लघु कथा : आस्था
आस्था र विश्वासको विवाहा धुमधामसँग भयो। दुवैको विवाहमा जन्ती पनि प्रसस्तै थिए।दुवैको माया प्रीतिले विवाह बन्धनमा बाँधिएकोले होला यिनीहरुको माया ममता पनि निकै कसिलो थियो। एक आपसमा छुटाउ नै नसक्ने माया बन्धन थियो यो।
केही महिना यी जोडीले आफ्नो घरमै आरामले दिन गुजारे। समय क्रमसँगै बिदेश गै केही अर्थोपार्जनको चाजोपाजो मिलाउने विचार भयो। यसपछि विश्वास धन कमाउन उत्तर देशतिर लाग्यो।
विश्वासले उत्तर देशमा गएर विकास निर्माण खेती प्रविधि आदि धेरै कुरामा योगदान गर्यो। मन्दीरहरु बनायो। असाध्य धेरै कलात्मक मन्दिरहरु बनाइसकेपछि त्यस देशको राजाबाट त्यही बस्न उनलाई आग्रह गरिएको थियो। तरपनि विश्वास त्यहा बसेनन्। आस्थाको मायाले फर्की आफ्नै देश आए। खसमको आगमनले आस्था धेरै खुसी भइन्।
विश्वास र आस्थाको देशमा सन्तवीर, बलवीर र तसवीर नामका तीन बृद्ध बाहरुले पालै पालो राजकाज गर्दै आएका थिए। विश्वास र आस्थाले पनि शुरुका दिनमा यी बाहरुलाई निकै साथ सहयोग गर्दै आएका हुन्।
पछिल्ला दिनहरुमा मन्दिरका मूर्ती हराउने, उद्याेगमा ताला लाग्ने, सार्वजनिक जग्गै हराउने, “मानिस बेच्ने धन्दा” फष्टाउने, आफू भने लटरम्मै सुन लगाउने।आफ्नाहरुलाई सून ओसार्ने धन्दा गर्न लगाउने भएपछि आस्थाले भनिन्, ” म यिनीहरुसँग आस्थावान छैन। “विश्वासले भने, ” म पनि यी बुढाहरुलाई विश्वास गर्दिन। ”
आस्था र विश्वासले यी बुढाहरुलाई सधैकोलागि छोडेर गए।
यसपछिका दिनमा अनेक निउ बनाएर बुढा बाहरु आस्था र विश्वासलाई फर्काउन कोसिस गरिरहेका छन्। तर आस्था र विश्वासकाे मन मरेको छ। फर्किने छाँटकाँट छैन। आस्थालाई मात्रै भएपनि फर्काउन सकिन्छ कि भन्ने ठूलो प्रयत्न भएको छ। तर विश्वास नभए आस्था कसरी एक्लै टिक्थिन् र?
No ads found for this position


Facebook Comment