लघुकथा : आभासी हतकडी

योगी नारायण नाथ
२७ असार २०८३ ७:२३

बिहानको कलिलो घाम काठमाडौंको व्यस्त सडकमा चर्किँदै थियो। अफिस समयको हतारोमा दौडिरहेका कर्मचारी राजेशलाई अचानक पेटमा कडा दबाब महसुस भयो।

वरपर सार्वजनिक शौचालय कतै थिएन। लाचार भई उनी मानिसहरूको नजरबाट बच्न ओझेल पर्ने ठाउँ खोज्दै एउटा साँघुरो गल्लीको कुनामा पुगे र आफ्नो प्राकृतिक आवश्यकता पूरा गर्न लागे।

संयोगवश, त्यही बाटो हिँडिरहेकी युवती सरिताले उनलाई देखिन्। परिस्थितिको गहिराइ र मानवीय लाचारीलाई बुझ्दै नबुझी, उनले रिसको झोंकमा आफ्नो मोबाइल निकालिन् र चिच्याउन थालिन्, “यो सडकछापले मलाई आफ्नो अंग देखायो!”

“मैले त केवल…” राजेश अक्कनबक्क हुँदै केही भन्न खोज्दै थिए, तर सरिताले भिडियो खिच्न बन्द गरिनन्। ‘यौन दुर्व्यवहार’ को एउटा भावुक र सनसनीपूर्ण कथा बुनेर उनले त्यो भिडियो टिकटकमा पोस्ट गरिदिइन्। ‘लाइक र भ्युज’ को भोको भर्चुअल भीडले सत्यको अनुसन्धान नै नगरी क्षणभरमै त्यसलाई भाइरल बनाइदियो।

त्यसपछि सुरु भयो सामाजिक सञ्जालको विवेकहीन अदालत। भीडले बाटोमै राजेशमाथि हातपात गर्‍यो। भोलिपल्टै अफिसले उनलाई जागिरबाट निकाल्यो। उनकी निर्दोष छोरीले स्कुलमा “बलात्कारीकी छोरी” भन्दै मानसिक यातना सहनुपर्‍यो। वर्षौंदेखि कमाएको इज्जत र प्रतिष्ठा मिनेटमै धूलोमा मिल्यो। उनको सिङ्गो परिवार अपमानको भेलमा डुब्यो।

केही दिनपछि प्रहरीको सूक्ष्म अनुसन्धान, सीसीटीभी फुटेज र संकलित प्रमाणहरूले सत्य उघार्‍याे। त्यो कुनै योजनाबद्ध दुर्व्यवहार नभई एउटा दुर्भाग्यपूर्ण मानवीय लाचारी मात्र थियो। राजेश कानुनी रूपमा पूर्ण रूपले निर्दोष ठहरिए।

प्रहरीले राजेशको हातको फलामे हतकडी त खोलिदियो, तर समाज र प्रविधिले लगाइदिएको त्यो अदृश्य आभासी हतकडी कसले खोल्ने? अदालतले त उनलाई न्याय दियो, तर भिडको डिजिटल उन्मादले उनको सामाजिक जीवनलाई जिउँदै मारिसकेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *