स्ट्रेट अफ होर्मुजमा दुई सातायताकै उच्च बन्यो जहाज आवागमन, एलएनजी ट्यांकरहरूको यात्रा पुनः सुरु
तेहरान। दुई साताभन्दा बढी समयको अन्तरालपछि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ट्यांकरहरूको आवतजावत पुनः सुरु भएसँगै ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गमा जहाजहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ। एस एन्ड पी ग्लोबलको प्रतिवेदनअनुसार जुलाई २९ मा यो रणनीतिक जलडमरूमध्य हुँदै २८ वटा जहाज आवतजावत गरेका छन्, जुन जुलाई १४ पछिकै सबैभन्दा उच्च संख्या हो।
यसअघि जुलाई १४ मा अमेरिकाले इरानसँग सम्बन्धित जहाजहरूमाथि नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि ३५ वटा जहाजले उक्त जलमार्ग पार गरेका थिए। प्रतिवेदन अनुसार पछिल्लो समय स्वचालित पहिचान प्रणाली (एआईएस) बन्द गरेर सञ्चालन गरिएका धेरै जहाज तथा रोकिएका एलएनजी ट्यांकरहरू समेत पुनः सञ्चालनमा आउँदा आवतजावतमा वृद्धि देखिएको हो।
जुलाई २९ मा होर्मुज पार गर्ने जहाजहरूमध्ये ६० प्रतिशत इरानसँग सम्बन्धित थिए। यो संख्या जुलाईको दोस्रो आधामा देखिएको औसत ६८ प्रतिशतको तुलनामा केही कम हो। उक्त दिन आवतजावत गर्ने २८ जहाजहरूमा सातवटा ल्यान्डिङ क्राफ्ट, पाँचवटा बल्क क्यारियर, छवटा उत्पादन ट्यांकर, दुई-दुईवटा एलएनजी, एलपीजी, कन्टेनर र कार्गो जहाजका साथै दुईवटा टगबोट समावेश थिए। तीमध्ये १५ वटा जहाज खाडी क्षेत्रमा प्रवेश गरेका थिए भने सातवटा जहाजले आफ्नो पहिचान प्रणाली बन्द राखेका थिए।
त्यसैगरी, अमेरिकी नौसैनिक नाकाबन्दी रहेको क्षेत्र हुँदै हुने जहाज आवागमन पनि बढेर ३९ पुगेको छ, जबकि अघिल्लो दिन यो संख्या २५ मात्रै थियो। गल्फ अफ ओमानतर्फ प्रवेश गरेका २२ जहाजमध्ये अमेरिकी प्रतिबन्धमा परेको एक उत्पादन ट्यांकर समेत रहेको जनाइएको छ।
प्रतिवेदन अनुसार अर्को महत्वपूर्ण जलमार्ग ‘बाब अल-मन्देब’ हुँदै हुने आवागमनमा पनि सुधार आएको छ। जुलाई २९ मा त्यहाँ ३९ वटा जहाज पार भएका थिए। यद्यपि, साउदी अरेबियाका रातो सागर (रेड सी) स्थित बन्दरगाहतातर्फ जाने जहाजको संख्या भने जम्मा तीन वटामा सीमित रह्यो। विशेष गरी गल्फ अफ एडेन हुँदै यात्रा गर्दा साउदी स्वामित्वका जहाजहरूले पहिचान प्रणाली बन्द गर्ने क्रम बढेको देखिएको छ।
हालै चारवटा अति ठूला कच्चा तेल वाहकले यान्बु बन्दरगाहबाट तेल लोड गरी सुएज नहर हुँदै इजिप्टको सिदी केरिर टर्मिनलतर्फ यात्रा गरेका छन्। साथै, मध्यपूर्वी खाडी र एसियाबाट थप छवटा जहाज सिदी केरिरतर्फ गइरहेको वा केप अफ गुड होप हुँदै मार्ग परिवर्तन गरिरहेको एस एन्ड पी ग्लोबलको प्रतिवेदनमा उल्लेख छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment