एड्मिरल कूपरको ब्रिफिङ र अमेरिकी क्षेप्यास्त्र अभावका कारण इरानमाथिको १४औँ रातको आक्रमण स्थगित
काठमाडौं । जुलाई २३ इरानमाथि अमेरिकी सेनाले निरन्तर आक्रमण गरेको १३औँ रात थियो। उक्त आक्रमणको केही घण्टाअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै पत्रकारहरूसँग भनेका थिए- ‘इरानले अझै पर्याप्त पीडा महसुस गरेको छैन, म पहिलेभन्दा झनै ठूलो सैन्य हमला गर्ने निर्णयको नजिक पुगेको छु र हामी यसका लागि पूर्ण तयार छौँ।’
तर, ट्रम्पको उक्त कडा अभिव्यक्ति र पेन्टागनले १४औँ रातको हमलाको सम्पूर्ण तयारी पूरा गरिसकेको अवस्थाका बाबजुद २४ घण्टाभित्रै ट्रम्पले आफ्नो निर्णय पूर्ण रूपमा बदले। विशाल आक्रमणको सट्टा उनले इरानमाथिको हमला तत्काल रोक्न आदेश दिए। आखिर २४ घण्टाभित्र यस्तो के भयो, जसले ट्रम्पलाई आफ्नो निर्णय बदल्न बाध्य पार्यो ?
अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘एक्सियोस’ को नयाँ प्रतिवेदनले मध्यपूर्वमा अमेरिकी सेनाका शीर्ष कमाण्डर एड्मिरल ब्राड कूपर र ज्वाइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनको गोप्य ब्रिफिङले ट्रम्पको मन बदलेको खुलासा गरेको छ।
एक्सियोसको प्रतिवेदनका अनुसार अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का कमाण्डर एड्मिरल ब्राड कूपरले राष्ट्रपति ट्रम्प, पेन्टागन र ह्वाइट हाउसलाई दिएको ब्रिफिङमा होर्मुज जलडमरूमध्य नजिक भइरहेको बमबारी रोक्न सिफारिश गरेका थिए।
कूपरको विश्लेषण अनुसार विगत दुई साताको निरन्तर आक्रमणले इरानको व्यापारिक जहाजहरूमाथि प्रहार गर्ने क्षमतालाई निकै कमजोर बनाइसकेको थियो । हवाई हमलाका लागि तय गरिएका अधिकांश मुख्य सैन्य लक्ष्यहरू पहिले नै ध्वस्त भइसकेका थिए ।
अब सीमित रूपमा भइरहेका हवाई हमलाहरू जारी राख्नुको कुनै औचित्य र प्रभावकारिता थिएन। बाँकी रहेका २० प्रतिशत लक्ष्यहरूमा प्रहार गर्नका लागि सीमित हमला होइन, पुनः व्यापक ‘पूर्ण युद्ध’ कै स्तरमा जानुपर्ने हुन्थ्यो ।
कूपरको यो सिफारिस नै शुक्रबार ट्रम्पले इरानमाथिको आक्रमण रोक्ने निर्णय लिनुको सबैभन्दा मुख्य कारण बनेको थियो।
कूपरको सिफारिसका साथै ज्वाइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले रक्षामन्त्री पिट हेगसेथ र राष्ट्रपति ट्रम्पलाई निजी रूपमा गम्भीर चेतावनी दिएका थिए। उनले अमेरिकी वायु रक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर क्षेप्यास्त्र को भण्डार घट्दै गएकाले मध्यपूर्वमा रहेका अमेरिकी सेना र सहयोगी राष्ट्रहरूको सुरक्षा क्षमतामा जोखिम पर्न सक्ने औँल्याएका थिए।
यसैबीच, ओमानको मध्यस्थतामा इरानसँग होर्मुज जलडमरूमध्यलाई पुनः सुरक्षित रूपमा सञ्चालन गर्न नयाँ कूटनीतिक ढाँचामा वार्ता अघि बढेको छ। संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले एनबीसी को ‘मिट द प्रेस’ कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले आफ्ना सबै सैन्य विकल्पहरू खुला राखे तापनि इरानसँगको वार्तालाई केही समय र स्थान दिन आक्रमण रोकेको पुष्टि गरेका छन्।
हालका लागि दुवै पक्षले आक्रमण रोकेकाले स्थिति ‘शान्तिको बदला शान्ति’ को अवस्थामा पुगेको छ। यद्यपि, ओमानको मध्यस्थतामा हुने सम्झौता ट्रम्पलाई स्वीकार्य हुन्छ कि हुँदैन र भावी रणनीति कसरी अघि बढ्छ भन्ने कुरामा नै मध्यपूर्वको शान्ति निर्भर रहनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment