बेल्जियमस्थित नेपाली दूतावासमा मनाइयो विश्व ध्यान दिवस
ब्रसेल्स। दोश्रो विश्व ध्यान दिवसको अवसर नेपाली दूतावास बेल्जियमले सामूहिक ध्यान कार्यक्रम आयोजना गरेको छ ।
बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित कार्यक्रममा बेल्जियमका नेपाली राजदूत सेवा लम्साल, दूतावासका अधिकारीहरु एवं नेपाली समुदायका साधकहरुको उपस्थिति रहेको थियो।
विश्व शान्ति सद्भावना वृद्धिको कामना सहित सुरु भएको कार्यक्रममा राजदूत लम्सालले सहभागी ध्यान साधकहरुलाई विश्व ध्यान दिवसको बारेमा प्रकाश पार्दै स्वागत गरिन् । उनले योग ध्यानका माध्यमले मानसिक शान्ति प्राप्त भएमा हरेक समाज र देश शान्त र समुन्नत हुन सक्ने बताइन् ।

भगवान बुद्ध, आदि योगी शिव, महर्षि जनकको तपस्थल देवभूमि नेपालले ध्यानको उपहार विश्वलाई दिएर रोग, भोक र युद्धको अन्त्य गर्नका लागि प्रयास गरिरहेकोछ। ‘वसुधैव कुटुम्वकम् ‘ को भावना सहित नेपालले आध्यात्मिक कूटनीति मार्फत संसारभरि सद्भाव र सौहार्दता कायम गराउन विश्व ध्यान दिवस मनाइरहेकोछ,’ राजदूत लम्सालले भनिन् ।
कार्यक्रममा योग ध्यान प्रशिक्षक ओम शर्माले प्रविधिको पासोमा परेको आजको मानिसलाई ध्यानले मात्र स्वतन्त्र बनाउन सक्ने बताए। स्वतन्त्र चेत भएको मानिसले मात्र सहि र गलत छुट्ट्याएर निष्पक्ष र न्यायपूर्ण समाज बनाउन सक्छ भन्दै ध्यानको महत्वको वर्णन सहित शर्माले ध्यानको अभ्यास गराएका थिए ।

त्यस्तै जीवन विज्ञानकी प्रशिक्षक सविता दाहालले स्वस्थ शरीर र मनका लागि ध्यानको आवश्यकताको जानकारी सहित सूक्ष्म व्यायाम सहित प्राणायाम ध्यान गराएकी थिइन् ।
सामूहिक उर्जा आदान-प्रदान गर्दै,राजदूत लम्साल, दूतावास परिवार र सहभागीहरुले एकआपसमा आभार र अहोभाव प्रकट गरि कार्यक्रम सम्पन्न भएको थियो।







डिसी नेपाल








Facebook Comment