स्वार्थै स्वार्थको बीचमा निस्वार्थता खोज्नु नै जीवन हो

कृष्ण बोहरा
२ कार्तिक २०८१ ८:२७
112
Shares

मानिस जन्मदै स्वार्थी हुन्छ। जन्मिँदै बाच्नको लागि संघर्ष गर्ने सीप प्रकृतिबाटै प्राप्त गरेको हुन्छ। यसैले उ आमाले दुध नदिएसम्म रुन्छ। बाँच्नका लागि, जिबीकोपार्जनका लागि पनि मानिससँग स्वार्थ त हुन्छ नै। यही जीविकोपार्जनका लागि मानिस ठूलो हुँदै जाँदा अनेक दुःख र मेहनत पनि गर्दछ।

जिविकोपार्जजनको लागि र बाँच्नको लागि गरिने यस्तो किसिमको स्वार्थ स्वभाविक र सकारात्मक छ। यस्तो स्वार्थलाई हामी सकारात्मक स्वार्थको रुपमा नामाकरण गर्न सक्दछौं।

मानिसले अरुलाई दुःख दिएर अरुको मेहनतको कमाई खोसेर पनि आफ्नो जीबिकोपार्जन गरिरहेको पाइन्छ। जीबिकोपार्जन मात्र हैन मस्तिको जीवन जीउन र धन थुपार्ने उद्देश्यका साथ जसले अरुलाई प्रयोग गरिरहेको हुन्छ, त्यो चाहिँ स्वार्थको नकारात्मक रुप हो। वास्तबमा स्वार्थी भनेर यस्तो चरित्रलाई इंगित गरिएको हो।

मानिसहरु स्वार्थ भन्ने बित्तिकै नकारात्मक स्वार्थ मात्र बुझ्दछन्। किनकि प्रत्येकका स्वार्थले अरुको स्वार्थमा अतिक्रमण गर्न खोज्ने जुन प्रबृत्ति छ त्यसले मानिसलाई झस्काइरहन्छ। अरुले आफ्नो स्वार्थमा बाधा पार्छ कि भन्ने त्रास सबैलाई हुन्छ।

आफ्नो स्वार्थले अरुलाई बाधा पर्छ कि भन्ने चाहिँ वास्तवमा प्रत्येक मानिसले होसियारी हुनुपर्ने हो। त्यो कमै मानिसलाई मात्र हुने गर्दछ। यसैले दुःखको कारण नै यही बन्दै आएको छ।

जो अरुको स्वार्थकोलागि दुःखी गरिब र बोल्न नसक्नेहरुको आवाज बन्दै आफू दिन रात लागिरहेका हुन्छन, तिनीहरु नै संसारमा माहापूरुष कहलिन्छन। माहात्म बुद्ध एउटा उदाहरण हुन। माक्र्स पनि यस्तै एउटा माहापूरुष हुन्।

आजकल तलदेखि माथिसम्म स्वार्थका छासमिसे रुप जताततै देख्न सकिन्छ। स्वार्थका नकारात्मक रुप पाइलै पिच्छे भेटिन्छन्। यसले हामीलाई निकै जटिल अवस्था श्रृजना गरेको छ। कुन चाहिँ सकारात्मक हो कुन चाहिँ नकारात्मक? छुटयाउन गाह्रो छ।

नकारात्मक स्वार्थहरुको बाहुल्यता बढेकाले स्वार्थहरुको बीचमा निस्वार्थताको अंश खोज्दै हिँड्नुपरेको छ। सबैले भन्ने गर्दछन्, निस्वार्थ हुनुपर्छ तर जताततै स्वार्थै स्वार्थ छ। तैपनि मानिसहरु सबैले निस्वार्थता खोजिरहेकै हुन्छन्। यसैले स्वार्थहरुको बीचमा निस्वार्थता खोज्नु नै जीवन हो।

स्वार्थ अनेक रुपले अभिब्यक्त हुन्छन्। यसमा जबरजस्ती हुन्छ। लुट नीति हुन्छ। कुट नीति हुन्छ। कडापन हुन्छ। नरमपना हुन्छ। सामिप्यता हुन्छ। चिप्लोपना हुन्छ। खस्रोपना हुन्छ। आँसु पनि झर्छ। हासो पनि देखिन्छ। स्वार्थहरु आपसमा टक्राउँछन् र युद्ध गर्दछन्, मेलमिलाप पनि गर्छन्।

शान्ति चाहेको जस्तो पनि गर्छन्। स्वार्थकै कारण कहिले मानिसको उद्धार र कल्याणकारी काम पनि हुन्छ। स्वार्थकै कारण मानव बेचबिखन पनि हुन्छ। कहिले हत्या जस्ता जघन्य घटना पनि हुन जान्छ। स्वार्थ भित्र अनेकौं चिज हुन्छन्। यति धेरै क्रिया प्रतिक्रिया हुन्छन् कि यो गनिसाध्य छैन। यसैले मानवीय भावना मात्र भएका सर्बसाधारण सधैं अलमलिन्छन् र ठगिन्छन् मात्रै।

नकारात्मक स्वार्थका अरु पनि अनेक रुप छन्। यसको मूख्य उद्देश्य धन सम्पत्ति प्राप्त गर्नु र मोजमस्ती लुट्नु हो। चोर डाकू आदि मध्य कसैले अरुको घरमा प्रवेश गरी सुटुक्क थाहा नपाउने गरी धन सम्पत्ति लिएर जान्छन् भने कसैले जवरजस्ती गर्छन् र हाकाहाँकी लिएर जान्छन्।

मोजमस्तीका लागि स्वार्थ पूर्ती गर्नेहरु पनि हाम्रो समाजमा आजकल बाक्लै भेटिन थाल्यो। यसमध्य निर्मला पन्तको बलात्कार एक जघन्य अपराध थियो। जसमा बालिकाको हत्या समेत गरियो।

यसैले मानिसका नकारात्मक स्वार्थहरुलाई नियन्त्रण गर्न बिश्वमा महापुरुषहरुको पनि जन्म हुँदै आएकोछ। यसमध्य बुद्ध दरवारमा जन्मेका यश आराममा हुर्केका एक राजाका छोरा राजकुमार थिए। उनले आफू ठूलो हुँदै जाँदा जीवनका अनेक रुप देखे।

उनले दुःखी गरिव, बृद्ध र मृत्युको नजिक पुगेका मानिसहरु देखे। मृत्युलाई पनि देखे। त्यस समयमा उनका मावलीका हजुरबुवा ठूला भूमिपति थिए। हजार हल गोरुले उनको खेत जोत्ने काम हुन्थ्यो। उनका बुवा राजा शुद्धोधनको ससुरालीसँग केही कुरामा द्वेस थियो।

राजकुमार सिद्धार्थ गौतमलाई जीन्दगीसँग यस्तै अनेक कुराले बिरक्त लागेर आयो। यसैले उनले भर्खर जन्मेको छोरा र श्रीमती छोडेर दरवार त्यागी ज्ञानको खोजीमा हिँडे।

दरवारको सुखसयल सदाका लागि त्यागी दिए। ज्ञानको खोजी मार्ग जारी राखे। संसारमा मानव मात्रको दुःखको कारण पत्ता लगाउनु उनको मुख्य उद्देश्य थियो। आखिर यो ज्ञानको मार्ग उनले पत्ता लगाई छोडे। सारांसमा उनले दिएका ज्ञानलाई हामीले यसरी बुझ्नुपर्छ :

“संसारमा दुःख छ। दुःखको कारण छ। दुःख निवारण गर्न सकिन्छ। दुःखलाई निवारण गर्ने उपाय भनेको इच्छा र आशक्तिलाई मार्नु हो।”

यस्ता महाज्ञानी बुद्धले जीवनमा ज्यादा दुःख पाए। ज्ञानको खोजीको क्रममा पनि उनले हण्डर खाए। ज्ञान प्रचारको समयमा पनि उनले असाध्यै धेरै दुःख पाए। त्यस समयमा आज जस्तो बुद्धका अनुयायीहरु संसारभर थिएनन्।

यो ज्ञान सीमित मानिसमा पुर्‍याउन पनि हम्मे हम्मे परेको थियो। यसैले हामीले के बुझ्नुपर्छ भने सत्य आखिर सत्य नै हो। सुरुमा यसलाई मान्ने मानिस कमै हुन्छन्। सत्य स्थापित हुन समय लाग्छ। अन्तिममा यो सबैको मन मनमा पुजिने खजना बन्दछ।

यस्तै कार्लमाक्स पनि जर्मनीमा जन्मेका र हुर्केका मध्यम बर्गीय परिवारको एक बिद्वान थिए। दर्शनमा उनको बिशेष रुची थियो। हेगेलको द्वन्द्ववाद र फायरबखको भौतिकावादले उनलाई निकै प्रभाव पारेको थियो। यसैलाई बिकसित गर्दै उनले पूँजीपत्ती र मजदुर बर्ग बीचको द्वन्द्वको बिश्लेषण गरे।

यसबाट उनले अतिरिक्त मूल्यको सिद्धान्त लेखे। मजदुरहरुले दुःख पाउनुको मुख्य कारण नै यही अतिरिक्त पूँजी हो भन्ने पत्ता लगाए। जुन मजदुरको मेहनत पसिनाको कमाई पूजिपतिले अतिरिक्त पुँजीको रुपमा शोषण गरिरहेको हुन्छ।

उनले मजदुरहरुलाई सचेत र संगठित गराउने प्रयास गरे। समय क्रममा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन संसारलाई दिए। आज संसार नै पूँजीवादी र समाजवादी आन्दोलनका दुई ध्रुवमा बाँडिएको छ। संसार हल्लाउन सक्ने यस्ता मानिसको घरको आर्थिक अवस्था भने नाजुक थियो।

सन १८५० को नोवेम्बरमा उनको एक छोराको मृत्यू भयो। छोराको मृत्युको पीडा सहन गर्ने तागत जुटाउँदै गएका माक्र्सको एक बर्षकी छोरी फ्रान्सिस्काको पनि १८५२ मा मृत्यु भयो। मृत्युमा कात्रो किन्ने सम्म पैसा थिएन। उनका छिमेकीले यसको व्यबस्था गरेका थिए।

दुःखी गरिवहरुको दुःखको कारण पत्ता लगाउने क्रममा नै उनले जीवनको सारा समय खर्चेकाले उनको आर्थिक अवस्था नाजुक हालतमा पुगेको थियो। सत्य स्थापित हुन्छ तर स्थापित हुन समय लाग्छ। यो ध्रुव सत्य नियम हो। यसकोलागि दुःख र मेहनत गर्न कोही न कोही त तयार हुनै पर्दछ।

अहिले पनि संसारमा कार्लमाक्र्सले भनेका कुरा उनका अनुयीहरुले ठिकसँग बुझेका छैनन्। उनको सिद्धान्तको सार तत्व भनेकै “श्रम सम्पत्ति र सत्ताको सन्तुलन” हो।

यही सार तत्व नबुझ्दा हिजोका क्रान्तिकारी नेता सत्तामा पुगेर जनताका स्वार्थ, दुःखी गरिवका स्वार्थ त्यागेर आफ्नो निजी स्वार्थमा चल्न थालिसक्दा पनि उनका कार्याकर्ताले थाहा पाउँदैनन् र त्यसैलाई पुजिरहन्छन्।

भनाइमा कम्युनिष्ट शब्द र माक्र्सको नाम लिन भने छोडेका हुँदैनन्। वास्तवमा श्रम सम्पत्ति र सत्ताको सन्तुलन भएमा कुनै पनि सत्ताको दीर्घायू हुन्छ। यो एउटा बिज्ञान सम्वत चल्ने कुरा हो।

बुद्ध र माक्र्सका सिद्धान्तको तादम्यता भनेको मानिसहरुको दुःखको अन्त्य गर्नुनै हो। बुद्धले दुःख निवारणको उपायको रुपमा इच्छालाई मार्नु भनेका छन्। यसको आसय पनि आवश्यकता भन्दा बढी र असीमित धन कमाउने इच्छालाई इंगित गरिएको हो।

काम, क्रोध, मोह सबैलाई त्याग्नु भनिएको छ। यसको आशय यही नै हो। माक्र्सले काम गरी खाने मानिसहरुको भलाइका लागि आफ्नो सारा जीवन खर्चे। सिद्धान्तहरु लेखे। मानिसहरुको दुःखका कारण काम गरि खाने र अरुको शोषण गरि खाने दुई बर्गमा मानिस बाँडिनु नै हो।

शोषण प्रधान व्यबस्थाको अन्त्य गरेपछि संसारमा सबै मानिसहरु सुखी हुन्छन् भन्ने नै हो। माक्र्सको सिद्धान्तहरुको सार यो हो कि काम गर्ने श्रमिकको श्रम, उनीहरुको जीबिकाको लागि चाहिने सम्पत्ति र यी दुबैको संरक्षण गर्ने सत्तामा सन्तुलन हुनुपर्छ भन्ने हो।

श्रम सम्पत्ति र सत्ताको सन्तुलन यसको सार हो। यस्तो भयो भने कोही दुःखी हुनुपर्दैन भन्ने हो। यसैले माक्र्स र बुद्धका सार कुरामा आपसमा एकाम्यता छ। यी दुई ब्यक्ति संसारमा मानिस मात्रको नकारात्मक स्वार्थको खिलाफमा जन्मिएका ठूला माहापुरुषहरु हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *