प्रधानमन्त्री बालेन शाहको नेतृत्व र देश रूपान्तरणको कार्यदिशा

शंकरप्रसाद रिजाल
३२ असार २०८३ १०:५०

मुलुकमा बालेन शाह नेतृत्वको सरकारको कामको तीव्रता निक्कै बढेको छ। थोरै समयमै पेसा र शिक्षाका हिसाबले इन्जिनियर रही र्‍यापर गायनको क्षेत्रबाट सारा नेपाली युवा समुदायमा वाहवाही कमाएका बालेन शाहले सुरुमै नेपालका नाम चलेका कांग्रेस र एमालेजस्ता दलका चर्चित नेताहरूलाई स्थानीय तहको निर्वाचनमा पराजित गरिदिए।

एकैचोटि काठमाडौँ महानगरपालिकाको मेयर पदमा निर्वाचित भएर आएको भोलिपल्टैदेखि उनले वर्षौँदेखि दुर्गन्धित सहरलाई आफ्नो कार्यकुशलता र लगनशीलताका कारण दुई महिनाभित्रै सफा र स्वच्छ बनाइदिए।

काठमाडौँलाई अझ सुव्यवस्थित गर्न उनले सहरका ९० प्रतिशतभन्दा बढी सडकपेटीमा रङ्गीन ब्लक छापी रमणीय बनाए। ठाउँ–ठाउँमा र खोला किनारमा युवायुवतीहरूका लागि व्यायाम सामग्री जडान गरी जनतालाई लोभलाग्दो काम गरे।

साथै, बिग्रे-भत्केका सडकहरूमा गुणस्तरीय पिच गरी पुनर्निर्माणमार्फत सडक सफा बनाए। डिजिटल ट्राफिक बत्तीको निर्माण गरी ट्राफिक व्यवस्थापनलाई धेरै मात्रामा सहज बनाए।

सडकका विभिन्न ठाउँमा बस कुर्नका लागि नेवारी संस्कृति झल्किने फाल्चाहरू बनाए र सांस्कृतिक सम्पदाहरूको विशेष जगेर्ना गरे। सुकेका ढुङ्गेधारा ब्युँताए भने विगतका सरकारहरूको लापरबाहीका कारण खोला मिचेर वा छोपेर त्यसमाथि ठडिएका ठूला-ठूला महलहरू भत्काए र खोलाहरूलाई आफ्नै स्वच्छन्द तरिकाले बग्न दिए।

आफू पूर्ण रूपमा इमानदार भएकाले उनले प्रशासनिक क्षेत्रमा हुने भ्रष्टाचार र घुसखोरीलाई केही हदसम्म काबुमा राख्ने काम गरे। काठमाडौँ सहर बाहेक अन्य सहरका मेयरहरूले पनि उनको कामको निक्कै प्रशंसा गरे र उनकै सिको गर्दै आ-आफ्नो क्षेत्रमा काम गर्न थाले।

यसरी उनको कामको प्रशंसा देश–विदेशमा फैलिँदै गयो र विश्वका १०० चर्चित नेताहरूको सूचीमध्ये एकमा उनको नाम दर्ता हुन पुग्यो, जुन नेपाल र नेपालीका लागि एक गौरवको कुरा हो।

मेयर हुँदा उनलाई ओली र देउवाको तत्कालीन सरकारले विकासको काममा निक्कै सताएको र अनेकौँ अवरोध खडा गरेको थियो। तर उनी आफ्नो कामबाट कहिल्यै पनि पछि हटेनन्।

थापाथलीको सुकुम्बासी बस्ती हटाई सुकुम्बासीलाई व्यवस्थित गर्न खोज्दा तत्कालीन सरकारले पटक्कै सहयोग गरेन। उल्टै महानगरको कदमविरुद्ध प्रतिकार गर्नका लागि सुकुम्बासीका नाममा रहेका कार्यकर्ताहरूलाई उक्साउने काम ओलीबाट भयो।

यही राजनीतिक आजितपना र राजनीतिक अवरोधका कारण बालेनलाई नेपालको एकचोटि प्रधानमन्त्री बनेर देशको चौतर्फी मुहार फेर्ने साह्रै नै इच्छा जागृत भएको थियो।

ओली सरकारको बढ्दै गइरहेको निरङ्कुशता, भ्रष्टाचार र अकस्मात उनले सामाजिक सञ्जालमा एक्कासि लगाएको रोकका कारण जनतामा आक्रोश बढिरहेको थियो। यसै सहन नसकी एक्कासि २०८२ साल भदौ २३ गते देशका जेन्जी युवा समूह यसको प्रतिकार गर्न सडकमा उत्रिए।

आन्दोलनकारीले राखेको माग त्यति ठूलो थिएन, तर त्यसको पर्वाह नगरी निरङ्कुश सरकारले नेपालको भविष्यको सपना बोकेका भर्खरका युवाहरूलाई एक-एक गरी गोली हानिदियो।

सरकारले क्षणभरमै आन्दोलन साम्य गराउने बहानामा २० जना अबोध युवाहरूको जघन्य हत्या गरिदियो। सरकारको यो क्रूरता देखेर त्यसको प्रतिकार गर्न लगत्तै भदौ २४ गते पुनः अर्को भयानक आन्दोलनको आँधीबेहरी सिर्जना भयो।

त्यो दिन आक्रोशित जनताद्वारा देशका भ्रष्ट नेताहरूको घर जलाइयो, अरबौँ लुकाइएको कालो सम्पत्तिलाई जलाएर खरानी बनाइयो, देशका तमाम सरकारी भवनहरू जलाइयो र एक किसिमले देश पूर्ण रूपमा राज्यविहीन जस्तै बन्न पुग्यो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवालाई आफ्नै घरभित्र कुटपिट गरी रगताम्मे बनाइयो भने अरू भ्रष्ट नेताहरू ज्यानको सुरक्षाका लागि सेनाको निगरानीमा लुक्न बाध्य बने। प्रधानमन्त्री आफैँ पनि हेलिकप्टरबाट भागेर ज्यान जोगाउन सफल भए।

यसरी सरकार पूर्ण रूपमा सेनाको कब्जामा परेपछि तुरुन्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भयो। उनले तुरुन्तै राष्ट्रलाई राजनीतिक निकास प्रदान गर्न तल्लो सदन अर्थात् प्रतिनिधिसभा विघटन गरी २०८२ साल फागुन २१ गतेका लागि अर्को आम निर्वाचनको घोषणा गरिन्।

निर्वाचन घोषणा भएलगत्तै देशमा भएका सबै राजनीतिक पार्टीहरू चुनावमा होमिने तयारीका साथ जुर्मुरामए। बस, यही उपयुक्त मौका पारेर काठमाडौँका मेयर बालेन शाह आफू रवि लामिछानेले स्थापना गरेको भर्खरैको नयाँ पार्टीमा आबद्ध भए।

रविजीसँग हातेमालो र राजनीतिक सम्झौता गरी प्रधानमन्त्री बन्नका लागि उनको पार्टीको चुनाव चिह्न ‘घन्टी’ लिएर उनी चुनावमा होमिए। चुनावमा भारी मतले विजयी हुन र वर्षौँदेखिका पुराना भ्रष्ट नेताहरूलाई चुनावमा धुलो चटाउन उनी सिधै केपी ओलीको बलियो किल्ला मानिएको झापामा नै गएर ओलीकै प्रतिद्वन्द्वी बनेर उम्मेदवारी दिए।

आफ्नो पार्टीलाई जिताउन उनले नेपालका ७६ वटा जिल्लामा नै पुगेर चुनावी प्रचारप्रसार गरी जनताको मत माग्ने काम बडो जोडदार रूपमा गरे। उनी धेरै बोलेनन्, सिङ्गो चुनावी अभियानका दौरानमा केवल २७ मिनेट मात्र भाषण गरेर सारा नेपाली जनताको मन जित्न सफल भए।

नभन्दै उनले निर्वाचनमा ओलीलाई ५० औँ हजार मतको ठूलो अन्तरले पराजित गरिदिए। उनको लोकप्रियताका कारण घन्टी चिह्नले संसद्मा झन्डै दुई–तिहाइ बहुमतका साथ ऐतिहासिक जित हासिल गर्‍यो।

इतिहासमै ठूलो रेकर्ड राख्दै चुनाव जितेर नभन्दै उनी देशको प्रधानमन्त्री बन्न समेत सफल भए। यो उनको जीवनको सबैभन्दा ठूलो सफलता र देश सेवा गर्ने आफ्नो प्रमुख धोको पूरा भएको मान्न सकिन्छ।

उनी आम जनतामाझ यति धेरै जनप्रिय भए कि, जति २०१५ सालको पहिलो आम निर्वाचनका बेला एकताका जननायक बिपी कोइराला जनप्रिय बनेर चुनावी विजय हासिल गरेका थिए।

प्रधानमन्त्री नियुक्त भएलगत्तै उनले जसरी आफू काठमाडौँको मेयर हुँदा कामको थालनी गरेका थिए, त्यसै गरी कुनै भाषणबाजी र विजयी जुलुस ननिकाली, यसलाई सम्पूर्ण नेपालीको विजय भएको ठानी भोलिपल्टैदेखि राष्ट्रको हितका कामहरूको खाका तयार पारे।

उनले देशव्यापी रूपमा आफ्नो १०० बुँदे बाचापत्र प्रकाशन गरी आम जनतालाई अचम्मित बनाए। उनले एकैचोटि १५–१६ जनाको ज्यादै स्फूर्त, योग्य र स्मार्ट मन्त्रिपरिषद् गठन गरेर आफ्ना बाचाहरू भटाभट पूरा गर्न थाले।

सरकारले गरेका कामहरूको सङ्ख्या यहाँ विस्तृत रूपमा उल्लेख गर्दा लेख धेरै लामो हुने भएकाले छोटकरीमा भन्नुपर्दा, उनले फेरि खोला किनार मिचेर, सरकारी जग्गामा अनियन्त्रित, अव्यवस्थित र अत्यन्त जोखिमयुक्त तरिकाले विगत ३० औँ वर्षदेखि राजनीतिक दलहरूको संरक्षणमा बस्दै आएका बस्तीहरूमा कदम चाले।

तमाम सुकुम्बासीका नाममा रहेका हुकुमबासीहरू, जसले वर्षौँदेखि गरिब तथा सच्चा सुकुम्बासीहरूलाई त्यहाँ भाडामा राखी बहाल हसुरिरहेका थिए, तिनीहरूलाई हटाउने काम गरे।

उनीहरूलाई हटाई सच्चा सुकुम्बासीहरूको उचित व्यवस्थापन गरिदिए भने भूमि नभएकाहरूलाई भूमि प्रदान गरी भूमिपति बनाउने काम गरे। उनी अहिले पनि सम्पूर्ण अतिक्रमित खोला किनारका नाजायज बस्तीहरूमा अर्को भयानक डोजर सञ्चालन गरी सबै अतिक्रमित सरकारी जग्गा सरकारकै नाममा फर्काउने भीमकाय कार्यमा निरन्तर लागिरहेका छन्।

दोस्रो महत्त्वपूर्ण काम, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको राजनीतिक आडमा हजारौँ रोपनी जग्गा अतिक्रमण गरी बसेका ल्याबोरेटरी स्कुल, खानेपानी अफिस, राधास्वामी मन्दिर तथा विभिन्न प्राध्यापक र त्रिविका कर्मचारीहरू जसले राजनीतिक शक्तिको भरमा विभिन्न उपकुलपतिहरूको कार्यकालमा त्रिविको भूमि अतिक्रमण गरेका थिए, त्यसलाई नापनक्साअनुसार पुनः विश्वविद्यालयकै अधीनमा रहने गरी कायम गर्न लागेका छन्।

शैक्षिक संस्थाहरूमा भएको विभिन्न आर्थिक अपचलनलाई व्यवस्थित गर्न भर्ना शुल्क र नियमित शुल्कमा व्यापक सुधार गरे। विद्यार्थीहरूलाई हप्ताको एक दिन “बुक फ्री डे” (किताबबिहीन दिन) बनाए भने कक्षा पाँचसम्म कुनै औपचारिक परीक्षा दिनु नपर्ने व्यवस्था लागू गरे।

विद्यार्थीहरूको जेहेन्दारिता र मनोविज्ञानको आधारमा वैज्ञानिक तवरले कक्षा चढाउँदै जाने शिक्षा नीति तय गरे। यस्तै, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई हप्ताको एक दिनको सट्टा शनिबार र आइतबार दुई दिन बिदा दिई अरू दिन बिहान १० बजेको सट्टा ९ बजेदेखि नै कार्यालयमा अनिवार्य उपस्थित भई काम गर्नुपर्ने नियमलाई फेरि ब्युँताएका छन्।

यसका साथै देशका विभिन्न गुण्डाहरू, भ्रष्टाचारी नेताहरू तथा कर छली गर्ने ठूला व्यापारीहरूलाई समातेर नियमानुसार कानुनी कारबाहीको दायरामा ल्याइरहेका छन्।

उनले आफ्नो मन्त्रिमण्डलका मन्त्रीहरूमध्ये कसैले बदनियतपूर्वक काम गरेको खण्डमा वा कुनै पनि दाग लागेका मन्त्रीहरूलाई पनि नछाडी “राइट टु रिजेक्ट” (अस्वीकार गर्ने अधिकार) र “राइट टु कल ब्याक” (फिर्ता बोलाउने अधिकार) को नियम कडाइका साथ पालना गरी देशमा सुशासनको नयाँ अध्याय सुरु गरेका छन्।

प्रधानमन्त्री भएपछि उनले र उनका मन्त्रीहरूले गरेका हरेक दिनको काम र राष्ट्रव्यापी सुधारका कार्यहरूले गर्दा एकतिर अरू पुराना पार्टीका नेताहरू रिस र डाहले चुर भएका छन्।

देशको प्रगति होला कि भनी औँलो ठड्याएर विरोधका लागि बसिरहेका छन् भने बालेन सरकारले लिएका हरेक निर्णयहरूमाथि विपक्षीहरूद्वारा विरोध र टीकाटिप्पणी गर्ने तीव्रता पनि निक्कै बढिरहेको छ।

अर्कोतर्फ, प्रधानमन्त्री बालेनले पनि पुराना पार्टीका नेताहरू तथा तिनका कार्यकर्ताहरूको सेखी झार्न धमाधम नयाँ-नयाँ जनपक्षीय निर्णयहरू गर्दै आफ्नो कामलाई तीव्रताका साथ अगाडि बढाइरहेका छन्।

बालेन सरकारको यो नयाँ र साहसिक निर्णयहरूले छिमेकी मुलुकहरू भारत, चीन र शक्तिराष्ट्र अमेरिकामा पनि निक्कै ठूलो प्रभाव पारेको बुझिन्छ। यसका साथै अन्य दक्षिण एसियाका मुलुकहरू पनि नेपालको यो अभूतपूर्व राजनीतिक परिवर्तन देखेर छक्क परेका देखिन्छन्।

उनको कामको तीव्र गति र निर्णय हुनासाथ तुरुन्त कार्यन्वयनमा उतार्ने कार्यशैलीगत प्रवृत्तिका कारण यो पाँच वर्षको कार्यकालभित्र देशले हरेक क्षेत्रमा दरो विकासको फड्को मार्ने निश्चित छ।

यसबाट सबै जनताहरूलाई धेरै मात्रामा सुख, शान्ति, सेवा र सुविधा मिली भविष्यमा देशले निक्कै ठूलो समृद्धिको मार्ग पक्रने कुरामा आज आम नागरिकहरू पूर्ण रूपमा आश्वस्त बनेका छन्।

यसै गरी बालेनको सरकारले यो पाँच वर्षपछि पनि यस्तै प्रचण्ड बहुमत ल्याएर अर्को चुनावमा पुनः विजयी भई थप पाँच वर्ष गरी जम्मा १० वर्ष उनको कुशल नेतृत्वमा सरकार सञ्चालन हुने हो भने देशले अवश्य पनि तीव्र विकासको गति लिनेछ।

देश एक दिन अवश्य पनि पूर्ण रूपमा समृद्धशाली बन्नेछ र आम नेपाली जनताले सुख पाउनेछन् भन्ने कुरामा आज देशका तमाम विकासप्रेमी जनताहरू ठूलो आशा र विश्वासको थैलो बोकेर ढुक्कका साथ हिँडेका र बसेका देखिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *