खुम्जुङ युवा क्लबले हात पार्‍याे ‘खुम्बु ल्होसार कप’ १४ औँ संस्करणको उपाधि

डिसी नेपाल
८ फागुन २०८० ७:४७
48
Shares

काठमाडौं। काठमाडौको सानो गौचरण खेल मैदानमा आज सम्पन्न भएको ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको फाइनल खेलमा महेन्द्र ज्योति भूपू विद्यार्थी मंचलाई २-० ले पराजित गर्दै खुम्जुङ युवा क्लबले उपाधि हात पारेको छ। त्यस्तै महेन्द्र ज्योति भूपू विद्यार्थी मंच प्रतियोगिताको उपविजेता टिम भएको छ भने खुम्बु यम्बु शेर्पा समाजले तेस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा बेस्ट स्ट्राइकर खुम्जुङ युवा क्लबका फुरा छिरिङ शेर्पा, बेस्ट मिडफिल्डर खुम्बु यम्बु शेर्पा समाजका मिङ्मा तामाङ, बेस्ट डिफेन्डर खुम्जुङ युवा क्लबका लाक्पा रिता शेर्पा, बेस्ट गोलकिपर खुम्जुङ युवा क्लबका फुर्वा गेल्जेन शेर्पा, बेस्ट प्लेयर महेन्द्र ज्योति भूपू विद्यार्थी मंचका निग्मा तेम्बा शेर्पा, इमर्जिङ प्लेयर डमीछोवा फुटबल टिमका छिरिङ रिता शेर्पा र सबैभन्दा बढि गोल गर्ने खेलाडी ठमिछोवा फुटबल टिमका केसाङ छिरिङ शेर्पा भएका छन्।

विजेता टिम खुम्जुङ युवा क्लबले रनिङ सिल्ड, मेडल, प्रमाण-पत्रको साथमा नगद एक लाख रुपियाँ, उपविजेता टिम महेन्द्र ज्योति भूपू विद्यार्थी मंचले मेडल र प्रमाण-पत्रको साथमा नगद पचास हजार रुपैयाँ र तेस्रो हुने टिम खुम्बु यम्बु शेर्पा समाजले नगद पुरस्कार रु पञ्चीस हजारको साथमा मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ। माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता आज फाल्गुण ७ गते सम्पन्न भएको छ।

८ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जम्मा १६ खेल संचालन भएका थिए भने ८ टिमले सहभागीता जनाएका थिए। प्रतियोगितामा ठमिछोवा फुटबल टिम, नाम्चे युवा समूह, खुम्जुङ युवा क्लब, आमाडब्लम युवा क्लब, खुन्दे कम्युनिटी क्लब, महेन्द्र ज्योति भूपू विद्यार्थी मंच, खुम्बु यम्बु शेर्पा समाज र खुम्बु भेटेरेन्स क्लब सहभागी थिए।

शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ वर्षदेखि आयोजना हुँदै आएको हो। सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच यो प्रतियोगीता हुने गर्दछ। शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई एकआपसमा जोड्ने उद्देश्य खेलको आयोजना गरिएको आयोजकले बताएको छ।

‘खुम्बु ल्होसार कप’ प्रतियोगिताको यो १४ औँ संस्करणको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन्। सन् २०१० मा कोशी प्रदेश सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रहेको खुम्बु पासाङल्हामु गा.पा. का विद्यार्थीहरुको छाता संगठन शेर्वी योदेन छोक्पाले शेर्पाहरुको महान पर्व ल्होसारको पवन अवसरमा खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता सुरुवात गरेको आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *