लघुकथा : ठिकठिकै

ईश्वर पोखरेल
९ माघ २०८१ १०:४९
196
Shares

‘देख्नु भो? पार्टीमा एउटै छुल्याहाले कति बबन्डर मच्चाउँछ!’ सुप्रिम नेताको पारो अझै उच्च बिन्दुमै थियो।

उहाँको संकेत पार्टीको बन्दसेसनमा भएको चर्काचर्कीप्रति थियो।

हामी मिटिङ सकेर मोटरमा बसेका मात्र थियौं; कुरा उठी हाल्यो। कुरा उठ्यो भनौं कि चट्ट्याङ पर्यो भनौं; नेताजी बम्की हाल्नु भयो।

मोटरमा हामी जो जो थियौं; केही बोलेनौं। यस्तो बेला केही बोल्नु भनेको- ‘बलेको आगोमा ध्यूँ थप्नु’ भन्छन् नि; हो त्यस्तै हो; यो हामी सबैलाई थाहै थियो।

लामै सन्नाटापछि नेताजीले केही शान्त स्वरमा ‘किचेन क्याबिनेट’मा हुने स्तरका केही भित्री कुरा खोल्नु भयो। भन्नु भो— ‘संगठनलाई चाहिने भनेको ठिकठिकै पढेको, ठिकठिकै सोच्ने, ठिकठिकै सजग मान्छे ।’

केही क्षण रोकिएर फेरि भन्नु भो-‘त्यसले यति मात्र सोचोस् कि- हाम्रा कुरा बुझोस्। यति नसोचोस्, कि-हामीले बोलेका कुरामा शंका-प्रश्न गरोस्। हाम्रो नियतमाथि संसय राखोस्।’

नेताजीले सम्झाए जस्तै गरी फेरि भन्नु भयो- ‘हामीमाथि शंका गर्ने र हामीलाई प्रश्न तथा आलोचना गर्ने व्यक्ति हाम्रो पार्टी निर्माणका दृष्टिमा अयोग्य व्यक्ति हो भनेर बुझ्नोस्। त्यसले अन्ततः पार्टीलाई नै हानी गर्छ। हामीलाई किन चाहियो त्यो स्तरमा सोच्ने कुशाग्र मान्छे? हाम्रालागि त ठिकठिकै बुझ्ने व्यक्ति पर्याप्त हुन्छ नि।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *