लघुकथा: क्रान्ति नायक

प्रकाशचन्द्र खतिवडा
३० जेठ २०८३ ८:१५

“प्रणय, तिमी राजनीति नगर। व्यापार सुरु गर। म व्यापारमा सघाउँला। राजनीतिले दिन्छ नै के?” स्वस्तिकाले प्रणयलाई प्रश्न गरी।

“स्वस्तिका तिमी पनि राजनीतिबाटै माथि उठेकी हैनौ र? राजनीति नभए देश र समाजको नीति बन्न सक्दैन भन्ने कुरा तिमीलाई थाहा नभएको हो र? जानीजानी किन बुझ पचाउँछ्यौ?” प्रणयले स्वस्तिकालाई प्रतिप्रश्न गर्यो।

प्रणय र स्वस्तिकाको भेट मेची क्याम्पसमा अध्ययनको क्रममा भएको थियो। स्व.वि.यु.मा सँगै काम गर्दा उनीहरू नजिकिएका थिए। यो नजिक्याइ प्रेममा रूपान्तरित भएको थियो।

दुवै वाम राजनीति गर्थे। प्रगतिशील साहित्य पढ्ने र लेख्ने गर्थे। प्रणय स्व.वि.यु. सचिव थियो भने स्वस्तिका सहसचिव थिई। अन्तरजातीय यो जोडीले जातीय विभेदलाई चुनौती दिँदै सामाजिक रूपान्तरणमा एक फड्को अगाडि सारे।

रूढीवादी र पुरातन समाजमा उनीहरूको प्रेम विवाहले क्रान्ति नै ल्याएको थियो। निम्न-मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका प्रणय र स्वस्तिकाको प्रेम विवाह पारिवारिक रूपमा स्वीकार्य थिएन। आमाबा सामान्य साक्षर भए पनि क्रान्ति र परिवर्तनबारे अनभिज्ञ नै थिए।

पारिवारिक र सामाजिक सहयोग प्राप्त गर्न नसकेको यो जोडीले आफूलाई समाजमा स्थापित गराउन राजनीति नै गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो। प्रणय सामाजिक विभेद अन्त्यकै लागि राजनीति गरिरहेको थियो। स्वस्तिका परोक्ष रूपमा प्रणयलाई साथ दिइरहे पनि उसलाई राजनीतिप्रति वितृष्णा पैदा हुँदै गएको थियो।

ढोंगी समाजको आँखा खोल्न नसके उनीहरूको राजनीतिक अभियान निष्फल बन्ने पक्का थियो। प्रणयले स्वस्तिकालाई राजनीतिमा सक्रिय रहन उत्प्रेरित गर्यो।

स्वस्तिका व्यापारबाट पछि हट्ने कुरामा सहमत भई। के प्रणयले आफूलाई क्रान्ति नायक ठान्नु अनुचित होला र?

सुन्दरहरैँचा–०६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *