ब्याटिङ गर्नुपर्ने खेलाडीले बलिङ गरेर तहल्का मच्चाएपछि…

डिसी नेपाल
३ साउन २०८० १३:१७
28.6k
Shares

काठमाडौं । श्रीलंकामा भएरहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज आफ्नो तेस्रो खेल खेलिरहेको छ । कोलम्बोको पी सारा ओभलमा युएइविरुद्ध भइरहेको खेलमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ ।

आजको खेलमा एउटा निकै रोचक दृश्य देखिएको छ । बलिङमा विकेट लिने मुख्य जिम्मेवारी पाएका फुलटाइम बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा नेपालका फुलटाइम ब्याटरले बलिङमा तहल्का मच्चाएका छन् ।

नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलले सबैभन्दा धेरै ६ विकेट लिएका छन् । यो समाचार तयार पार्दासम्म कुशलले आफ्नो कोटाको पूरै १० ओभर बलिङ गरिसकेकाले उनले अब भने थप विकेट लिन सक्ने छैनन् ।

बलिङ र ब्याटिङ दुवैको जिम्मेवारी पाएका अलराउण्डरहरु पवन सर्राफ र कुशल मल्लले भने अहिलेसम्म एक–एक विकेट मात्र लिन सकेका छन् । बलिङको मुख्य जिम्मेवारी पाएका फुलटाइम बलरहरु किशोर महतो, प्रतिश जिसी र मौसम ढकालले भने विकेट लिन संघर्ष गरिरहेका छन् ।

यो समाचार तयार पार्दा युएइको इनिङको ४१ ओभर सकिएको छ । युएइले ४१ ओभरमा ८ विकेट गुमाएर १५१ रन बनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.