पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’
कास्की। गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ। सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौथो संस्करण पोखरा–१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ।
प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रोफेसनल गल्फ संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। प्रतियोगितामा ३५ ‘प्रोफेसनल’ र १५ ‘एमेच्योर’ गरी ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख ४० हजार पुरस्कार पाउनेछन्।
उपविजेताले रु ९६ हजार, तृतीय हुनेले रु ७२ हजार तथा चौथो र पाँचौ स्थान प्राप्त गर्नेले क्रमशः रु ५९ हजार र रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ भित्र पर्न सफल अन्य गल्फरले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको साविक विजेता शुक्रबहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले यसपटक सहभागी नहुने महासचिव आचार्यले बताए। गत महिना धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर राई भारतीय गल्फ टुरमा सहभागी हुन भारत गएका छन्।
प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने र ५४ होलको हुने बताइएको छ। महासचिव आचार्यका अनुसार ३६ होलको समाप्तिमा कट लागू हुनेछ। जहाँ २१ शीर्ष व्यावसायिक खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन्। एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्ने मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने संघले जनाएको छ।
सूर्य नेपाल गल्फ टुुर २०२३÷२४ अन्तर्गत कूल आठ आठ प्रतियोगिता सञ्चालन हुनेछन् । काठमाडौं बाहिर हुने दुई प्रतियोगितामध्ये एउटा पोखरामा हुन लागेको हो। सबै प्रतियोगितामा गरी रु ६५ लाख नगद पुरस्कार रहेको छ। गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्टले गल्फ खेल धनीले मात्र खेल्ने खेल नभई इच्छाशक्ति हुने हुँदा सबैले खेल्न सक्ने बताए। उनले प्रतियोगिताले पोखराको प्रवद्र्धनसहित खेल पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment