लघुकथा : परिवार

ईश्वर पोखरेल
३ फागुन २०८१ ६:५३
160
Shares

‘तपाईंलाई मेरो आफ्नो च्वाइसको सुटमा देख्ने धोको थियो। यसपालि बैरगनियाँ जाँदा टीका–दक्षिणाको पैसाले धान्यो पनि। ल्याएकी छु। हेर्नोस् त!’ दिलाशाले उत्साहित हुँदै भनी।

रोशनले कपडा हातमा लियो। उसलाई कपडाको स्तर त ठिकठिकै लाग्यो, कपडाको रंगै मन परेन। मन नपरेपछि रोशनले सोझै ‘छ्या!’ भन्न पनि सक्थ्यो, उसको के जाने थियो र! तर उसले त्यो रुट समातेन। भन्यो- ‘सुटैसुट छन् मेरा। चाहिए म आफैं किनी हाल्थें। तिमीसँग केही पैसा जगेडा हुँदा के बिग्रिन्थ्यो र!’

दिलाशाले रोशनले ल्याइदिएका सबै कपडा बिना टिप्पणी लगाउँदै आएकी थिई, रोशनले भने सुट सिलाउँदै सिलाएन।

एकपटक बजार जाँदा दिलाशाले सुटको कपडा खुसुक्क ब्यागमा हालेर गएकी पनि थिई। यसपटक रोशनले ‘पछि सिलाउँला’ भनेर टार्‍यो।

रोशनलाई टेलरहाउसभित्र लगेर सुट छेकाउन पनि दिलाशाको के पुगेन, पुगेन!

देख्ने मान्छेहरू रोशन-दिलाशाको परिवारलाई ‘मिलेको परिवार’ भन्दछन्।

दिलाशालाई भने अचेल लाग्छ-परिवारभित्र माया प्रेम त हुन्छ नै, द्वन्द्व र शक्ति-संघर्ष पनि हुनेरहेछ, बार्गेनिङ पनि हुने रहेछ। परिवारभित्र पनि सधैंजसो कमजोरकै भागमा पर्ने रहेछ-पराजय।

[email protected]

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *