विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुपर्छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भए यसको प्रभावकारिता झन् बढ्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्राधिकरणलाई प्रधानमन्त्री कार्यालय अन्तरगत राखेर आवश्यक ऐन र नियमावलीको व्यवस्था गर्ने हो भने यसले प्रभावकारी बढ्ने बताए।
उनले भने, ‘राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भयो र यसमा कमी रहेको ऐन र नियमावलीको व्यवस्था भयो भने मात्र यसले प्रभावकारी काम गर्न सक्छ भन्ने जुन सुझाव आएको छ त्यो सही हो। मेरो आफ्नै अनुभवले पनि त्यो सही हो भन्ने लागेको छ। यस विषयको संवेदनशिलता र प्राप्त सुझावका आधारमा सरकारको ध्यानाकर्षण पनि गराउने छु र यसले केही न केही प्रत्यक्ष असर गर्ने नै छ।’
यस्तै, उनले मनसुनको ठूलो खतरा आउने अनुमान भएको हुनाले यसको तयारीलाई तिव्रता दिनको लागि सबै सरकारी, गैर सरकारी, राजनीतिक दल, भातृ संगठन, संघ संस्थाहरु क्रियाशील हुनुपर्ने आवश्यकता रहेको पनि बताए।
Facebook Comment