ट्रम्पको करले इलेक्ट्रोनिक समानहरू अमेरिकामा महंगो, एसियामा सस्तो हुने

डिसी नेपाल
२८ चैत २०८१ १६:३६
2.8k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सारका कारण अमेरिका-चीन व्यापार युद्ध बढ्दै गएको छ । तर, यसले एसियाली उपभोक्ताका लागि विद्युतीय सामानहरू अझै सस्तो बनाउन सक्नेछ ।

अमेरिकाले भारी भन्सार लगाएपछि धेरै चिनियाँ इलेक्ट्रोनिक कम्पोनेन्ट निर्माताहरूले भारतीय कम्पनीहरूलाई ५ प्रतिशत सम्मको छुट दिइरहेका छन्। यस्तो अवस्थामा भारतीय इलेक्ट्रोनिक्स उत्पादकहरूले माग बढाउन यो छुटको केही भाग उपभोक्ताहरूलाई उपलब्ध गराउन सक्छन्।

यो कदमले भारतमा टिभी, रेफ्रिजरेटर, स्मार्टफोन जस्ता धेरै इलेक्ट्रोनिक वस्तुहरू सस्तो बनाउन सक्छ। नेपालमा आउने धेरैजसो इलेक्ट्रोनिक सामानहरू भारतबाटै आउँछन् यस्तोमा भारतमा सस्तो हुनु भनेको नेपालमा पनि सस्तो हुनु हो । भारतले नेपाल मात्र नभइ दक्षिण एसियाको ठुलो क्षेत्रमा आपूर्ति गर्छ ।

इकोनोमिक टाइम्सले यस सम्बन्धमा एक रिपोर्ट प्रकाशित गरेको छ। रिपोर्टका अनुसार व्यापार युद्धले चीनबाट अमेरिका जाने सामानहरू महँगो बनाउनेछ, जसले गर्दा अमेरिकी बजारमा ती सामानको माग घट्न भन्ने विज्ञहरू विश्वास गर्छन् । मागको कमीको चिन्ताले चिनियाँ कम्पोनेन्ट निर्माताहरूमाथि दबाब बढाइरहेको छ। यस्तो अवस्थामा माग बढाउन यी उत्पादकहरूले भारतीय कम्पनीहरूलाई छुट दिइरहेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि १२५ प्रतिशत कर लगाएका छन् । यसको अर्थ चीनमा बनेको १०० डलरको उत्पादन अब अमेरिका पुग्दा २२५ डलर पर्नेछ। अमेरिकामा चिनियाँ सामान महँगो हुँदै जाँदा तिनीहरूको माग घट्नेछ र बिक्री पनि घट्नेछ। चिनियाँ उत्पादकहरूले अमेरिकाको विकल्पको रूपमा भारतलाई हेरेका छन् । विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हुनाले भारत जुनसुकै व्यापारीको लागि सबैभन्दा आकर्षक बजार हो ।

चीनमाथि कर लगाइएपछि वाशिंगटनमा एक पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनिन् ‘जब तपाईं अमेरिकालाई प्रहार गर्नुहुन्छ, राष्ट्रपति ट्रम्पले तपाईंलाई अझ कडा प्रहार गर्नेछन्।’ यसको अर्थ चीनले प्रतिशोधात्मक कर लगाएपछि ट्रम्प चीनमाथि अझै कडा रूपमा प्रस्तुत हुने मुडमा छन् । यसो भएका चिनियाँ सामानको लागि अमेरिकी बजान झन महंगो हुनेछ ।

अमेरिका र चीन वार्ताको टेबलमा यो व्यापार युद्ध अन्त्य गर्ने बाटो खोज्न चाहन्छन्। यद्यपि, एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी उपाध्यक्ष तथा पूर्व अमेरिकी व्यापार अधिकारी वेन्डी कटलरले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा गतिरोधका कारण यो सजिलो बाटो नहुने बताइन्। उनका अनुसार चीनले बार्गेनिङमा रुचि देखाएको छैन।

यद्यपि, अप्रिल ९ मा डोनाल्ड ट्रम्पले चीन बाहेक सबै देशहरूमा पारस्परिक करहरू ९० दिनको लागि स्थगित गरेका छन् । ट्रम्पले भने- ‘चीनले विश्वव्यापी बजारप्रति सम्मान देखाएको छैन। त्यसैले म त्यो शुल्क १२५% मा बढाउँदै छु। आशा छ चीनले चाँडै नै बुझ्नेछ कि अमेरिका र अन्य देशहरूलाई लुट्ने दिन सकिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *