गर्छन् तर हाम्रा आमाहरु सौतासौता भएर पनि दिदी बहिनी भन्दा पनि मिल्ने सासू बुहारी जस्ता हुनुहुन्थ्यो।”

गीता र म भएर हाम्रा आमाहरुले भन्ने गरेका थुप्रै कुरा पुनः स्मरण ग¥यौं। दुवैजना आमाहरुप्रति भक्तिभाव प्रकट ग¥यौं। हामीले भन्यौ साँच्चै हाम्रा दुवैजना आमाहरु ममताका खानी नै हुनुहुन्थ्यो।

हुन त गीता मेरी सौतेनी आमाकी छोरी हो। तैपनि मलाई राधा दिदी, कमला दिदी र मिठेभन्दा ऊ पनि कम लाग्दिन बरु बढी नै लाग्छे।  माया, प्रेम, स्नेहले जितेको छ भने आफ्नी आमा र सौतेनी आमामा कुनै अन्तर नहुने रहेछ।

शिशिर बसन्तका कथा, लगायतका लोककथाले गर्दा सौतेनी आमाप्रति हाम्रो मनमा खराब भावनाको बीजारोपण गराएका हुन्। हामीले पाएजस्ती सौतेनी आमा सबैका हुने हो भने त संसार नै सुनौलो हुन्छ होला जस्तो मलाई सानैछँदा देखि लाग्थ्यो। हामी हाम्रा दुवैजना आमालाई आमा नै भन्थ्यौं।

उहाँ आमाहरुले आफ्ना र अर्काका छोराछोरी भनेर कहिले पनि हामीलाई छुट्याउनु भएन। मलाई त मेरी आफ्नी आमाले भन्दा पनि सौतेनी आमाले बढी माया गर्नुभएको अनुभूति हुन्छ। मैले कुनै कुरामा बदमासी गरेंभने हाम्री आमा पाट्टपिट्ट पार्नुहुन्थ्यो।

आमाले पिट्न लखेट्नुभयो भने सौतेनी आमाको काख नै मेरो एकमात्र आश्रयस्थल हुन्थ्यो। हाम्री अर्की आमाले कुट्नु त परैको कुरा नराम्रा शब्दले गाली गरेको पनि हामीलाई कहिले सम्झना छैन। मेरा  दाजुदिदीहरु पनि त्यसै भन्नुहुन्छ।

उहाँ बारम्बार भन्नुहुन्थ्यो हाम्रा बाह्रजना छोराछोरी मेरालागि हातका औंला जस्ता  सबै बराबर छौ। आमाहरुले हामीलाई आफ्ना बिराना कहिले गर्नुभएन। मातृवात्सल्यको शीत्तल छाहारीमा न्यानो माया र छाया दिएर हामीलाई आमाले हुर्काउनुभयो।

हामीले पनि हामी पट्टिका दाजुभाइ, दिदी बहिनी र उतापट्टिका गीता, बसन्त, पुरुषोत्तम र चिरञ्जिवीहरुलाई कहिले विभेद गरेनौ। लाग्छ , सबैभन्दा ठुलो माया ममता नै हो मायाका सरमा भिजाएपछि बिरन्तरी त आफन्त बन्दछन् भने उही बाबुआमाका छोरा छोरी बीच मायाप्रेम र सदभाव हुनु स्वभाविक रहेछ।

हाम्रा त दुवैजना आमा साँच्चै देबीतुल्य हुनुहुन्थ्यो जस्तो लाग्छ। त्यति हुँदाहुँदै हाम्री सानी आमालाई ढोग गर्नुपर्दा हामी हातमा ढोग गर्दथ्यौं। त्यो कुरा मलाई पहिलेदेखि नै पटक्कै चित्त बुझेको थिएन। पछि पुरुषोत्तम तीनपैनीबाट गछियामा बस्न थालेपछि मैले गएर आमाका दुवै गोडा जोडेर आफ्नो निदार ती गोडामा राखेर ढोग गरें।

आमा त नाइँनास्ती गरेर हातैमा ढोग भन्दै हुनुहुन्थ्यो। तर सौतेनी आमा भएर पनि माया, ममताले उहाँले जित्नुभएको हुँदा मेरा शिर उहाँका पाउमा स्नेहले पग्लेर, निहुरिएको मलाई अनुभूति भएको छ।

आजसम्म मैले कहिले नभनेको उहाँलाई सौतेनी आमा भनेर सबैका सौतेनी आमा यस्तै आकाशजस्तै विशाल छाती भएका, प्रशान्त महासागर जस्तै गहिरो प्रेम र वात्सल्य भएका, सगरमाथा जस्तै उच्च भावना भएका हुन सकुन् भन्ने अभिप्रायले नचाहेर पनि सौतेनी आमा शब्दले बिझाएको हुँ, आमा मलाई माफ गर्नुहोला है! तपाईं साँच्चै महान् हुनुहुन्छ , क्षमा त दिइहाल्नुहुन्छ नि।

अँ, डा. पन्तले दिएको औषधि नै नयाँदिल्लीका डाक्टरले पनि सही छ भनेछन्। उनीहरुले  गीतालाई अब ठिक भयो भनेर अस्पतालबाट विदा गरेको कुरा सुन्दा आमा कति खुसी हुनुहोला भन्ने लागेर मेरो  मन भरियो। मैले भने धन्य ईश्वर!

मैले बिरामी र बिरामीका आफन्तलाई अत्याइदिने एक एक  डाक्टरलाई पनि सम्झिएँ।

२०४९ सालतिर हामी घट्टेकुलोमा हरिवंश आचार्यको घर सँगै भएको डा. लक्ष्मी पाठकका घरका बस्दथ्यौं। मेरी छोरी साधना त्यही आठ वर्ष जतिकी  थिई। एक रात उसको कान निकै  दुख्यो। रातभरि सुत्न नसकेर ऊ रोई। ऊ रुँदा हामीलाई पनि खपिनसक्नु भयो। भोलिपल्ट बिहान ८ बजे उसको कान जँचाउन उसलाई लिएर म वीर अस्पताल गएँ।

त्यहाँ डा. जिष्णुप्रसाद नामका नाक, कान , घाँटीका डाक्टर थिए। उनलाई जँचाउन छोरीलाई लिएर म लाइनमा बसेको थिएँ। डाक्टर रहेछन् परपीडक स्वभावका। उनले बिरामीलाई गरेका क्रियाकलापको म सूक्ष्म निरीक्षण गरिरहेको थिएँ।

टाउकामा हेल्मेटजस्तो वीचमा लाइट फिट गरेको औजार टाउकामा लगाएका डाक्टर पालैपालो बिरामीका नाक, कान घाँटी जाँचिरहेका थिए। उनी प्रत्येक बिरामीलाई नमिठो शब्दमा गाली पनि गरिरहेका देखिन्थे। बिरामीलाई सान्त्वना दिनुको साटो कर्कस शब्द प्रयोग गरेर बिरामीलाई त्यसरी गाली गलौज नगरेका भए हुने थियो भन्ने मेरा मनमा लागिरहेको थियो।

म छोरीको अस्पतालको कार्ड हातमा लिएर छोरीलाई साथमा राखी लाइन बसिरहेको थिएँ। हाम्रा ठीक अगाडि एउटी चौध पन्द्र वर्षकी किशोरी थिइन्, उनी आमासित जँचाउन आएकी थिइन। डा. जिष्णुप्रसादले उनको कान भित्र लाइट लगाएर हेरे अनि भने “जाऊ तिम्रो कान त भेलोर गएपनि निको हुँदैन।” डाक्टर गर्जिए।

डाक्टरको भनाइ सुनेर ती आमा छोरी त्यही रुन थाले। मलाई डाक्टरको व्यवहार निको लागेन। मैले बिस्तारै भने “डाक्टर साहेब, राम्रो डाक्टरकहाँ जँचाउन जाँदा त बिरामीको आधा रोग डाक्टरको हार्दिक व्यवहारले कम हुन्छ भन्छन्, तपाईंले त कस्तो व्यवहार गर्नुभएको बिरामीलाई?”

“तिमी मलाई डाक्टरको व्यवाहर सिकाउने? तिमी बाहिर गइहाल, आफैं जान्छौ कि गार्ड बोलाएर गलहत्याउन लगाऊँ। ” बुढा डाक्टर मलाई हात हाल्न तम्सेर अगाडि आए।

मैले भने “तपाईंजस्ता डाक्टरलाई जँचायो भने त आधा रोग निको हुने होइन, थपिने रहेछ। म मेरी छोरीलाई जँचाउन आएको थिएँ, अघिदेखि अरु बिरामीलाई तपाईंले गर्नुभएको रुढ व्यवहार देखेर तपाईंलाई जँचाउन मन लागेन।” यति भनेर मैले  वीर अस्तपतालको कार्ड डाक्टरकै अगाडि ध्वारध्वार पारेर च्यातें। अनि डाक्टरतिर फ्याकिदिएँ।
अनि छोरीलाई भने “जाउँ छोरी, अन्तै जँचाउने, यस्तासित जँचायो भने रोग निको हुने होइन अरु बढ्छ।”

डाक्टर उफ्रेर मतिर जाइलाग्न खोज्दैथिए। अरु बिरामीले नै उनलाई रोके। म आफ्नी छोरीलाई डोर्‍याँउदै अस्ततालबाट बाहिरिएँ। त्यसपछि पुतलीसडकमा नाककान घाँटीका अर्का डाक्टर सोमनाथ अर्यालको क्लिनिक थियो, त्यहाँ जँचाएँ। त्यहाँ डाक्टरको व्यवहार साँच्चै  आहा थियो।

डा. भगवान कोइरालालाई धेरैले भगवान जस्तै हुन् भन्ने पनि सुनेको छु। मैले ती डाक्टरलाई टेलिभिजन र फोटाहरुमामात्र देखेको हुँ। उनीप्रति मेरो मनमा चुलिएको सगरमाथाजस्तो आस्थामा यस कुराले प्रहार भएको ठाने। डाक्टरले त्यसो नभनी त भान्जा भान्जीहरुले मलाई भनेका होइनन् होला।

त्यत्रो आस्थाको धरोहरबाट यति तल्लोस्तरको भनाइ आयो भन्ने कुराले म त्यसदिन निकै पीडित बने।  उनले मेरी बहिनी गीतालाई भनेको कुरा छातीमा बिझाइरहेको छ। आखिर किन डाक्टरहरु बिरामीलाई यस्तो व्यवहार गर्छन्? उनीहरु किन संयम र धैर्यता (गुमाउँछन्? डाक्टरले भनिदिएको कुराले परिवारका सदस्यलाई कतिठूलो बज्रप्रहार हुन्छ।

डाक्टर भगवान कोइराला नेपालका नाम चलेका मात्र होइनन् मान र यश कमाएका डाक्टर हुन्, उनीजस्ता डाक्टरबाट त यस किसिमको बिझाउने कुरा आउँछ भने अरु सामान्य डाक्टरहरुले कसो गर्लान्। बिरामीको कसरी मनोबल बढाउन सकिन्छ? भन्ने विषयमा मुलुकका डाक्टरहरुलाई काउन्सिलिङको टड्कारो खाँचो देखिएको छ।

(डायरी लेखक श्री गुरागाईं  गोरखापत्र दैनिकका पूर्व प्रबन्ध सम्पादक हुन्)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *