कविता : याद आयो
आफैसँग हारेपछि
हार्न बाँकी के नै रह्यो र?
प्रेममा सुकुम्बासी भएँ
मायाको त्यो राजमार्गमा
हिँडिरहेथ्यौँ आनन्दले
पहिरो गयो
अनुरागरूपी गगनमा कावा खाँदै थियौँ
अनायासै
काटी दिइन् मेरा दुबै पखेटाहरू।
उनी मेरो प्रेमको विश्वविद्यालय थिइन्
मायाको अम्मली र दुर्बेसनी भयौँ हामी
समयको पहाडमा झण्डा गाडेर
प्रितमा समाहित भएका थियौँ
यसरी हामीले
रोदिघरमा हाँसखेल गरेको
आज मलाई
त्यो पलको अपर्झट याद भयो।
मायाका मुनाहरू अङ्कुरित हुँदै थिए
यौवनका बगैंचाबाट
फूल चोर्न उद्योग भयौँ
जवानीको थालीभरि
पिरतीको सगुन सजाइरह्यौँ
आपसी प्रेमको शुवासमा पग्लियौँ
गाडीको इन्जिनझैँ तात्तिएको
आज मलाई याद आयो त्यो रातको।
उनको रुपको वर्षाले म भिज्न पुगेथेँ
मेरो तातो स्पर्शले
मैनबत्तीझैँ पग्लेकी थिइन् उनी
अध्यारोको आँचल ओडेर
रात मुस्कुराइरहेथ्यो
आँखा जुधे आपसमा
आलिङ्गनबद्ध भयौँ
ओठ र हात क्रियाशील बने
सपनामा हैन विपनामा नै
प्रेमको झरीमा अघाउन्जी नुहाएथ्यौ
हाम्रो जवानी तिर्खा बनी उदाएथ्यो
समयलाई पानी बनायौँ र तिर्खा मेटाएथ्यौँ
दुई आत्मा एकै भई
मदहोसमा रमाएथ्यौँ
शून्यबाट सयमा पुग्दै
पुनः शून्यमै हराएथ्यौँ
भाषाविना लेख्यौँ हामीले
प्रेम पुस्तक महाभारतको
यसरी उनीसँग बिताएको
याद आयो त्यो साथको।
No ads found for this position


Facebook Comment