जित्न नसकेपछि भारतकी कप्तानले आक्रोश पोखिन्, बंगलादेशकी कप्तानले दिइन् जवाफ
काठमाडौं । बंगलादेशविरुद्धको तेस्रो तथा निर्णायक खेलमा भारतीय कप्तान हरमनप्रीत कौरको ‘आक्रोश’को जवाफ आयोजक टोलीकी कप्तान निगार सुल्तानाले दिएकी छिन् ।
निगारले भनिन् – हरमनप्रीतले अलि राम्रो व्यवहार गर्नुपर्थ्यो । दुई टोलीबीचको तेस्रो एकदिवसीय खेल बराबरीमा सकिएको थियो भने तीन खेलको शृङ्खला १–१ को बराबरीमा टुंगिएको थियो ।
वास्तवमा, जब भारतीय महिला क्रिकेट टीमकी कप्तान हरमनप्रीत कौर शनिबार तेस्रो एकदिवसीयमा क्याच आउट भइन्, उनले अम्पायरको निर्णयमाथि आपत्ति जनाइन् र विकेटमा कडा प्रहार गरिन् ।
खेलपछि हरमनप्रीतले आफूलाई क्याच आउट दिने अम्पायरको निर्णयलाई ‘निराशाजनक’ भनेकी थिइन् ।
बंगलादेशको टोली पनि ट्रफीसँग फोटो खिच्नबाट टाढै रहेर अचानक त्यहाँबाट गयो । यसको पछाडि हरमनप्रीत कौरको बयानलाई कारण मानिएको थियो।
निगार सुल्तानालाई यसबारे प्रश्न गर्दा उनले भनिन्, “उनले जे भनिन् त्यो हाम्रो होइन, उनको शब्द थियो। मलाई लाग्छ कि खेलाडीको हैसियतले उनले अलि राम्रो व्यवहार गर्नुपर्थ्यो। मैले यसबारे कुरा गर्नु हुँदैन।”
उनले भनिन्, “त्यहाँ केही यस्ता शब्दहरू भनिएका थिए, जुन सुनेपछि मलाई त्यहाँ टोलीसँग बस्न उचित लागेन। क्रिकेट अनुशासन र सम्मानको ठाउँ हो, तर त्यहाँ त्यस्तो वातावरण महसुस भएन, त्यसैले हामी त्यहाँ बसेनौं।”
ढाका ट्रिब्यूनको समाचार अनुसार फोटो सेसनका क्रममा हरमनप्रीतले अम्पायरको बारेमा केही भनेकी थिइन्, निगार सुल्तानाको बारेमा होइन । तर, निगारले अम्पायरिङको बचाउ गरिन् ।
उनले भनिन्, “उनी आउट नभएको भए अम्पायरले किन आउट दिए ? एकजना उत्कृष्ट अम्पायर थिए र उनीसँग पुरुष अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव पनि छ। हामीले अम्पायरको निर्णयलाई सम्मान गर्यौं। हामी आउट भएपछि किन त्यसरी प्रतिक्रिया दिएनौं? खेलाडी भएकाले हामीले उनको निर्णयलाई स्वीकार गर्नुपर्छ, आउट होस् या नहोस्।”
यसअघि हरमनप्रीत कौरले खेलपछि भनेकी थिइन्, “मलाई लाग्छ हामीले यो खेलबाट धेरै कुरा सिक्न सक्छौं। क्रिकेटबाहेक पनि हामी जुन प्रकारको अम्पायरिङ भयो त्यसबाट आश्चर्यमा छौं। अर्को पटक हामी बंगलादेश आउँदा हामीले यस किसिमको अम्पायरिङको सामना गर्नुपर्छ भन्ने कुरा सुनिश्चित गर्नेछौं र हामी त्यही अनुसार तयार हुनेछौं।”
भारतीय महिला क्रिकेट टोली सिरिजको पहिलो खेलमा बंगलादेशसँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा भारत १०८ रनले विजयी भएको थियो।
शनिबार भएको तेस्रो एकदिवसीयमा बंगलादेशले भारतलाई २२६ रनको लक्ष्य दिएको थियो तर भारतीय महिला क्रिकेट टोली ४९.३ ओभरमा २२५ रनमा अलआउट भएको थियो ।







डिसी नेपाल







Facebook Comment