कैदीद्वारा डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर: ७ करोड ५० लाख डलर क्षतिपूर्ति र अमेरिकी नागरिकताको माग
काठमाडौं । अमेरिकाको जेलमा सजाय काटिरहेका २७ वर्षीय मेक्सिकन नागरिक ब्राण्डन ओर्टिज-वाइटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन्। उनले ट्रम्पसँग ७ करोड ५० लाख अमेरिकी डलर (करिब १० अर्ब नेपाली रुपियाँ) क्षतिपूर्ति, सार्वजनिक माफी र अमेरिकी नागरिकताको माग गरेका छन्।
ओर्टिज-वाइट सन् २०२४ मा मिशिगनकी एक महिला रुबी गार्सीयाको हत्या अभियोगमा दोषी ठहर भई हाल ३९ देखि १०२ वर्षसम्मको कैद सजाय काटिरहेका छन्। ट्रम्पले सन् २०२४ को राष्ट्रपति निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो मुद्दालाई राजनीतिक फाइदाका लागि प्रयोग गरेको आरोप उनले लगाएका छन्।
ओर्टिज-वाइटले अदालतमा पेस गरेको हस्तलिखित उजुरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसका सञ्चार निर्देशक स्टेभन चेउङलाई विपक्षी (प्रतिवादी) बनाएका छन्। ट्रम्पले चुनावी अभियानका क्रममा आफ्नो मुद्दालाई पटक-पटक उठाएर आफूलाई राष्ट्रिय स्तरमै एउटा नकारात्मक प्रतीकका रूपमा प्रस्तुत गरेको दाबी उनले गरेका छन्।
मिशिगनको ग्र्यान्ड र्यापिड्समा आयोजित एक चुनावी सभाका क्रममा ट्रम्पले ओर्टिज-वाइटलाई “अमेरिकाको मुख्य समस्या” भनेर टिप्पणी गरेका थिए। त्यसपछि ट्रम्पको चुनावी विज्ञापनहरूमा ओर्टिज-वाइटको प्रहरी तस्बिर प्रयोग गरिएको थियो। उक्त विज्ञापनहरूमा अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई “हत्यारा, बलात्कारी र लागूऔषध तस्कर” का रूपमा चित्रण गरिएको थियो।
ओर्टिज-वाइट यसअघि पनि अमेरिकाबाट देश निकाला भइसकेका व्यक्ति हुन्, तर पछि उनी पुनः गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए। राष्ट्रपति ट्रम्प र उनको कानुनी टोलीका तर्फबाट भने यस हस्तलिखित उजुरीबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।






डिसी नेपाल





Facebook Comment