लघुकथा : आयाम

ईश्वर पोखरेल
२४ फागुन २०८१ ७:००
108
Shares

निकटता आकर्षणमा विकास हुँदै थियो र प्रमोद र उषा साथीहरूसँग छुट्टिएर दुईजना मात्र हिँड्न रुचाउने तहमा भर्खरभखैर पुगेका थिए।
गाउँको बाटो।
खिच्चा कुकुर धेरै।
कुकुर भुक्दै थिए।
उषा डराउँदै थिई।

डर त प्रमोदलाई पनि लागेको थियो तर ऊ डरायो भने उषाले काँतर भन्ठान्ली भन्ने मनोविज्ञानबाट प्रभावित थियो।

गाउँ सकिनै लाग्दा एउटा खिच्चो कुकुरले उषालाई झम्टियो। कस्सो टोकेन!

प्रमोदले लाठो टिप्यो। कुकुर भाग्यो। तर प्रमोदले छाडेन, छाड्दै छाडेन।

प्रमोदले कुकुरलाई भेटी त हाल्यो।

प्रमोदको लाठोको प्रहारबाट कुकुर कसरी बँच्थ्यो र! कुकुर कुइँ कुइँ गर्दै भुइँमा लडिबडी गर्न थाल्यो। कुकुर रक्तमुछेल भइसक्यो, प्रमोदले छाडेन, छाड्दै छाडेन।
प्रमोदले कुकुरलाई मारेरै छाड्यो।

एउटा काम फत्ते गर्‍यो-प्रमोदले। यो जो गर्‍यो,  उषासामु बहादुरी देखाउन गर्‍यो कि उषाप्रतिको प्रेम देखाउन गर्‍यो भन्ने विषयमा उषा प्रष्ट हुन सकेकी थिइन्। यो उसको स्वभाव हो र ऊ यो हदसम्म जान सक्ने रहेछ भन्ने बारेमा भने उषाको मनमा कुनै शंका रहेन।

छुट्ने बेलामा उषाले भनी- ‘हिजोअस्ति मैले तिम्रो मप्रतिको प्रेम मात्र बुझेकी थिएँ, आज भने तिम्रो क्रोधलाई पनि चिन्न पाएँ।’

त्यही दिनदेखि उषालाई फेरि प्रमोदसँग हिँडेको देखिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *