कविता : मेरो देश
देशको भविष्य
युवायुवती अरुको देशमा गरेर निर्यात
श्रमशक्ती निर्यात सँगै आयात भएको रेमिट्यान्समा
दंग पर्दै
जुँगमा ताउ लगाउँदै
केही बर्ष अघि चप्पल पट्काएर शहर भित्रेका नेता
पाँचतारे होटेलको खाजा खाएर
करोडौं को गाडी चढेर
पुग्छ आमसभामा
अनि फलाक्छन् भाषण
मञ्चमा उक्लेर
बिकाशको, उन्नतिको,प्रगतिको…
भान्सादेखि भवनसम्मलाई चाहिने
कच्चापदार्थहरु अरुको देशबाट
आयात गर्दैगर्दा
काम भन्दा कुरा बेसी गरेर नथाक्ने
नेताकार्यकर्ताहरु मान्दैनन् लाज
गर्दैनन् आत्माग्लानी-
अझै-
उनीहरु राजनीतिको रामनाम जप्दै
रम्छन् रम्दै-रम्दै झुम्छन् फुरफुर
बगैंचामा रमेको पुतली जसरी
कठै मेरो देश…..
०००००
प्राकृतिक छटाले भरिपुर्ण स्वर्ग जस्तै
हरियालि डाँडा-काँडा
भुमाफियको खाएको कसम पूरा गर्दै
लुछेर-ताछेर,कोतरेर
बिकराल कुरुप बनाउँदै
लगानी बिनाको फस्टेको व्यावसायले
झोला र झण्डा बोक्ने
नामुद पिछलग्गु हरुको स्वार्थको घैलो भर्दैछ।
खोला-नाला,गेगर-बगर
धनको दलदलमा जीवन देख्ने
नेता गणको प्रीय पात्र
दलाल महोदयहरुको हात परेर
बिर्सेको छ पानीले आफ्नो बाटोमा बग्न
र त-
राजधानीमा दिन दाहाडै खोला नभएको ठाउँमा
मानिस बगेर जीवन गुमाउँछ।
कठै मेरो देश……
००००००
कसैको बा बितेको छ।
बा को पार्थिव शरीर अस्पतालको
बरफ घरमा लडेर पर्खी रहेकोछ
सन्तानको हातबाट
पाउन दाहसंस्कार र दागबत्ती
उता-
परदेशमा छोरा
छुट्टी मिलाई पाउ भन्दै आर्काको देशको मेनेजर सँग
बिन्तीपत्र बिसाउन विवस छ
कसैको आमा भएको छ सिकिस्त
भन्ने बित्तिकै नपाएर छुट्टी छट्पटी रहेको छ
अनगिन्ती छोराछोरी टाढाको परदेशमा
पारिवारिक प्रेम भएर क्षतबिक्षत
तन्नेरी हरुको उत्साहित जिन्दगी
बनेको छ बाटो बिराएको यात्री जस्तै
उफ् मेरो देश
मेरो देश सुन्दर छ
मेरो देश शान्त र बिशाल छ
मेरो देशमा के छ होइन
के चाहिँ छैन ।
संसारको अग्लो शिखर सगरमाथा छ।
बुद्ध,सीता,भृकुटी…
के के छ, के के
देशले धेरै थोक दिएको छ ।
तर-देशलाई
मै हुँ भन्ने देश चलाउने छली शासक हरुले-
भन्नै नसकिने अगतिलो
कुकर्म हरु गर्दैछ ।
कठै मेरो देश |
पाँचखाल-११,काभ्रेपलाञ्चोक
हाल-लिमासोल, साईप्रस
No ads found for this position


Facebook Comment