कविता : कसैलाई केही फरक पर्दैन
साथ र सम्बन्धलाई एकछिन थाती राखेँ,
मानवता र मन्दिरका देउताको कुरा बिर्सेँ।
अनि-
एक्लै, एकाग्र बसेर आफैंलाई
आफैंले एउटा प्रश्न सोधी हेरेँ-
यदि म नभए, कतिलाई के-के फरक पर्ला?
प्रश्न मुसुक्क हाँस्यो र
यत्ति मात्रै भन्यो-
“बुद्धु!
यो बीभत्स र क्रूर यथार्थको दैलो उघारेर हेर,
जहाँ परिवेशले ङिच्च दारिमे दाँत देखाएर हाँस्दै भनिरहेछ-
तेरा बा-आमाबाहेक अरू कसैलाई,
तँ भएकोमा वा नभएकोमा
केही फरक पर्दैन!”
छोराछोरी सम्झेँ-
छोराछोरीलाई मभन्दा बढी, उनीहरूको आफ्नै
सपनाहरू बटुल्न यहाँ भ्याइनभ्याइ छ।
उमेर ढल्किँदै गरेकी श्रीमती सम्झेँ-
उनलाई म होऊँ या नहोऊँ, जरुरी भएको बेला
आफ्नो गर्जो टारे भैगो!
हो रैछ!
सबै-सबै मनका भ्रम मात्र हुन्।
डेरावालको जस्तो अस्थायी यो युगमा,
तेरो-मेरो, तँ…तँ… र म…म… को
यो नलुकी खेलिने लुकामारी खेलमा,
के-के नै नाप्छु भन्दै लतारिरहेका छन्
मानिसहरू आफैँले आफैंलाई बिनासित्तीमा-
कसैको हुनुमा वा नहुनुमा।
अझै साबित गर्न बाँकी नै छ-
ममाथि यहाँ थुपारिएका अनेक लाञ्छनाहरू,
तर वास्तवमा, यहाँ कसैलाई केही फरक पर्दैन!















Facebook Comment