ग्वार्को ओभरपास उद्घाटन गर्दै प्रधानमन्त्रीले भने: अब विकासले फड्को मार्यो

डिसी नेपाल
६ असार २०८२ १७:३२

ललितपुुर। प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को ओभरपास निर्माण नेपालको पहिलो भएको भन्दै मुलुक विकासको बाटो अघि बढिसकेको बताएका छन्। ओभरपास निर्माणले अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको उनले बताए।

शुक्रबार ग्वार्को ओभरपास उद्घाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ। हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीनवटा कुवामध्ये एउटा कुवाबाट ग्यास पैदा भएको छ। त्यसको उत्खनन् सुरुवात पनि मैले नै गरेको थिएँ। धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ। यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठूलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ। अरु खनिजको उत्खनन् गर्नेछौँ। कृषिको आधुनिकीकरण गर्नेछौँ। नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ। कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन। आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ।’

सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले गति लिन चाहेको अवस्थाका रुपमा अगाडि बताए। यस्तै, मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने पनि उनको भनाई छ।

इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो।कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ। ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *