लघुकथा : भाग्य
`उजेली, ए उजेली! हैन , कहाँ मरी यो? बस्तुको भकारो सोर्नु, दाना पानी खुवाउनु, एकछिन् पछि भाइलाई स्कुल पुर्याउनु काम कत्ति छ? आफूलाई मेलामा जान ढिला भइसक्यो।´ आमा कराउनु भयो।
हस्याङफस्याङ गर्दै उजेली पधेँराबाट पानी लिएर आई। आमाले उसलाई काम अह्राएर मेलामा जानुभयो। उसले हतार हतार गरेर सबै काम सकी अनि भाइलाई विद्यालय पुर्याउन गई। सधैंझैं आज पनि गुरुले पढाएको कुरा उसले लुकेर सुनी। त्यो देखेर गुरु साँझपख उजेलीको घरमा पुग्यो भयो।
उसकी आमालाई भेटेर भन्नु भयो , `उजेली टाठी बाठी छे। विद्यालय भर्ना गरिदिनु पर्छ।´
उहाँले झर्किँदै भन्नुभयो- `मास्टरसाप, अर्काको घर खाने छोरीको जातलाई किन पढाउने? बरू कुलको इज्जत धान्न काम पो सिकाउने हो। राम्रो घर पाए बिहे गरेर पठाइ दिने हो।´
गुरुले सम्झाउनु भयो , `अर्काको घरमा जाने छोरीलाई आत्मनिर्भर बनाउन त झन पढाउनु पर्छ नि!´
आमा र गुरूका विवाद सुनिरहेकी उजेलीले मनमनै सोची, “पढनका लागि त छोरा भएर जन्मनु पर्ने रहेछ। आफ्नो त कर्म नै खोटो!´
उसैबेला उजेलीलाई हेर्न भनेर मामाले केटो लिएर आउनु भयो। कुराकानी मिल्यो। बिहेको दिन निश्चित हुँदै थियो, केटा जुरूक्क उठ्यो र भन्यो, `मेरो एउटा चाहाना छ, त्यो भए मात्र बिहे गर्छु।´
आमा र मामाले भयभित हुँदै सोधे , `कस्तो चाहना हो?´
उसले गम्भीर हुँदै भन्यो, `मेरी श्रीमती भएपछि यिनले कम्तीमा पनि स्नातकसम्म पढ्नु पर्छ।´
गैंडाकोट ४, नवलपुर
No ads found for this position




Facebook Comment