पोर्चुगलमा सेफ टंक सापकोटाको ‘नेपालसम्मको यात्रा’ अभियान: नेपाली खाना र संस्कृति मार्फत पर्यटन प्रवर्द्धन र परोपकार

भरत प्रधान
१ जेठ २०८३ ९:५६

लिस्बन (पोर्चुगल)। पोर्चुगलमा स्थापित चर्चित नेपाली सेफ टंक सापकोटाले आफ्नो पोर्चुगल बसाइको ३० वर्ष पूरा भएको अवसरमा एक विशेष राष्ट्रिय प्रवर्द्धन अभियान सुरु गरेका छन्।

राजधानी लिस्बनमा सञ्चालित उनको नेपाली रेस्टुरेन्ट ‘काजा नेप्लिजा’ (नेपाली भान्सा घर) मार्फत ‘नेपालसम्मको यात्रा’ नामक अभियान सुरु गरिएको हो। यस अभियानको मुख्य उद्देश्य नेपाली खाना, मौलिक संस्कृति र नेपालको प्राकृतिक सुन्दरतालाई पोर्चुगिज समुदायमाझ पुर्‍याएर पर्यटन प्रवर्द्धन गर्नुका साथै असहाय बालबालिकालाई सहयोग गर्नु रहेको छ।

अभियान अन्तर्गत आयोजित ‘परोपकारी रात्रिभोज कार्यक्रम’ (च्यारिटी डिनर) मा सहभागीहरूले नेपाली स्वादका साथै सांस्कृतिक अनुभव समेत बटुल्न पाएका छन्।

वार्षिक रूपमा सञ्चालन हुने यस कार्यक्रममा दालभात, गुन्द्रुक, मःम, र तामा-बोडी जस्ता मौलिक नेपाली परिकारहरू पस्किएका छन्, जसमा सापकोटाको जन्मभूमि बागलुङ र नेपालका विभिन्न स्थानबाट ल्याइएका सामग्रीको प्रयोग गरिएको छ। खानासँगै नेपाली कलाकारहरू दुर्गा थापा र अर्जुन सोनामले प्रस्तुत गरेको साङ्गीतिक एवं सांस्कृतिक प्रस्तुतिले सहभागीहरूलाई नेपालकै परिवेशमा पुगेको अनुभूति गराएको छ।

नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालित यस कार्यक्रममा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सापकोटाको प्रयासको प्रशंसा गरेका छन्। राजदूत पौडेलले यस्ता सामाजिक र सांस्कृतिक अभियानले पोर्चुगिज समुदायमा नेपालको सकारात्मक छवि निर्माण गर्न र पर्यटनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सेफ सापकोटाले आफूले तीन दशकअघि अवसरको खोजीमा पोर्चुगल आएको स्मरण गर्दै अहिले अन्तर्राष्ट्रिय मञ्चमा मातृभूमिको पहिचान झल्काउन पाउँदा गर्व महसुस भएको बताएका छन्।

सापकोटाका अनुसार यो अभियान एक वर्षसम्म प्रत्येक महिनाको पहिलो बुधबार सञ्चालन हुनेछ। कार्यक्रमबाट संकलन हुने सम्पूर्ण रकम नेपाल र पोर्चुगलका एसओएस बालग्रामलाई क्रमशः ५० र ५० प्रतिशतका दरले सहयोग स्वरूप प्रदान गरिनेछ।

सन् १९९६ मा पोर्चुगल पुग्नुभएका सापकोटाका हाल लिस्बनमा तीन इटालियन र एक नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन्। उनले यसअघि कोरोना महामारीका समयमा १० हजार न्यून आय भएका व्यक्तिहरूलाई निःशुल्क खाना खुवाएर सामाजिक सेवामा पनि उदाहरण पेश गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *