सिप्रिङ खोलामा भीषण बाढी: एक वृद्ध बेपत्ता, जलविद्युत् आयोजनाका चार कर्मचारी फसे
रामेछाप। अविरल वर्षाका कारण दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको भीषण बाढीले एक वृद्धलाई बगाएर बेपत्ता बनाएको छ भने एक जलविद्युत् आयोजनाका चार जना कर्मचारी दुई खोलाको बिचमा जोखिमपूर्ण अवस्थामा फसेका छन्।
गौरीशंकर गाउँपालिका-९ का करिब ७३ वर्षीय स्थानीय चसमान तामाङलाई मंगलबार राति ११ बजेतिर आएको बाढीले बगाएर बेपत्ता बनाएको हो।
वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीहरू सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ दुवैतर्फबाट खोलाले घेरेपछि बिच भागमा फसेका छन्।
उनीहरू आफैँ सुरक्षित स्थानमा जान सक्ने अवस्था नरहेकाले तत्काल हेलिकोप्टर वा अन्य विशेष माध्यमबाट उद्धार गर्नुपर्ने अवस्था छ।
बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा समेत ठुलो क्षति पुर्याएको छ। खोलाले दुवै किनारमा तीव्र जमिन कटान गरेपछि आयोजनास्थल थप जोखिममा परेको छ र त्यहाँ रहेका कर्मचारीहरू उद्धारको प्रतीक्षामा छन्।
वडा अध्यक्ष शेर्पाका अनुसार सिप्रिङ खोलामा अझै पनि बहाव नघटेकाले र लगातार वर्षा भइरहेकाले उद्धार कार्य सञ्चालन गर्न निकै कठिनाइ भइरहेको छ। मौसममा सुधार नआएसम्म उद्धार टोलीलाई पैदल मार्गबाट घटनास्थलसम्म पुग्न समेत ठुलो चुनौती छ।
यसैबिच, स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता वृद्धको खोजी तीव्र पार्नुका साथै जोखिममा परेका चार जना कर्मचारीको सुरक्षित उद्धारका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ।
निरन्तरको वर्षाका कारण दोलखाका अन्य नदी तथा खोलाहरूमा पनि जलस्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment