लघुकथा : उमेरसँग ठट्टा
झनकलाल बसमा चढ्यो र सधैं झै ‘जेष्ठ नागरिक’ लेखिएको सिट नजिकै गएर उभियो। सिटमा पढालेखा दुई युवती बसेका थिए।
एउटीले अर्कीलाई कोट्याएर खुसुक्क भनी- ‘सिट छाड्नु पर्ला जस्तो छ।’
अर्कीले पुलुक्क झनकलालको अनुहारतिर हेरी र उसैगरी खुसुक्क भनी- ‘पचपन्नको जस्तो छ।’
झनकलालले यो सम्बाद नसुनेको थिएन।
ऊ मनमनै हाँस्यो।
हिजोअस्ति यस्तो हुँदैनथ्यो। झनकलाल जेष्ठ नागरिकको सिटनेर उभिएपछि, केही बोल्नै पर्दैनथ्यो, सिटमा बसेको मान्छे आफै उठ्थ्यो। तर आज पचपन्नको अनुमान गर्ने युवतीहरूका सामु उसले आफू ‘जेष्ठ नागरिक हुँ’ भन्ने दाबी प्रस्तुत गर्न उचित ठानेन।
उसलाई आज सार्वजनिक बसमा उभिएरै यात्रा गर्न रमाइलो लाग्यो।
त्यस दिन उसले डायरीमा लेख्यो- ‘कपालमा कालो लगाउनु भनेको उमेरसंग ठट्टा गर्नु रहेछ। ठट्टा जहिल्यै मादक हुने रहेछ।’
No ads found for this position


Facebook Comment