लघुकथा : सौन्दर्यको व्याकरण
‘आहा, कत्ति राम्रो ठाउँ! कत्ति मनमोहक!! कत्ति आनन्ददायक!!! म त यहाँ आएर मन्त्रमुग्ध भएँ, भावविभोर भएँ। यस्तै ठाउँमा आइपुग्ने मान्छेले गरेको होला— स्वर्गको कल्पना। तपाईंहरू जो यहाँ नजिकैको गाउँमा बस्नु हुन्छ; कत्ति भाग्यमानी!’
गाउँलेहरूले परस्परमा मुखामुख गरे।
‘हामी धेरै टाढाबाट आएका पर्यटक। बल्ल बल्ल आयौं। तपाईंहरू त नजिक बस्नु हुन्छ, सधैं यहाँ आएर आनन्दित हुनुहुन्छ होला।’
गाउँलेहरूले फेरि एकअर्काको मुख हेरे।
पर्यटकले स्थानीय एक व्यक्तिलाई औंल्याएर सोध्यो- ‘लौ भन्नोस् त, तपाई दिनमा कति पटक आउनु हुन्छ यहाँ?’
जवाफ आयो- ‘यो पाखामा पहिले गिठ्ठाभ्याकुर खुबै पाइन्थ्यो। हाम्रा जहान कोदालो बोकेर सधैंजसो आउँथे। अचेल पाइँदैन। अचेल तपाईं जस्तै कोही उकालो लागेको देखियो भने हाम्रा नानीहरू काफल बेच्न आउँछन्।’
सौन्दर्यको व्याकरण बुझ्न नसकेर पर्यटक अलमल्ल पर्यो।
No ads found for this position


Facebook Comment