पोर्चुगलमा नेपालीको रेष्टुरेन्टलाई उत्कृष्ट अवार्ड

भरत प्रधान
३१ जेठ २०८२ १९:३९

लिस्बन। इटालियन खानाका लागि युरोपमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्टले उत्कृष्ट अवार्ड प्राप्त गर्न सफल भएको छ।

युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुरेन्ट अन्तर्गत सेफ सापकोटाले राजधानी लिस्बनमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ युरोपकै शिर्ष १० मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको हो।

रेष्टुरेन्ट शिर्ष १० को अवार्डसँगै “परफर्मेन्स अफ द इयर २०२५-रोबो अवार्ड” गरि एकसाथ दुई अवार्डबाट पुरस्कृत भएको हो । ‘फिफ्टी टप पिज्जा युरोप’ ले स्पेनको राजधानी म्याड्रिडमा आयोजना गरेको कार्यक्रममा सापकोटालाई उक्त अवार्डबाट सम्मान गरिएको हो।

प्रत्येक वर्ष प्रदान गरिने अवार्ड अन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १०औँ पिज्जेरिया’ र ‘परफर्मेन्स अफ द इयर २०२५-रोबो अवार्ड’ प्राप्त गरेको रेष्टुरेन्टका सञ्चालक सापकोटाले जानकारी दिए। ‘र्फोनो दी ओरो’ युरोपको उत्कृष्ट १०औँ र पोर्चुगलको सर्वोत्कृष्ट रेष्टुरेन्ट बन्नसमेत सफल भएको उनले बताए।

“एउटा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्ट युरोपकै उत्कृष्ट १० भित्र पर्न सफल हुनु नेपाल र नेपालीका लागि गौरवको विषय हो”, खुसी व्यक्त गर्दै सापकोटाले भने, “उत्कृष्ट १० को अवार्ड पाउने पोर्चुगलकै पहिलो रेष्टुरेन्ट बन्नु आफ्नो व्यावसायिक जीवन र इतिहासकै ठूलो उपलब्धि हो।”

‘फिफ्टी टप पिज्जा युरोप’ एक अन्तरराष्ट्रिय गाइड हो, जसले हरेक वर्ष उत्कृष्ट पिज्जा रेष्टुरेन्टहरूको मूल्यांकन गर्दै शीर्ष ५० सूची सार्वजनिक गर्दछ। स्वाद, गुणस्तर, सेवा, वातावरण, परम्परागत पिज्जा निर्माणको शैली तथा ग्राहक सन्तुष्टिलगायतका मापदण्डहरूका आधारमा उत्कृष्ट रेष्टुरेन्टको मूल्यांकन तथा वर्गीकरण गर्ने गर्दछ।

करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका बागलुङ, दमेकका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुरेन्ट सञ्चालनमा छन्। पाककलामा उत्कृष्ट कला कौशल प्रदर्शन गरेकै कारण उनले दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।

केही महिनाअघि मात्रै इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटेर सापकोटाले निर्माण गरेका इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ सार्वजनिक गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *