फ्रान्समा भीषण गर्मीका कारण जुन महिनामा ५,७०० भन्दा बढी मानिसको थप मृत्यु: सार्वजनिक स्वास्थ्य एजेन्सीद्वारा तथ्याङ्क सार्वजनिक
काठमाडौं । फ्रान्समा गत जुन महिनामा परेको अत्यधिक र अभूतपूर्व गर्मी (हीटवेभ) का कारण सामान्य दिनहरूको तुलनामा कम्तीमा ५,७०० भन्दा बढी मानिसको ज्यान गएको छ। फ्रान्सको सार्वजनिक स्वास्थ्य एजेन्सी ‘पब्लिक हेल्थ फ्रान्स’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जुन महिनाको रेकर्डतोड तापक्रमका कारण पहिले अनुमान गरिएकोभन्दा धेरै गुणा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ।
एजेन्सीका अनुसार जुन १७ देखि जुलाई २ बीचको अवधिमा भीषण गर्मीबाट प्रभावित फ्रान्सका क्षेत्रहरूमा सबै कारणबाट गरी कुल २१,६७४ जनाको मृत्यु दर्ता भएको थियो। यद्यपि, अघिल्ला वर्षहरूका तथ्याङ्क र साङ्ख्यकीय मोडेलका आधारमा यदि सो अवधिमा हिटवेभ नआएको भए ती क्षेत्रहरूमा करिब १५,९१० जनाको मात्र मृत्यु हुने अनुमान गरिएको थियो।
वास्तविक रूपमा भएको मृत्यु र अनुमानित मृत्युबीच ५,७६४ को अन्तर देखिएको छ। स्वास्थ्य अधिकारीहरूले यसरी सामान्य अवस्थाभन्दा बढी भएका यी मृत्युहरूलाई गर्मीका कारण उत्पन्न थप मृत्युका रूपमा वर्गीकरण गरेका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार यो ५,७६४ को तथ्याङ्क केवल गर्मीका कारण सोझै (तातो हावा वा तातोले हानेर) भएको मृत्यु मात्र नभई सो अवधिमा सामान्यभन्दा बढी भएका कुल अतिरिक्त मृत्युहरूको सूचक हो। अत्यधिक गर्मीको सोझो र गम्भीर असर ज्येष्ठ नागरिकहरू, मुटु तथा फोक्सोका दीर्घरोगीहरू र शारीरिक रूपमा कमजोर मानिसहरूमा परेको छ।
अझ विस्तृत अनुसन्धानपछि गर्मीका कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भएको मृत्युको वास्तविक आँकडा आगामी दिनहरूमा थप स्पष्ट हुँदै जाने अधिकारीहरूले जनाएका छन्। यस वर्षको जुन महिनामा फ्रान्सका विभिन्न शहरहरूमा तापक्रमले विगतका धेरै रेकर्डहरू तोडेको थियो। विशेष गरी जुन २४ र २५ मा देशका कतिपय क्षेत्रहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो। लगातारको उच्च तापक्रमले फ्रान्सको स्वास्थ्य सेवा, अस्पतालहरू र स्थानीय प्रशासनसामु ठूलो चुनौती खडा गरिदिएको थियो।
यस विषम परिस्थितिलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालय र स्थानीय प्रशासनले सर्वसाधारणलाई:पर्याप्त मात्रामा पानी तथा झोल पदार्थ पिउन, दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, घरभित्रै चिसो वातावरणमा बस्न, रघरमा रहेका वृद्धवृद्धा तथा बिरामीहरूको विशेष हेरचाह र ख्याल राख्न पुनः अपिल गरेका छन्।
सन् २००३ को विनाशकारी हिटवेभ (जसमा करिब १५,००० मानिसको ज्यान गएको थियो) पछि फ्रान्समा जुन महिनामा देखिएको यो मृत्युदर अहिलेसम्मकै सबैभन्दा बढी र घातक मानिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment