कबिता : नयाँ वर्ष

डिसी नेपाल
१ वैशाख २०७७ १६:५८

 

गुराँस उन्मत्त बैँस झार्दै होला घमाइलो पाखा
भुल्छन जनले पीर ब्यथा फेर्दै रमाइलो भाका

ऐसेलु पहेंलै भए होलान रसिलो भरिलो बनी
कल्पिन्छु मनमनै कहिले पुगौंला खान भनी

गुयँली भरेली भयो होला गुलावी रंग सरी
आकाशको फल भो आज पुग्ने खै कसोगरी

काफल पाक्यो नि तहाँ लटरम्म डालाभरी
फूल्छ यौवन जसरी खुलेर कोमल गालाभरी

हेर चुत्रा बेडूला लेकमा, बेंशीमा खजुरी थरी
आयो बेला तिजु खाने टिप्ने बाँको डालो भरी

पाके जामुन फरेट फाँटमा डाक्दै लोकलाइ
उडे भुरभुर चराचुरुङ्गी मेट्दै मीठो भोकलाइ

बढे हलक्क बनमा वृक्ष लता लहरी पनि
कोकिल कण्ठमा गायो कोइली कुहू कुहू भनी

फूले सुनाखरी बेली चमेली धपक्कै भो धर्ती
प्रफुल्ल तनमन फुरफुर अहो१ अचम्मको चर्ती

झर्यो किसान बारीमा स्याहार्न अन्न दाना हेर
छ बेला कामको लौ गर उद्यम भनी धेर

यै हो ऋतुराज वसन्त, छ मनमा सबको हर्ष
फेरि एउटा आशा बोकेर आयो है नयाँ वर्ष ।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *