एसिया कपको तालिका तय, उद्घाटन खेल नेपाल र पाकिस्तानबीच मुल्तानमा हुने
काठमाडौं । एसिया कपको तालिका तय भएको छ । प्रतियोगिताको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा हुनेछ । यस्तै भारत र पाकिस्तानबीचको हाइभोल्टेज खेल सेप्टेम्बर २ मा श्रीलंकाको क्यान्डी शहरमा हुनेछ ।
ईएसपीएनको रिपोर्ट अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नयाँ मस्यौदा तालिका एसीसीलाई पठाएको छ। जसअनुसार उद्घाटन खेल नेपाल र पाकिस्तानबीच अगस्ट ३० मा मुल्तानमा हुनेछ । फाइनल सेप्टेम्बर १७ मा श्रीलंकाको कोलम्बो शहरमा हुनेछ ।
एकदिवसीय एसिया कपमा ६ टोलीको सहभागिता रहेको छ । समूह ए मा नेपाल र आयोजक पाकिस्तानसँगै भारत रहेको छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
यदि भारत र पाकिस्तान दुबै टोली सुपर-४ चरणमा छनोट भए भने १० सेप्टेम्बरमा क्यान्डीमा दुईबीच सुपर-४ चरणको खेल हुनेछ। अर्कोतर्फ दुवै टोली सुपर–४ चरणको शीर्ष स्थानमा रहे भने सेप्टेम्बर १७ मा फाइनल खेल पनि हुनसक्छ । यसरी भारत र पाकिस्तानबीच समूह चरण, सुपर–४ र फाइनल गरी ३ खेल खेल्न सकिनेछ ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले पीसीबीसँग मिलेर एसिया कप हाइब्रिड मोडलमा आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिताका ४ खेल पाकिस्तानमा र ९ खेल श्रीलंकामा हुनेछन् । अब श्रीलंकाली बोर्डसँग छलफल गरेर पीसीबीले प्रतियोगिताको पछिल्लो ड्राफ्ट तालिका एसीसीलाई पठाएको छ । थप केही परिवर्तनपछि एसीसीले छिट्टै कार्यतालिका टुंगो लगाउने विश्वास गरिएको छ ।
पीसीबीका पूर्व अध्यक्ष नजम सेठीले एसिया कपको पहिलो ड्राफ्ट तालिका एसीसीलाई पठाएका थिए । यसमा सबै खेल लाहोरमा मात्र हुने भनिएको थियो तर नयाँ अध्यक्ष जाका अशरफले मुल्तानलाई पनि समावेश गरेका थिए । उद्घाटन खेल मुल्तानमा हुनेछ भने अन्य ३ खेल लाहोरमा हुनेछ । सुपर–४ चरणको एक खेल पनि यसमा समावेश हुनेछ ।
नयाँ मस्यौदामा सेप्टेम्बर ३ मा बंगलादेश–अफगानिस्तान र सेप्टेम्बर ५ मा श्रीलंका–अफगानिस्तानबीचको खेल लाहोरमा हुनेछ । सेप्टेम्बर ६ मा सुपर–४ चरणको खेल पनि लाहोरमा हुनेछ ।
ओडीआई एसिया कपमा ६ टिम सहभागी हुनेछन् । फाइनल सहित कुल १३ खेल हुनेछन्, जसमा ९ खेल श्रीलंका र ४ खेल पाकिस्तानमा हुनेछन् । सबै खेलहरू डे-नाइट ढाँचामा हुनेछन्। पाकिस्तानमा हुने सबै खेलहरू दिउँसो १:०० बजे (नेपाली समय अनुसार १:४५ बजे) सुरु हुनेछन्। यस्तै, श्रीलंका मा हुने सबै खेल दिउँसो १:३० बजेबाट (नेपाली समय अनुसार १:४५ बजे) हुनेछन् ।
एसिया कप यसअघि अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म हुने तय भएपनि अब उद्घाटन खेलको मिति परिवर्तन गरी ३० अगस्ट राखिएको छ । २ समुहमा विभाजन गरिएको प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । दुवै समूहका शीर्ष २–२ टोली सुपर–४ चरणमा प्रवेश गर्नेछन् ।








डिसी नेपाल







Facebook Comment