यस्तो थियो ऊ बेलाको चलन

डिसी नेपाल
११ मंसिर २०७८ ८:०२
108
Shares

‘फर्केर हेरे हेर्न नहुने कुरा पनि देखिन्छ’ भन्ने सुनेको थिएँ बाल्यकालमा। अब पनि फर्केर नहेरे भूतको गर्भमा बिलाउँदै जाने भएती। त्यसै कारण फर्केर हेर्नु परेको हो अहिले। ‘घुमीफिरी रूम्जैटार’ भनेजस्तै इलाम नै पुग्ने भइयो आफू ।

आज जस्ता वृक्ष विहीन नाङ्गा डाँडा देखिँदैनथे अरे हाम्रा पुर्खाका पालामा । नेपालीको बसाइँ सराइ पूर्वाभिमुख भएको देखिन्छ जताततै । सिन्धु जरायोटारका मान्छे पाँचथर पुगेछन् कुशबिर्ता ग्रहण गर्न । फिदिमको सानो बिर्तामा अटाएनन् केही समयपछि त्यहाँपनि ।

त्यहाँका केहीमान्छे माईपोखरीको काख सुलुबुङ पुगेछन् त्यस समय। कृषि र पशुपालन बाहेक अरू उद्यम जानेकै थिएन नेपालका पहाडवासीले। कलाकौशलको काम कान्तिपुर उपत्यकामा सीमित थियो त्यस समय।

वास्तवमा भन्ने हो भने त्यै स्थिति छ आजसम्म । कृषिपनि द्वितीय श्रेणीमा आउँथ्यो पशुपालनको तुलनामा । जङ्गल अनिवार्य कुरा हो पशुपालनका लागि। लेकाली घाँचमा परेको हुँदा हिउँ पथ्र्यो अरे माईपोखरीको काखमा रहेको सुलुबुङमा पनि। लेकमाबस्नपुगेका हुँदा चौरी पाल्नथाले छन् सुलुबुङ बसाइँ आउनेले। त्यसै कारण आजपनि

चौँरीवाला कहलाउँछन् सुलुबुङका ढकालहरू। सुलुबुङमा हिउँ पथ्र्यो र घनाजङ्गल थियो भन्दा कसले विश्वास गर्छ र आज !
चौँरीपाला सुलुबुङेहरू बाख्रो पनि पाल्न नसक्ने स्थितिमा पुगेका छन् घाँसको अभावले गर्दा। घिउको उत्पादन नै नगदे आयको स्रोत थियो अरे त्यस समय। हप्ताभर जम्मा गरेको घिउ बोकेर पुर्‍याउनु पथ्र्यो बिक्रीका लागि दार्जीलिङमा।

कुरा सम्झिन्छु केही मात्रामा। छ आना सेर भैँसीको, आठ आना सेर गाईको, दस आना सेर चौँरीको र बाह्र आना सेर भेडाको घिउ बिक्दथ्यो द्वितीय विश्व युद्ध प्रारम्भ हुनुभन्दा पहिले। गाउँमै बेचे त्योभन्दा सस्तो थियो घिउको भाउ। रूपियाँ पैसाको हिसाबपनि बेग्लै थियो इलाममा। चार पैसालाई एक आनाभन्थे मानिसहरू । चौसट्ठी पैसाको एक रूपियाँ हुन्थ्यो त्यहाँ । सोह्र आनाको एक रूपियाँहुन्थ्यो ब्रिटिस भारतमा । त्यसैको हिसाबहो यो ।

नेपाली रूपियाँ पैसा चल्दैनथ्यो इलाम तिर। चल्दैनथ्यो त होइन लक्ष्मी पूजा र जुवाडेका लागि टोकनको काम दिन्थ्यो तिहारमा त्यसले । पशुपतिको दर्शनमा तीर्थ जाँदा नमुनाका लागि केही मात्रामा लिएर आउँथे मान्छेले आफ्ना देशका पैसा भनेर । त्यसलाई पूजा गर्थे तिहारमा । भनाइको तात्पर्य ब्रिटिस भारतका पैसा चल्थे इलाममा त्यस समय । एक सय भारतीयको केवल पचपन्न रूपियाँमात्र आउँथ्यो नेपाली रूपियाँ लिँदा काठमाडौँमा द्वितीय विश्वयुद्ध सुरू हुनेताका । त्यसैले पनि कोही ल्याउन चाहँदैनथ्यो नेपाली रूपियाँ ।

इलामको विकासमा ठूलो देन छ गजराजजङ्ग थापाको । आफ्नी छोरी दिएका थिए जङ्गबहादुरले गजराजजङ्ग थापालाई । इलामको खुवा बिर्ता पाइन् छोरीले बाबुबाट । बडाहाकिम भए गजराजजङ्ग थापा खुवा बिर्ताकै नाताले त्यसको । जङ्ग बहादुरका ज्वाइँ नै भए पनि दुनियाँदारको छोरो हुँदा कर्णेल भन्दा माथिको दर्जा पाएनन् उनले । श्रीमान्ले दर्जा नपाउँदा कचकचहुने नै भयो बाबुलाई छोरीका तर्फबाट ।

कर्णेलमा चीफ थपेर सन्तुष्टपारे छोरीलाई। चीफ कर्णेल भए गजराज जङ्ग थापा त्यसपछि । गजराज जङ्ग थापाले सुरू गरेका हुन् चियाको खेती इलाममा विव्रmम संवत् १९२२ सालतिर। चियाखेतीका लागि बस्ती नासेनन् धेरैजसो उनले। जङ्गल फँडानी भयो त्यसका लागि।

चियाको उत्पादन सुरू भएपछि मेसिन चलाउन आवश्यक हुनु स्वाभाविक हो इन्धनको । सँगैको दार्जीलिङमा दाउरा प्रयोग हुन्थ्यो मेसिन चलाउने इन्धनका लागि। रेलकालागि कोइला प्रयोग हुनथालेपछि दाउराको साटो पत्थर कोइला आयो दार्जीलिङमा । बाटोघाटोका अभाव र ढुवानीको समस्याले दाउरै प्रयोग भइरह्यो इलाममा भने । तर वृक्षारोपणमा सतर्क भएर ध्यानदिन्थे अङ्ग्रेजहरू इन्धनकालागि दाउरा प्रयोग गरे पनि ।

दाउराकालागि रूख काटिएपनि रूख बढिरहेका हुन्थे ब्रिटिस भारतमा । अर्कातिर वनविनाश गरेपछि पुनः रूख रोप्नुपर्छ भन्ने ज्ञान नै थिएन नेपालीलाई। यिनै कारणले गर्दा कपाल झरेका टाउका जस्ता भए इलाम बजार समीपका डाँडाकाँडाहरू । सरकारका तर्फबाट काम भएपछि कुनै विरोध आउँदैनथ्यो जनताको । ‘हुकुमको जबाफ छैन, कालको ओखती छैन’ भन्ने धारणा थियो जताततै । कुनै विरोध हुँदैनथ्यो सरकारी आदेशमा त्यसै कारणले गर्दा ।

अशिक्षाको अन्धकारमा डुबेको थियो जनता । पढ्नुपर्छ भन्ने ज्ञान कसैमा थिएन त्यस समय—
“पढ्यो गुन्यो कौनकाम–हलो जोत्यो खायो माम ।”

भन्ने उखानमुखैमा झुन्डिएको थियो सबैको । पढ्नुको अर्थ ज्ञानआर्जन गर्न होइन धनआर्जन गर्न हो भन्ने धारणा थियो मानिसको । नपढे पनि खेती पातीबाटै सुखी जीवन बनाउन सकिन्छ भने किन कपाल दुखाइ रहने पढाइमा? पढ्नमा कसैले ध्यान दिँदैनथ्यो यस कारणले गर्दा। केही मात्रामा संस्कृतको ज्ञान हासिल गर्थे बाहुनका छोराले । आर्थिक कारण थियो त्यसमापनि ।

खानदानी पेसामा रहेको जजमानी वृत्ति नपढेपछि छुट्ने हुँदा नै पढितो पल्थे बाहुनका छोराहरू । कल्पवृक्ष नै मानिन्थ्यो त्यस समय पुरोहितकालागि जजमानीवृत्ति। केहीमात्रामा ज्योतिषपनि जानेको छ भने त सुनमा सुगन्ध नै भयो त्यो । चिकित्सकको काम पनि उसैले गर्नुपथ्र्यो अशुभग्रहको शान्ति स्वस्ति गराएर ।

पुरोहित भनेको एकछिन पनि नभई नहुने प्राणी थियो समाजकालागि । ज्योतिषदेखि लिएर झारफुके वैद्यको काममात्र गर्नु पर्दैन्थ्यो उसले, जन्मदेखि मृत्यु पर्यन्तका सबै शुभाशुभ कृत्य पनि गराउनु पर्ने उत्तरदायित्व रहन्थ्यो उसमा। जीवितका लागि अशुभनिवारण र शुभलाभको आमन्त्रणका साथै भविष्यका निमित्त स्वर्गमा आसन सुरक्षित गराउनेदेखि लिएर मृतात्मालाई नर्कबाट उद्धार गर्ने जिम्मापनि उसैको हुन्थ्यो समाजमा । त्यसै कारणकेही न केही संस्कृत पढेकै हुन्थ्यो बाहुनका छोराले । ब्राह्मणको

प्रभावहिन्दू धर्म अर्थात् सनातन धर्म मान्ने जुनसुकै समुदायमा पनि थियो त्यस समय। पुरोहितकस्तो हुनुपर्दछ त्यसको पनिव्यवस्था छ आर्ष वाक्यमा ।
उच्चस्वरले पौराणिक कथा वाचन गर्नु, यजमानकी गृहिणीसँग शिष्ट व्यवहार गर्नु, उनका छोराछोरीलाई प्यारो गर्नु, यजमानकी पत्नीसँग कुरा हुँदा उनका पतिको गुणगान गर्नु, यजमानकी पत्नीले पकाएको खानेकुरा आफूलाई मीठो नलागे पनि मीठो छैन नभन्नु, यजमानकी श्रीमतीले अह्राएको कुरामा प्रतिवादनगरी खुरूक्क मान्नु, हात हेर्न जान्नु अर्थात् हस्त रेखाशास्त्रको ज्ञान हुनु, जनसुकै कुरामापनि पाण्डित्य पूर्ण उत्तर दिनु, वैद्यक जान्नु अर्थात् औषधोपचार गर्न जान्नु, ज्योतिष जान्नु वाग्रहदशाको फलादेश गर्न सक्नु, जन्तर बाँधेर अनिष्ट दूर गर्न जान्नु, झारफुकद्वारा भूतप्रेत भगाउन सक्नु र वाद्यवादनमा पनि निपुण हुनु यी बाह्र कुरा पुरोहितका लक्षण मानिन्छन् ।

“उच्चैरध्ययनं पुरातनकथाश्रीभिः सहालापन
तासामर्भकलालनं पतिनुतिस्तत्पाकमिथ्यास्तुतिः ।
आदेशञ्चकरावलोकविधौ पाण्डित्य वैदक्रिया
होरागारूडमन्त्रवादन मभीभिक्षोर्गुणाद्वादशः ।।”

वास्तवमा भन्ने हो भने डेल कार्नेगीको उपदेशलाई पनि उछिन्नु पर्दछ पुरोहितले । हिन्दू धर्ममा आइनसकेका राई, लिम्बू र लाप्चे—भोटेका पुरोहित हुन्थे आफ्नै वर्गका। संस्कृतसित चासो थिएन उनीहरूलाई । बौद्धमार्गी लामाले पाठ गर्ने धर्मग्रन्थमूल संस्कृतबाटै तिब्बतीमा अनूदित भए पनि त्यसको ज्ञान हुनु सम्भव थिएन साधारण लामामा ।

शैक्षिक वातावरण यस्तो थियो भने ‘भित्ताका पनि कान हुन्छन्’ भन्ने उखान प्रसिद्ध थियो गाउँघरमा । कोही कसैसित विश्वास गर्दैन्थ्यो त्यस समय । बाबुले छोरालाई विश्वास गर्दैन्थ्यो भने अरूको कुरै छोडौँ यहाँ । भित्ताको कान त आजपनि अगावत् छ भन्छन् एउटै विचारधाराको परेन भने। तर राणाका पालामा पनि आतङ्कित भएको जनता भने कमै पाइन्छ आजकल ।

अर्काको भलो चिताउने परम्परै थिएन त्यस समय । जातभातकै कुरा सुनिन्थ्यो जताततै । मावली गाउँको एउटा घरमा सधैँ जाने गर्थेँ म । जातका सन्नेसी थिए उनीहरू । बाहुनको छोरो भएपनि मामा साइनु थियो सन्नेसीसित । केटाकेटीमा कुनै वास्ता भएन मलाई उनको नालीबेलीमा । ठूलो भएपछि थाहा पाएँ पशुसित बात लगाइ दिएका रहेछन् शत्रुले उनका पुर्खालाई ।

बात लागेपछि कानुन बमोजिम शिखा सूत्रविहीन भए उपाध्याय बाहुन भए पनि । ब्राह्मणबाट हटेका भएपनि कुनै समाजमा त मिल्नै प¥यो उनले । दशनामी सन्नेसीका साह्रै उदार हुन्छन् नियमहरू; यसरी अभर परेकालाई संस्कार गराएर आफ्नो समाजमा तान्ने । हिजोसम्म उपाध्याय ब्राह्मण थिए उनीहरू सन्नेसी हुन पुगे आज । शिखासूत्र सरकारले नै झिकेपछि कुनै गाह्रो परेन सन्नेसी हुन । नेपाली समाजबाटविर क्तिएर मुगलानवासी हुन पुगे नयाँ सन्नेसीहरू। यस्ता अनेक घटना घटिरहन्थे इलाममा त्यस समय।

इलाममात्र के भन्ने अधिराज्यव्यापी जातपातको रोग थियो यो । जतिसुकै व्रmोधव्यक्त गरे पनि उपाध्याय ब्राह्मणलाई फाँसीको सजाय दिँदैनथे राणाहरू । ब्रह्मण–हत्याको अभियोगमा परिएला भन्ने डरले । यसै कारण ज्यान जोगिएको हो राजनीति गर्ने धेरै जसा उपाध्याय ब्राह्मणका छोराहरूको। दामलको सजाय भोग्नुपर्ने मान्छे गिरि, पुरी, भारती वा यस्तै कुनै दशनामी सन्नेसीमा दर्ता हुन्थे होलान् टंकप्रसाद आचार्य आदि राजनीतिकर्मीहरू पनि मौकैमा सात साल आइ नपुगेका भए ।

गरिबीले सताएको एउटा नेपाली केटो पैसा कमाउन होमिए छ इलामबाट दार्जीलिङको पुलबजार भन्ने ठाउँतिर। औले जरोले थलिएर केही दिन सुतेछ इष्टमित्रका घरमा । घर आएपछि भाते मुद्दा लाग्यो भोटेले छोएको जाउलो खायो भनेर । भकाराका हल गोरू बेचेर पतियालिनु प¥यो उसले भाते मुद्दाबाट उक्सिन । त्यस वर्ष आफ्नो खेत बाँझै राखेर भएपनि । मुद्दाबाट पैसा झार्न नसके डकैती गराउँथे भारतबाट डाँका ल्याएर ठूलाठालुहरू । गाउँका फटाहा नै ठूलाठालु हुन्थे त्यस समय ।

त्यति बेलामात्र होइन आजपनि त्यै स्थिति छ गाउँघरमा। चन्द्रशमशेरले एउटा भारतीय डाकालाई धोदे्र भन्ने ठाउँमा पक्रेर मृत्युदण्ड दिए पछि केही साम्य भएको थियो अरे परिस्थिति। चन्द्रशमशेरको निधनपछि उही कुरा दोहोरियो भन्थे बूढापाकाहरू । आफ्ना बाबुको आत्मालाई शान्ति मिलोस् भनेर छोराले एउटा घ्याङ बनाएपछि धोद्रेको नाम बुद्धधाम भएको छ आजकाल । पशुपतिनगर आउनेजाने बाटैमा पर्दछ यो ।

जातपातको आधारमा टिकेको थियो नेपालीको सामाजिक गठन । सानो घटनाले पनि प्रभाव पाथ्र्यो त्यसलाई । काँचको भाडोजस्तो थियो त्यो कुनै बेला पनि नष्ट हुन सक्ने । जोगाएर राख्न साह्रै कठिन थियो त्यसलाई । आजत साहै्र बलियो भएको छ हाम्रो जात । जा त भने पनिकतै जाँदैन हामीसँगै बसिरहन्छ त्यो । प्रजातन्त्रको सानो देन होइन यो हाम्रो समाजका लािग । यस्तै सामाजिक प्रगति हरेक क्षेत्रमा भएको छ, हाम्रो यादै गरेको हुँदैन कसैले । प्रगतिको कारक तत्व हो प्रजातन्त्र । त्यसै कारण बिर्सनु हुँदैन हामीले कहिल्यै पनि उसलाई ।

(शर्माको संस्मरणात्क कृति ‘कस्ताबोक्सा संस्मरण!’बाट साभार)

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *