लघुकथा : अठोट
चर्को घाममा लाइन बसेका छन्।
सबै अनुशासित देखिएका छन्। सबैका अनुहार उज्याला छन्। भिड, भित्रभित्रै सुशीला कार्कीलाई धन्यवाद दिन पछि परेन। मुलुक अभिभावक विहिन हुँदा देशको बागडोर सम्हालेकी साहसी महिला नेत्री, उनको गर्वले नाम लिएका छन्।
पसिना पुछ्दै पहिलीले भनी, “घामले पोलेको छ तर अत्यास लागेको छैन, छुट्टै ऊर्जा छ है।” उसले हँसिलो मुहार बनाउँदै भनी।
दोस्रीले सही थापी र हल्का मुस्कुराउँदै, ” नेपालको इतिहासमा प्रथम महिला प्रधानमन्त्री कार्कीको सुवर्ण अक्षरमा नाम लेखिनेछ। महिलाको नेतृत्व, कसैले साथ दिओस् नदिओस् र पनि अनेक आरोप प्रत्यारोप चिर्दै निर्वाचन सफल बनाईन्।” उसले ऊर्जा भरिएको स्वरले बोली।
तेस्रीले, “साथ सहयोग त सबैको रह्यो होला रत निराशालाई आशामा बदलिन सफल भइन्।” उसले समर्थन जनाई।
पहिलीले नजर घुमाउँदै, “फरक पार्टीका फरक व्यक्ति स्वयमसेवक बनी खटेका छन्। आफ्नो पार्टीको अनुहार देखेसीको उत्साह हेरन कस्तो विचित्र ?” उसले नाक खुम्च्याउँदै बोली।
दोस्रीले, “प्रतिस्पर्धा हो हारजितको कुरा छ, मैदानमा उत्रिएसी जित्ने चाह हुँनु स्वभाविक पनि हो।” उसले यथार्थता बताई।
तेस्रीले, “परम्परागत शैली, कैयौं पटक मत दिइयो। खोई के भयो, कसले जितेर के हुँने हो ? सर्वहाराको समस्या अहिलेसम्म कसले बुझ्यो र अबकाले बुझ्छन्। जनताले मत दिउन्जेल हो, त्यसपछि बाँदरको पुच्छर लौरो न हतियार झैत रहेछ।” उसले विगत सम्झँदै असन्तुष्टि जनाई।
पहिलीले सोचेर बोली, “बलिदान खेर जान नदिन अवस्थाको होइन व्यवस्था परिवर्तन लागि सतिसाल झै अडिग रही सत्य र निष्ठाको जगमा चट्टान झै कठोर भई उभिएकी कार्की भन्ने किन नबुझेका हँ ?” उसले आशावादी स्वरमा भनी।
लघुकथा : समय
ऊ र ममा रस्साकस्सी चल्यो। ऊ चर्को आवाज गर्छ।
ऊ भन्छ, ” पावर ठुलो।”
म भन्छु, ” समय !”
ऊ होच्याउँछ, “काचा कलिला नबुझी धेरै जान्ने हुने।”
फेरि चिच्याएर आवाज दबाउँन खोज्छ अनि औँला नचाउँदै बोल्छ, ” चुप केवल चुप।”
म शान्त मनले सोच्छु, “हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे कतिखेर फुट्छ, थाहा छैन ?”
मेरो मौनता उसलाई खपिनसक्नु हुन्छ, जुरुक्क उठेर आगो हुँदै बोल्छ, ” निरीह केवल निरीह !”
ऊ, ” पैसाको राजनीति गर्छ।”
म, ” विवेकको।”
ऊ कुरा मोड्छ र भन्छ, ” म ठुलो, हैकमवादी,शासक हुँ, बुझिस्।”
म हल्का मुस्कानले, “मौनता साँध्छु। ”
ऊ अनेक प्रसङ्ग जोड्छ, आफूलाई महान सावित गर्न पछि पर्दैन। ऊ भन्छ, “खान्दान खान्दान, सत्ता सत्ता !”
उसको अनुहार पुलुक्क हेर्छु अहंकरले भरिएको र सोच्छु, “खोई मनन गरेको, मान्छेको सबैभन्दा ठुलो शत्रु रोग हो, कतिखेर आउँछ थाहा छैन तर जतिखेर आउँछ तहसनहस पार्छ।”
ऊ, “जित जित केवल मेरो, सधैं मेरो हुनुपर्छ, आवाज बुलन्द पार्छ।”
म चकित हुँदै पुन: दोहोर्याउँदै औंल्याउँछु, ” समयले परिवर्तन चाहन्छ, नत रोकेर रोकिन्छ न छोकेर, ऊ बलवान् छ।”















Facebook Comment