कविता : ठम्याउनु पर्छ

गीता बजगाईं अधिकारी
३ चैत २०८० ७:०९
76
Shares

आकांक्षाहरू झाँगिरहन्छन्
रहरहरू उम्लिएपछि
सपनाहरूले
डोरी बाँट्छन्
बाध्यताले अँचेटेपछि
मन बरालिनु
अस्वभाविक होइन
समस्याहरू थुप्रिएपछि
बरालिने मनले नै त हो
सपनाको सुन्दर
डोरी बाट्ने
सपनाको डोरी समातेर
आकाशिएको मनले
भुँईमा झर्न कहाँ मान्छ र ?
सपनालाई जित्न
ऊ आकाशिरहन्छ
हाँस्ने
र बाँच्ने घर खोज्नका निम्ति
कहाँ हो गन्तवय पत्तो हुँदैन
डोरी बाटेपछि कतिमा
गाँठो पार्न जन्नु पर्थ्यो
तर चटक्कै भुल्दछ
म कहाँ थिए ?
कता जाँदै छु ?
पत्तो नपाइकन
नठम्याई कन
र दुईचार मिनेट
आफ्नो लागि नसोचीकन
केवल
सपनालाई जित्नका लागि
भागदौड गरिरहेको
मन
विपनामा छाया परेर
कुरूप बन्न सक्छ
सपनाको भोकले
छचल्किएका नयनहरू
र उत्साहित भएका वदनहरूले
कहाँ समथर मात्रै भेट्छन् र !
मलाई बिर्संदै
ऊ खोज्न हिँडेपछि
सपनाको सुन्दर डोरी
गव्तव्यमा नपुग्दै चुँडिन्छ
बल्ल उसले विपना देख्छ
सपनालाई जित्न खोज्दा
विपनामा हार्न पुग्छ
समय
वा काल
र परिस्थितिलाई
ठम्याउन नसकेपछि
हाँस्ने
र नाच्नेठाउँ खोज्न बाटिएको
सपनाको डोरी कुहिएर
विपनाको मजेरीमा पछारिन्छ
अनि ईश्वरलाई जित्न आतुर मन
मान्छैसँगै हार्छ
गन्तव्य जित्न कुदेको मन
उकालासँग हारेर
बिचैबाट ओरालो लाग्छ
ओरालामा बत्तिन खोज्दा
ठेस लागेर पल्टिन्छ
हो
ठम्याइको अभावमा
मान्छेले
आफ्नै घरसँग हार्छ
हजारौँ ऐठनहरूले
घिच्रो निमोठ्छ
तसर्थ
जोसमा
होस् नगुमाई
उँडिहिँड्ने मनलाई
नियन्त्रित गरी
सपना देख्नु
वास्तविक ठम्याई हो
भनिन्छ नि
कानले सुनेका सबै चिज
सत्य नहुन सक्छन्
बाहिरी ॲाखाले देखेका रम्झम
मिथ्या बन्न सक्छन्
हातले छोएका
बस्तु फुत्त फुत्किन सक्छन्
साना लागेका खोलाले पनि त
बगाउन सक्छ
झिल्को सल्किएर
संसार डढाउन सक्छ
जिन्दगीका सफरहरूमा
उल्झनहरू आउँछन्
घामलाई बादलले छेकेजस्तै
वादललाई हावाले उडाएजस्तै
हावालाई पहाडले रोकेजस्तै
यस्तै यस्तै
हुन्छ
संघर्षको मैदान

तिमी
र ऊ सबैलाई
यस्तै हुन्छ
जीवनमा
सर्वाधिक सहजता
कसलाई
कसरी कहाँ
मिल्छ र !
केवल
स्थिर
र गम्भीरताको आडमा
विपनालाई घमाइलो बनाउन
निरन्तर ठम्याएर अघि बढ्नु पर्छ
ठम्याएर उकालो चढ्न सक्नु
जीवन जिउने आधार हो
यसैले टाकुरा चुम्ने लक्ष्य
पूरा गर्छ
बस् ठम्याऊँ
सम्याऊँ
र अगाडि बढौं!!
धन्यवाद

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *