लघुकथा: सडक र रात !
बेजोड शून्यता लिपिएको छ, सडकमा घाम डुबे लगत्तै। त्यही सडकमा खुब चहलपहल थियो केही बेर अघिसम्म। आउने-जाने को लर्को थामी नसक्नु थियो।
तर, अहिले थामिएको छ। गाडीको लर्को, मान्छेहरुको आवात-जावत।
“यिनका अर्थात् सडक को चुरिफुरी बेजोडको थियो केही बेर पहिले सम्म”।
बोलाउँदा नसुन्ने भएको थियो। बिज्ञानको चमत्कारसँगै अघि सरेका मोटर गाडीबाट निस्केको कोलाहल र प्रदूषणको कारण।
यिनी पहिले बिरक्त लाग्दो बिरानो काडाँघारी थिए। बाठा मान्छेहरुले आफ्नो स्वार्थ पूरा गर्न यिनको कुमारित्वमाथि बलात्कार गर्न लगाए बज्र स्वाँठ डोजरलाई फकाएर।
डोजरले छ्याल्ल ब्याल्ल हुनेगरे खने जोते। सम्म अनि काइदाको सडक बनाए।
त्यही सडकको माध्यमद्वारा कति आफ्नो गन्तव्यमा पुगे होलान्। अझै कति पुग्न बाँकी होलान्। कति यात्रामै तल्लीन होलान्। कति मिठो सहन शक्ति छ उसँग अर्थात सडकसँग। कसैको यात्रालाई रोक्दैनन्। कसैलाई छेक्दैनन्। आऊँछन्,जान्छन्। सबै सबैको थिचोमिचो खेप्छ्न्। कतिले उनको नाममा भ्रष्टाचार गर्छन्।
केही बेरमै रात पर्नेछ। रातसँगै सडक एक्लै भोलिलाई कुरि बस्नेछन्। अनिदो बसेर रात कटाउने छन्। भोलि हिँड्ने यात्रीको आगमनलाई उ स्वागत गर्न तयार हुनछन्।
दिन थियो। दिनसँगै घाम थियो। घामको उज्यालो ले उनको सौन्दर्यलाई निखारेको थियो। रात पर्दैछ, रातसँगै सन्त्रास घोप्टिने छ। कालो अलकत्र ले लिपेको उनको कालो अनुहार झनै कालो हुनेछ।
सन्त्रासले निम्ताएको कालो रात उनलाई फिटिक्कै मन पर्दैनन्। मन नपरेर के गर्ने गुज्रिनु छ रात सँगै भोलिको प्रतीक्षामा।
रातले गर्लम्म अंगाले सडकलाई। सडकले लिए विश्राम आकाश ओढेर। बिहानीपख सडक छेउको सिसौको रुखमा बास बसेको चरा चिरबिराउन थाल्यो। रातलाई बिस्तारै दिनले धकेलेर उज्यालो तुल्यायो सारा जगतलाई।
सडक पुनः आफ्नो दैनिकमा फर्के।
पाँचखाल-११,काभ्रेपलान्चोक
No ads found for this position


Facebook Comment