ग्रिसमा डढेलो निभाउने क्रममा हावामै दुई हेलिकप्टर ठोक्किए, दुई जनाको मृत्यु, दुई घाइते
काठमाडौं । ग्रिस (युनान) मा जङ्गलको डढेलो निभाउने अभियानमा खटिएका दुई वटा हेलिकप्टर आइतबार हावामै आपसमा ठोक्किएर भयानक दुर्घटना भएको छ।
यस दुर्घटनामा परी डेनमार्कका एक पाइलट र ग्रिसको फायर सर्भिसका एक सम्पर्क अधिकृत को मृत्यु भएको छ। दुर्घटनामा अर्का बेलायती (ब्रिटिस) पाइलट र ग्रिक कोअर्डिनेटर सामान्य घाइते भएका छन्।
यो दुर्घटना राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा पर्ने एत्तिका-बोयोटिया सीमा नजिकै गएको भीषण जङ्गलको डढेलो निभाउने क्रममा भएको हो।
घटनाको सार्वजनिक भिडियोमा एउटा हेलिकप्टर अर्को हेलिकप्टरसँग ठोक्किएको प्रस्ट देखिन्छ। टक्करलगत्तै एउटा हेलिकप्टरमा आगो लागेर नजिकैको खाईमा खसेको थियो भने अर्को हेलिकप्टर चालकको सतर्कताका कारण सुरक्षित रूपमा आपत्कालीन अवतरण गर्न सफल भएको थियो।
ग्रिक फाइर सर्भिसका अनुसार दुर्घटनापछि आपत्कालीन अवतरण गरेको हेलिकप्टरका दुवै चालक दलका सदस्यहरूलाई सकुशल बाहिर निकालिएको थियो। तर, खाईमा खसेको हेलिकप्टरमा सवार दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएकामा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
यस हप्ता ग्रिसका विभिन्न जङ्गलहरूमा फैलिएको भीषण डढेलोका कारण ठूलो सङ्ख्यामा स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ।
पोर्तो जर्माना, पसाथा, फोकिडा, मेगारा र केफालोनिया लगायतका क्षेत्रमा विगत ७२ घण्टादेखि ५०० भन्दा बढी दमकलकर्मी तथा अग्निनियन्त्रकहरू डढेलो नियन्त्रणमा लिन निरन्तर सङ्घर्ष गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment