कविता: मलाई सम्झिनु

चिरञ्जीवी मिश्र
१० फागुन २०८१ ७:२९
332
Shares

आज
जलवायु परिवर्तन जस्तै
चिस्यानबाट तातो बनेकी तिमी
भोलि
सेतो हिमालबाट कालो बन्यौं भने
मलाई सम्झिनु!
तिम्रो विगत, वर्तमान र भविष्य
मन्जुर छ मलाई।

नाइल नदीको सभ्यता बिर्सन मिल्छ?
बा, आमा र मातृभूमि बिर्सन मिल्छ?
त्यस्तै
लालटिन बोकेकी मेरी फ्लोरेन्सलाई
म कसरी बिर्सनु?
सबै बिर्सिदेउ भनेर,
क्षितिजपारि पुगेकी
ए! लालटिनवाली,
यो कतारको बाडुल्की सिड्नी पुग्यो भने
मलाई सम्झिनु!
क्षितिजपारिको उज्यालो मन्जुर छ मलाई।

तिमी पशुपतिको काखमा बगेकी बागमती हौं।
शास्त्र अनुसार
तिम्रो पवित्रतामा प्रश्नचिह्न छैन।
तर,
एकाएक हार्वरमा बग्न थालेकी
तिम्रो पवित्रतामा
कसैले प्रश्न उठायो भने
मलाई सम्झिनु
लालटिन बोकेर बागमती सफा गर्न
मन्जुर छ मलाई।

परिवर्तनको एक पुस्ता हौ हामी
तिमी अर्कैकी बनेर परिवर्तन भयौ,
अनि,
म एक्लो बनाइएर परिवर्तन भए
परिवर्तनको पात्रलाई नै फेरि
अर्को परिवर्तन चाहिएमा
मलाई सम्झिनु!
पुरानो सभ्यतातर्फ फर्किने
तिम्रो परिवर्तन मन्जुर छ मलाई ।

कसैसँग पग्लिन्न भन्थ्यौं
अग्नि साक्षी राखेर पग्लिछौं।
सिढीमा बसेर मनको गाँठो फुकाउँछु भन्थ्यौं
सिड्नीमा बसेर लगन गाँठो कसिछौ।
मुटुमा पोतिएको रंग पखालिँदैन भन्थ्यौ
अग्निको साक्षीमा जाबो निधार रङ्ग्याइछौं।
तिम्रै हृदयले पनि त भन्दो हो
‘जिन्दगानी’ नामको चलचित्रमा
‘नायक बनाउनै पर्नेलाई खलनायक बनाइएछ।’
कुनै दिन
चलचित्रको नायकलाई बिर्सनुपर्‍यो भने
मलाई सम्झिनु!
तिम्रा हातमा चुरा लगाइदिन
मन्जुर छ मलाई

तर,
आज बागमतीको किनारमा टोलाइरहेको मनसँग दुई वटा दोभान छ्न्
एक
लालटिन बोकेकी मेरी फ्लोरेन्सलाई
म कसरी बिर्सनु?
दुई
जिन्दगानी नामको तिम्रो चलचित्र
म कसरी बिर्सनु?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *