कविता : कसैलाई केही फरक पर्दैन

सुशील लामा
२५ जेठ २०८३ १२:२७

साथ र सम्बन्धलाई एकछिन थाती राखेँ,
मानवता र मन्दिरका देउताको कुरा बिर्सेँ।
अनि-
एक्लै, एकाग्र बसेर आफैंलाई
आफैंले एउटा प्रश्न सोधी हेरेँ-
यदि म नभए, कतिलाई के-के फरक पर्ला?

प्रश्न मुसुक्क हाँस्यो र
यत्ति मात्रै भन्यो-
“बुद्धु!
यो बीभत्स र क्रूर यथार्थको दैलो उघारेर हेर,
जहाँ परिवेशले ङिच्च दारिमे दाँत देखाएर हाँस्दै भनिरहेछ-
तेरा बा-आमाबाहेक अरू कसैलाई,
तँ भएकोमा वा नभएकोमा
केही फरक पर्दैन!”

छोराछोरी सम्झेँ-
छोराछोरीलाई मभन्दा बढी, उनीहरूको आफ्नै
सपनाहरू बटुल्न यहाँ भ्याइनभ्याइ छ।
उमेर ढल्किँदै गरेकी श्रीमती सम्झेँ-
उनलाई म होऊँ या नहोऊँ, जरुरी भएको बेला
आफ्नो गर्जो टारे भैगो!

हो रैछ!
सबै-सबै मनका भ्रम मात्र हुन्।
डेरावालको जस्तो अस्थायी यो युगमा,
तेरो-मेरो, तँ…तँ… र म…म… को
यो नलुकी खेलिने लुकामारी खेलमा,
के-के नै नाप्छु भन्दै लतारिरहेका छन्
मानिसहरू आफैँले आफैंलाई बिनासित्तीमा-
कसैको हुनुमा वा नहुनुमा।

अझै साबित गर्न बाँकी नै छ-
ममाथि यहाँ थुपारिएका अनेक लाञ्छनाहरू,
तर वास्तवमा, यहाँ कसैलाई केही फरक पर्दैन!

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *