लघु कथा: पुनर्जीवन
‘डाक्टर नेपोलियन, मलाई ‘डेथ इन्जेक्सन’ दिनुहोस्। म असह्य पीडाले छटपटाइरहेको छु। म यो जीवनलाई कसरी अगाडि डोर्याऊँ?’ मैले हतारिँदै आफ्नो मनसाय डाक्टरसामु व्यक्त गरेँ।
‘प्रकाशजी, तपाईं मेरो बिरामी (प्यासेन्ट) हो। डाक्टरले कहिल्यै ‘डेथ इन्जेक्सन’ दिन सक्दैन। एक हप्तामै चमत्कार हुन सक्दैन। तपाईंको समस्या निको हुन महिनौं लाग्न सक्छ। औषधिले बिस्तारै काम गर्नुपर्छ। मानसिक उपचार (मेन्टल ट्रिटमेन्ट) मा धैर्यता सबैभन्दा आवश्यक हुन्छ। जीवनबाट भागेर मुक्ति प्राप्त हुँदैन। तपाईं त प्रगतिशील मान्छे, किन यसरी हिम्मत हार्नुहुन्छ? तपाईंले संसार परिवर्तन गर्नु पर्दैन र? तपाईं अवश्य निको हुनुहुनेछ,” डाक्टर नेपोलियनले मलाई आश्वस्त पार्दै भने।
म नोबेल अस्पताल विराटनगरको मानसिक विभागको बेड नं. १५ मा विक्षिप्त अवस्थामा लडिरहेको छु। डाक्टर पृथ्वी, डाक्टर विश्वबन्धु र डाक्टर मुक्तिले मलाई निको हुने कुरा गरे तापनि म सकारात्मक बन्न सकिरहेको थिइनँ। मलाई हीनताबोधले लगातार लखेटिरहेकै थियो।
म विगत एक महिनादेखि उपचारको क्रममा छु। डाक्टर विश्वबन्धुको औषधिले छ महिना निको भए पनि मेरो मानसिक समस्या पुनः दोहोरिएको (पुनरावृत्ति भएको) थियो। डाक्टर मुक्तिले एक महिनामा निको पार्छु भन्ने आश्वासन दिए पनि सुधारका लक्षणहरू देखा परिरहेका थिएनन्।
बेचैनीले लखेटेपछि मान्छेले मृत्यु खोज्दो रहेछ। म मृत्युसँग लड्ने मान्छे। मुक्ति युद्धका पाठ पढाउने मान्छे। म कसरी यसरी विचलित भएँ? मैले जीवनबाट किन हार खाएँ? यी प्रश्नहरू अझै अनुत्तरित नै छन्।
लाग्छ, मेरो जीवन यात्रा सहज छैन। म काँडामा टेकिएर उभिएको छु। काँडा र फूलको बीचबाटै मैले जीवनलाई अगाडि बढाउन सक्नुपर्छ।
सायद, मेरो जिजीविषा फूल जस्तै फक्रन सक्छ। म उज्यालोको खोजीमा अँध्यारोसँग लडिरहेको छु। म आशाको झिनो त्यान्द्रो समातेरै भए पनि बाँच्ने कोसिस गरिरहेको छु।
के मैले साँच्चै पुनर्जीवन पाउँला त?
सुन्दरहरैँचा-६, दुलारी, मोरङ
No ads found for this position


Facebook Comment