कविता : आमा
अनवरत संघर्ष गर्दै
खोकिलामा बच्चा च्यापी
पहाड उक्लि रहेकी छन् आमा
मजेत्रोले पसिना पुछी
चौतारीमा सुस्केरा हाल्दै
जीवनको हिसाव किताव गर्छिन् आमा
कयैन् पटक मरेर
बाँची रहेको दुःखिया जीवन
किन प्रिय ठान्छिन् आमा?
सासूले माया नदिएकी
बुहार्तनले पेलिएकी
नन्द आमाजू द्वारा अपहेलित
चुलो चौकोमै बँधेरिएकी
पीडाका आँसु बगाउँदै
पटुकीको छेउले आँसु पुछि
भावीलाई सरापेर
जीवनको परीक्षामा सामेल छिन् आमा।
विद्रोहका ज्वारभाटा उठ्छन् मनमा
उद्वेलित हुन्छन् भावना
दमित छन् आकांक्षा
अवरुद्ध छन् बाटा
मनको बह कसलाई पोख्ने?
निस्सार हाँस्न विवश छिन् आमा।
साउँ अक्षर छिचोल्नै नपाई
पाठशालाबाट निकालिएकी
साहुको भारी खेपेर
अक्कर उक्लदै ओर्लंदै
खकन र तोक्माको सहाराले
जीवनलाई टेको लाउँदै छिन् आमा।
फाटेको गुन्यूण्ले
जसोतसो लाज ढाकी
घाँस सँगै काटिरहेकी छन् सपना
एक ढाकर रहरहरु विसाएर
जीवनको उर्वर समय
सुसे धन्दामा बिते पछि
सासू ससुराको कर्कश गाली पचाउँदै
भद्रता प्रकट गर्छिन् आमा।
अशान्त मन बोकेर
कति दिन बाँच्ने?
अत्याचार सहेर
कति दिन हाँस्ने?
जीवनको परिभाषा खोज्दै
लामो यात्रामा निस्किएकी हुन् आमा।
सुन्दरहरैंचा -०६, दुलारी, मोरङ
No ads found for this position




Facebook Comment