अनिल र भीमको शतकीय पारीमा नेपालको शानदार जित

डिसी नेपाल
२९ माघ २०८० १६:०४
68
Shares

काठमाडौं। क्यानडाविरुद्धको तीन खेलको ओडीआई सिरिज नेपालले क्लीनस्वीप गरेको छ। सोमबार भएको अन्तिम खेलमा क्यानडालाई ९ विकेटले हराउँदै तीन वटै खेलमा जित हासिल गरेको हो।

क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो। नेपालका लागि अनिल शाह र भीम शार्की दुवैले शतकीय पारी खेले। अनिलले १२४ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाए। उनी अघिल्लो खेलमा १९ बलमा अर्धशतक प्रहार गर्दै नेपाललका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धसतक बनाउने खेलाडी बनेका थिए। यस्तै भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १०१ रन बनाए।

४५ रन बनाउँदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालका लागि अनिल र भीमले कीर्तिमानी साझेदारी गरे। उनीहरुले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरे। कुशल १३ रनमा आउट भए। क्यानडाका दिल्लोन हेलिगरले एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ५० रन बनाए भने निखिल दत्ताले ४५ रन बनाए। त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाए।

नेपाली बलर हेमन्त धामीले आफ्नो डेब्यू खेलमा ३ विकेट लिए। त्यस्तै कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले एक एक विकेट लिए।

नेपालले क्यानडालाई पहिलो खेलमा ७ रन तथा दोस्रो खेलमा ४ विकेटले हराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *