आहा रारा गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

डिसी नेपाल
१४ माघ २०८० २३:०७

पोखरा। साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा आर्मीका लागि दिनेश हेन्जनले दुई र जिलेस्पीजंग कार्कीले एक गोल गरे।

दिनेशले खेलको दोस्रो मध्यान्तरको ४८औँ मिनेटमा र ७६औं मिनेटमा गोल गरे भने जिलेस्पीजङ्गले पहिलो मध्यान्तरको ४५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। आर्मी अब मंगलबार हुने चर्च ब्वाइज र एपीएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ।

यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रिस्टार क्लबले प्रतियोगिताको अन्तिमा चार स्थान पक्का गरेको थियो। तेस्रो क्वाटरफाइनल खेल सोमबार मनाङ मस्र्याङ्दी र जावलाखेल युथ क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

प्रतियोगितामा भूटानको पारो फुटबल क्लबसहित साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रिस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने छन् । प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०÷२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०÷३० हजार तथा सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ५०÷५० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।
–––




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.