लघुकथा

फिंगर प्रिन्ट

डिसी नेपाल
३० चैत २०८१ ७:१०
28
Shares

साउनको सोमवार । जताततै हराम्मे महिलाहरूको ताँती थियो। बाटाघाटा, चोक, चौतारी, बस ट्याम्पो सबै खचाखच थिए। हरिया पहेँला देखिन्थे।

बबर महलबाट पन्द्र बिस जनाजति भद्र महिलाहरू भक्तपुर जाने सार्वजनिक बसमा हतारिएको मनस्थितिमा ठुलो हल्लाखल्लाका साथ पदार्पण गरे। ती सबै सरकारी अफिसका कर्मचारी थिए भनी बुझ्न उनीहरूले लगाएको पहिरन र वार्तालाप पर्याप्त थियो । बसमा सवार सबै यात्रीहरूको ध्यान त्यतैतिर तानिनु स्वाभाविक थियो।

वार्तालाप यस्तो थियो :

सज्जन महिला क. ‘यो देशका नेताहरू सबै चोर भए, न राम्रो संविधान दिन्छन् न यति जाबो नगर बसको नै व्यवस्था गर्न सक्छन्, कस्तो असुविधा, सबका सब भ्रष्टाचारी।’

सज्जन महिला ख. ‘हो त नि, भुइँचालो आएको त सत्र पल्ट्यो यी नेताहरूलाई, राहत कुम्ल्याइ हाले, आफूलाई भने कहिल्यै राहत शाखामा काम गर्न दिएनन्।’

सज्जन महिला ग. ‘नेता र ठूला कर्मचारी सरकारी गाडीमै सरर कुदी हाल्छन् कामचोर, हामीलाई भने सधैँ सास्ती।’

बस आफ्नै सुस्त तालमा हिँड्दै-रोकिँदै थियो । बेलाबेलामा खलासी भाइको आदेश आइरहन्थ्यो :
‘खुट्टा भित्र हाल्नुस्, ए दिदी अलि पर सर्नुस्, भनेको सुन्नुहुन्न ?’
बस कोटेश्वरमा धुवाँको मुस्लो निकाल्दै रोकियो र लामो सास फेर्‍यो। भद्र महिलाहरूको लगातारको बार्तालापको विषय फेरियो।

सज्जन महिला क. ‘यो बस पनि कत्ति रोकिएको, आफूलाई कति हतार छ ।’

सज्जन महिला ख. ‘हो त नि, हाम्रो त हाकिम पनि निकै छुच्चो छ, यसो कतै गयो कडा गर्न खोज्छ, उसलाई व्यावहारिकताको कुनै ख्यालै छैन, असती छ असती ।’

सज्जन महिला ग. ‘हो भन्या, बसले पनि कति ढिलो गर्‍यो, दस बजे अफिसमा फिंगर प्रिन्ट लगाएर हिँडेको, बेलुका चार बजे फेरि फिंगर प्रिन्ट लगाउन पुग्नु नै पर्छ, कति बेला डोलेश्वर पुग्नु, लाम पनि लामै होला।’

बसभरिका यात्रुहरू एकअर्कालाई टोलाएर हेरिरहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *