इराकविरुद्ध नेपालको शानदार जित, साम्बा एक्लैले गरिन् पाँच गोल
काठमाडौं। नेपालली महिला फुटबल टिमले इराकविरुद्ध शानदार जित हासिल गरेको छ। साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५–० गोल अन्तरले पराजित गरेको हो।
जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न खेलमा नेपालका लागि सबै पाँच गोल सावित्रा भण्डारी (साम्बा) ले गरिन्। योसँगै प्रतियोगितामा कुल ६ गोल गर्दै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी शिर्ष स्थानमा पुगेकी छन्।
पहिलो हाफमा चार गोल गरेकी भण्डारीले दोस्रो हाफको ८०औ मिनेटमा पाँचौं गोल गरेकी थिइन्। यसअघि पहिलो हाफमा सावित्राले खेलको १४औं मिनेटमा पहिलो १५औं मिनेटमा दोस्रो, ३७औं मिनेटमा तेस्रो तथा ४४औं मिनेटमा चौथो गोल गरेकी थिइन्।
यो नेपालको वाफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हो। यसअघि नेपालले पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरको पराजित गरेको थियो । समुह बी मा २ खेलमा ६ अंक हासिल गरेको नेपालले सेमिफाइनलमा आफ्नो स्थान लगभग सुनिश्चित गरेको छ।
यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन्। नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन्।
नेपालले समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment