कथा : एकपलको खुशी – २

डिसी नेपाल
२ असोज २०७८ १०:३४
9.8k
Shares

आखिर त्यो दिन आएरै छोड्यो।

‘अन्माउने बेलामा बाउको बिहे हेर्न हुन्न’ भनेर छोराछोरीलाई पल्लो घरमा पठाइयो, अनि झ्याईझ्याई पन्चेबाजा बजाएर शारदाको लोग्ने आफ्नै सालीलाई लिन ससुराली घर पुगे। जतिजति बाजा घर नजिक सुनिन्थ्य‍ो शारदा र शान्तीको मनमा ढ्याङ्ग्रो ठोकिन्थ्यो। सम्पूर्ण रीत पुर्याएर कन्यादान दिनेले दिए र लिनेले पनि लिए। ‘मारे पाप पाले पुण्य’ भनेर जीवनको हातमा शान्तिको हात सुम्पियो।

बिचरी शारदा बार्दलीबाट क्वारक्वार्ती हेरिरहिन्। १५ बर्ष पहिले उनको जिन्दगीमा जे भएको थियो, त्यहि घटनाहरु दोहोरिरहेको थियो। जीवनले अग्नि साक्षी राखेर किरिया खाए, श्रीमतीको सदैव रक्षा गर्ने उनको पालनपोषण गर्ने।

मनमनै शारदाले आफ्नो बिहेमा जीवनले खाएका कसमहरु सम्झिनथाली। जीवनसँग बिताएका मिठापल सम्झी, कहिलेकाँही ठट्टा गरी शारदाले आफू मर्ने कुरा गर्दा जीवन रिसाउथे। तिमीलाई म मृत्युको मुखबाट खोसेर पनि ल्याउछु भन्थे।

तिम्रो छेउमा काल आइपुग्न पहिले मेरो सामना गर्नुपर्छ भन्थे । यी सबकुरा सम्झेर शारदा मुसुक्क मुस्कुराइन्। एक्लै पागलसरी मुस्कुराएको देखेर सँगै साथी बसेकी काइली काकीले शारदाको अनुहारमा एकटकले हेरिरहिन्।

बिहेमा आउने इष्टमित्र, पाहुनाहरुको मुहार पनि कहाँ हसिलो थियो र सबै चुचु गर्दै नवदम्पतीलाई टीका लगाउदै थिए। अनि शारदाको आलो घाउमा नुन चुक पनि थप्दै थिए ‘के गर्नु नानी तेरो कर्मै यस्तो ….’

पुरानीलाई छोडेर नौली बुढीलाई लिएर जाने बेलामा जीवन आएर शारदालाई ‘ल बसिराख, पर्सि दुलन फर्कदा सँगै जाउला’ भनेर हिडे।
धुमधामले भित्राइयो शान्तीलाई घरमा। भोलिपल्ट गाँउलेहरुलाई बोलाएर भोजभतेर गरियो।

छोराछोरी कहिले रमाउथे, कहिले झोक्राउथे। घरमा आउने सबै पाहुनाहरुले ‘अब तिम्रा आमा यिनै सानिमा हुन्, आमा भन्नुपर्छ, तिम्रा आमा त अब छिट्टै छाडेर टाढा जान्छिन् अब सानिमालाई नै रिझाउनुपर्छ’ भनेर अर्ती दिदै जान्थे। बिचरा छोराछोरी अक्कन बक्क हुन्थे ।

एउटी छोरी गुमाइसकेका बाउ आमाले फेरि अर्की छोरी गुमाउने आँट गरेनन्। त्यसैले धेरैजसो माइती नै बस्न थालिन् । हप्तैपिच्छे शान्तीलाई लिन जीवन ससुराली पुग्थे तर शान्ती अनेकन बहाना बनाएर सकेसम्म घर फर्कन नै चाहन्न थिइन, गइहाले पनि हप्ता दिन नकट्दै बेथा उठेर काम्दै माइती पुग्थिन्।

‘सानीमा कसरी आमा भैइन ? किन आमा कहिले नआउनेगरी जान्छिन्? कहाँ जान लागिन आमा’ यस्तै यस्तै कुरा सोचेर टोलाउथे कहिलकाँही।

मामाघर जादा सानिमाले उनीहरुलाई निकै माया गर्ने गर्थिन्, त्यसैले खासै न्याउरो मुहार देखिएन। तर आफ्नी जन्मदाता अब कहिल्यै नआउने गरी जान्छिन् भन्दा कता कता मन भने कुडिएको जस्तो देखिन्थ्यो।

तामझामकासाथ बिहे सकियो, माइत पठाईएकी शारदालाई पनि दुल्हन फर्कदा सँगै घरमै ल्याइयो। दिनहरु बित्दै गए । दिदीकी सौता बनेर भित्रिएकी शान्ती न लोग्नेसँग नजिक हुन सकी न दिदीको नजिक।

पहिले पहिले, बिहे अघि भिनाजु भनेर लाँडिदै जिस्कने शान्ती आजकल त्यहि भिनाजुलाई श्रीमानको रुपमा मान्न खोजे पनि मनले मानेकै थिएन। उनको सपनाको राजकुमार भिनाजु कदापि थिएनन्।

उनले सपनामा पनि सोचेकी थिइनन् एकदिन आफ्नाहरुको लागि जिन्दगीसँग यति ठूलो सम्झौता गर्नुपर्छ भनेर। जे नहुनु पर्ने थियो त्यहि भैसकेको थियो।

घर भित्रिएदेखि नै शान्तीको अनुहारमा कहिल्यै उज्यालो देखिएन। सधै हाँसखेलमा रमाउने उनको बालापनले डाँडा काटिसकेको थाहै पाइनन्। हरेक दिन एकान्तमा बस्न मनपराउन थालेकी थिइन्। छोराछोरीसँग कहिलेकाही देखावटी हाँस्थिन् र प्रायगरी छोराछोरीसँगै सुत्ने गर्थिन्

आफूले मन पराएर ल्याएको जेठी श्रीमती हुँदा हँदै जीवन पनि शान्तिको नजिक हुन सकेनन्। कताकता उनमा शारदा र शान्ती दुबै प्रति आफुले गल्ती गरेको कुरामा ग्लानी महशुस हुन्थ्यो। शान्तीलाई पनि पूर्णरूपले श्रीमती मान्न सकिरहेका थिएनन्।

दिनहरु बित्दै जाँदा शारदालाई पनि रोगले बिस्तारै बिस्तारै गलाउदै गइरहेको थियो । उनको पाठेघरबाट बगेको दुर्गन्धको कारणले हुनसक्छ उनको नजिक कोही पनि पर्न चाहदैनथिए।

केही दिन मै शारदाको लागि आफ्नै आँगन परदेश बन्यो। आफै हलचल गर्न नसकेपछि दिशापिसाबले बिस्तारा भिजाइरहन्थ्यो।
दिदी मलमुत्रमा भिजेको शान्तीले किन देख्न सक्थिन र आखिर एउटै कोखको बास न पर्‍याे। फोहोर चलाउने रहर नभएपनि, जतिसुकै घिन लागे पनि दिक्क नमानी नाक मुख थुनेरै भएपनि दिदीलाई सक्दो सफा राख्ने कोसिस गरिरहन्थिन्।

शारदाको ओछ्यान पिँढीबाट धन्सारमा सर्यो। करिव ४ महिना थलामा परेपछि एकदिन ओछ्यानमै प्राण त्यागिन् शारदाले। सास जानेबेलामा एक घुट्को पानी पनि मुखमा हालिदिने कोहि भएन। कतिबेला सास गयो कसैलाई पत्तै भएन, लास उठाइयो, सदगत् गरियो।
आज मर्यो भोलि दुई दिन…

समयसँगै सबैले शारदालाई भुल्दै गए। शारदा रहुन्जेल नजिक हुन नसकेका जीवन र शान्ती पनि बिस्तारै नजिकिदै गए। उनीहरुबाट एक छोरीको पनि जन्म भयो । भौतिकरुपमा खुशी देखिए पनि शान्तीको मन शान्त थिइन।

उनीलाई खुशी बनाउन चाहन्थे जीवन, तर उनीहरुको उमेरको अन्तर, सोचको फरकपन जस्ता कारणले गर्दा धेरै कुरामा सामन्जस्यता पाउन गाह्रो पर्थ्यो । जे जे मिलेका थिए ति सबै देखावटी जस्ता देखिन्थे।

शान्तीको मनमा डरले पनि जरो गाडिसकेको थियो ‘कतै भोलि गएर मेरो पनि अबस्था दिदीको जस्तै हुने त होइन?’ भनेर घर र जीवनको नजिकताबाट टाढा भाग्ने कोशिस गरिरहन्थिन्। उनलाई घर कैदखाना जस्तो लाग्थ्यो । बरु उनलाई माइती नै शान्त र रमाईलो लाग्ने गर्दथ्यो। त्यसैले माइती जाने मात्रै बहाना बनाइरहन्थिन्।

बिहे अघि दिदीका छोराछोरी कति प्यारा थिए, तर आजकाल उनीहरु बोलेको सुन्दा पनि उनलाई रिस उठ्थ्यो। शान्तीमा मानसिक विचलन देखिन देखिन थालिसकेको थियो। माइतीमा बसुन्जेल सामान्य हुने तर घरको सँघारमा पुग्ना साथ शरीर कामेर बेहोस हुने गर्थिन्।

गाँउघरको चलन अनुसार धामी झाक्री देविदेउता सबै भाके पनि शान्तीलाई ठिक बनाउने घर माइतीको प्रयास सफल हुन सकेन। ब्यथाले उनलाई झन झन च्याप्दै गरइहेको थियो ।

एउटी छोरी गुमाइसकेका बाउ आमाले फेरि अर्की छोरी गुमाउने आँट गरेनन्। त्यसैले धेरैजसो माइती नै बस्न थालिन् । हप्तैपिच्छे शान्तीलाई लिन जीवन ससुराली पुग्थे तर शान्ती अनेकन बहाना बनाएर सकेसम्म घर फर्कन नै चाहन्न थिइन, गइहाले पनि हप्ता दिन नकट्दै बेथा उठेर काम्दै माइती पुग्थिन्।

आजकाल जीवन पनि एकान्त मै हराउन थालेको थिए । हुर्कँदै गरेका छोराछोरी आफ्नै तालमा हुन्थे। घरमा कसैसँग पनि धेरै बोल्दैनथिए जीवन। काममा पनि जाँगर लाग्दैन थियो उनको । पढाउन स्कुल जान्थे तर उनीसँग उनको मन कतै हराइरहन्थ्यो।

स्कुलमा पनि आलटाल गरेर १०-४ को समय बिताउथे। राम्रो शिक्षकको रुपमा मानिने जीवन सरको कक्षाकोठामा पनि पढाउने शैलीमा ह्रास आएको थियो। जीवन सरको घण्टी कुरेर बस्ने विद्यार्थीहरुलाई आजभोलि उनको कक्षा झर्को जाग्न थालेको थियो।

घरको जिम्मा पूरै रुपमा जीवनकी आमाको काँधमा आएको थियो। बुढेसकालामा पनि सकी नसकी घोटिरहन्थिन् घरेलु काममा। गाँउलेहरु जमघट हुँदा कुरा काट्ने मसला बन्दै गयो जीवनको परिवारको बिषय । `के गर्नु जीवनको कर्मै यस्तो रहेछ´ भन्थे गाँउलेहरु। कोहि भने `जेठीको पाप लाग्यो जीवनका आमा छोरालाई´ भन्थे।

गाँउमा शारदालाई रोग लागेपछि पनि २/३ जनालाई त्यस्तै खालको क्यान्सर भएको थियो र डाक्टरको सल्लाह बमोजिम उपचार गराउदै थिए । कतिपयको स्वास्थ्यमा सुधार पनि आएको थियो।

विरामीबाट उत्रदै गरेका मानिसहरु देखेर जीवन बेलाबेलामा सोच्ने गर्थे `डाक्टरले भनेको मानेर मैले पनि मेरी शारदाको उपचार गरेको भए सायद आज म सँगै हुने थिइन् होला । आज मैले यसरी श्रीमती र छोराछोरी हुदाहुँदै एक्लो जीवन बिताउनु पर्ने थिएन होला।‘

कहिले काँहि ‘शारदा मलाई माफ गर है मैले तिमीलाई बचाउने प्रयत्न समेत गरिन, तिम्रा ती आखाले सधै मलाई गुहार मागी रहे पनि विनय गरिरहे पनि मैले बुझ्न सकिन शारदा! मलाई माफ गर है …………’ भन्दै अनायासै चिच्याउन पुग्द्थे।

छोरा एक तमासले बर्बराइरहेको सुनेर जीवनकी आमा जुरुक्क उठेर लामो सुस्केरा हाल्दै ‘हे ! भगवान रक्षा गर’ भन्दै सकी नसकी चुलोमा आगो सल्काउन लागिन्।

याे पनि पढ्नुस्

एक पलको खुशी (कथा)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *