डिजिटल व्रत: मस्तिष्कलाई पुनर्जीवित गर्ने आधुनिक साधना
मानव सभ्यताको इतिहासमा प्रत्येक युगको आफ्नै चुनौती रहँदै आएको छ। कुनै समय मानिस प्रकृतिको प्रकोशसँग संघर्ष गर्थ्यो, कुनै समय रोग, भोक र युद्धसँग जुध्थ्यो। आजको युगमा मानिसले विज्ञान र प्रविधिको अभूतपूर्व उन्नति हासिल गरेको छ। संसार हातको हत्केलामा समेटिएको छ।
एक क्लिकमै हजारौँ पुस्तक, लाखौँ विचार र करोडौँ मानिससम्म पुग्न सकिन्छ। तर, यही सुविधाको महासागरमा एउटा अदृश्य संकट पनि जन्मिएको छ-सूचनाको अतिभार, निरन्तर डिजिटल संलग्नता र मानसिक थकान।
आज मानिस शारीरिक रूपमा कम थाक्छ, तर मानसिक रूपमा बढी थाक्छ। शरीर आरामको खोजीमा छैन, मन विश्रामको खोजीमा छ। आँखाहरू खुला छन्, तर चेतना निदाएको जस्तो छ। सूचना बढ्दै गएको छ, तर आत्मबोध घट्दै गएको छ।
यही सन्दर्भमा डिजिटल व्रत अर्थात् निश्चित समयका लागि डिजिटल उपकरणहरूबाट सचेत दूरी कायम गर्नु आधुनिक युगको एउटा आवश्यक साधना बनेर उभिएको छ।
पूर्वीय दर्शनमा व्रतको अर्थ भोजन त्याग गर्नु मात्र होइन। व्रतको वास्तविक अर्थ आत्मसंयम, आत्मनियन्त्रण र चित्तशुद्धि हो। उपनिषद्हरूले इन्द्रिय निग्रहलाई आत्मोन्नतिको आधार मानेका छन्। भगवद्गीतामा श्रीकृष्णले मनलाई नियन्त्रणमा राख्न नसके मानिस आफैँको शत्रु बन्ने कुरा बताउनुभएको छ।
योगदर्शनले चित्तवृत्तिको निरोधलाई योगको परिभाषा दिएको छ। यी सबै शिक्षाहरूको मूल सन्देश एउटै छ- मानिस बाहिरी वस्तुको दास होइन, आफ्नै चेतनाको स्वामी बन्नुपर्छ।
डिजिटल युगमा मोबाइल फोन, सामाजिक सञ्जाल, अनलाइन भिडियो र अनन्त सूचना प्रवाह नयाँ प्रकारका इन्द्रिय विषय बनेका छन्। मानिस बिहान उठ्नेबित्तिकै मोबाइल हेर्छ।
राति सुत्नुअघि पनि स्क्रिनमै आँखा अडिन्छ। बीचको समय पनि सूचनाको वर्षामा बित्छ। यस्तो अवस्थामा डिजिटल व्रत आधुनिक इन्द्रिय निग्रहको एउटा रूप हो। यो प्रविधिको विरोध होइन, प्रविधिप्रतिको विवेकपूर्ण सम्बन्धको अभ्यास हो।
मानव मस्तिष्क कुनै मेसिन होइन। त्यसलाई पनि विश्राम, मौनता र पुनर्संरचनाको आवश्यकता पर्छ। जब मानिस निरन्तर सूचना ग्रहण गरिरहन्छ, तब मस्तिष्कलाई प्राप्त सूचनाहरूलाई व्यवस्थित गर्ने, गहिरो रूपमा बुझ्ने र अर्थ दिने अवसर कम हुँदै जान्छ। फलस्वरूप ध्यान भङ्ग हुने, एकाग्रता घट्ने, चिन्ता बढ्ने र निर्णय क्षमता कमजोर हुने समस्या देखा पर्न थाल्छन्।
दार्शनिक दृष्टिले हेर्दा आधुनिक मानिसको ठूलो समस्या जानकारीको अभाव होइन, मौनताको अभाव हो। मानिसले संसारका समाचार त जान्दछ, तर आफ्नै मनको समाचार जान्दैन। उसलाई अरूको जीवनका गतिविधिहरू थाहा हुन्छन्, तर आफ्नै आत्माको आवाज सुनिँदैन। सामाजिक सञ्जालमा हजारौँ साथी हुन्छन्, तर आफूसँगको मित्रता हराउँदै जान्छ। डिजिटल व्रत यही हराएको संवाद पुनः स्थापित गर्ने प्रक्रिया हो।
जब मानिस केही समयका लागि मोबाइल बन्द गर्छ, सामाजिक सञ्जालबाट टाढा बस्छ र सूचना प्रवाहलाई सीमित गर्छ, तब सुरुमा उसलाई खालीपन महसुस हुन सक्छ; किनकि मन निरन्तर उत्तेजनाको आदी भइसकेको हुन्छ।
तर, बिस्तारै त्यो खालीपन शून्यता होइन, सम्भावनाको क्षेत्र बन्न थाल्छ। त्यही मौनतामा नयाँ विचार जन्मिन्छन्। त्यही एकान्तमा सिर्जनशीलता फक्रिन्छ। त्यही विश्राममा थकित मस्तिष्क पुनर्जीवित हुन्छ।
प्रसिद्ध दार्शनिकहरू र आध्यात्मिक चिन्तकहरूले एकान्त र मौनतालाई सधैँ आत्मविकासको आधार मानेका छन्। बुद्धले बोधिवृक्षमुनि मौन साधना गर्नुभयो। ऋषिहरू वनमा गएर ध्यानस्थ भए।
अनेकौँ वैज्ञानिक र साहित्यकारहरूले आफ्नो उत्कृष्ट सिर्जना एकान्तका क्षणहरूमा गरेका छन्। कारण स्पष्ट छ- जब बाहिरी आवाज कम हुन्छ, तब भित्री चेतना स्पष्ट सुनिन थाल्छ।
डिजिटल व्रतको अर्को महत्त्वपूर्ण पक्ष स्वतन्त्रता हो। आज धेरै मानिस आफू स्वतन्त्र भएको ठान्छन्, तर वास्तवमा उनीहरू सूचनाको प्रवाह, नोटिफिकेसनको आवाज र एल्गोरिद्मको निर्देशनमा बाँचेका हुन्छन्।
मोबाइल बज्दा तुरुन्त हेर्नुपर्ने बाध्यता, नयाँ पोस्ट नहेरी बस्न नसक्ने अवस्था, निरन्तर अपडेट खोज्ने बानी- यी सबै आधुनिक निर्भरताका संकेत हुन्। दार्शनिक भाषामा भन्नुपर्दा, जहाँ नियन्त्रण हराउँछ, त्यहाँ स्वतन्त्रता पनि हराउँछ।
वास्तविक स्वतन्त्रता भनेको कुनै वस्तु प्रयोग गर्न सक्नु मात्र होइन, आवश्यक पर्दा त्यसबाट टाढा बस्न सक्नु पनि हो। यदि मानिस केही घण्टा मोबाइल नहेरी बस्न सक्दैन भने त्यो उपकरण उपयोगको साधन मात्र रहेन; त्यो निर्भरताको विषय बनिसकेको छ। डिजिटल व्रतले यही निर्भरतामाथि प्रश्न उठाउँछ र मानिसलाई आफ्नै जीवनको नियन्त्रण पुनः प्राप्त गर्न प्रेरित गर्छ।
यसको सामाजिक आयाम पनि उत्तिकै महत्त्वपूर्ण छ। प्रविधिले दूरी घटाएको छ, तर धेरै अवस्थामा सम्बन्धको गहिराइ घटाएको छ। एउटै घरभित्र बसेका मानिसहरू फरक-फरक स्क्रिनमा हराइरहेका हुन्छन्।
संवादको स्थान सन्देशले लिएको छ। आँखामा आँखा जुधाएर हुने कुराकानीको स्थान इमोजीहरूले ओगटेका छन्। परिणामस्वरूप सम्बन्धहरू छिटो जोडिने तर छिटो टुट्ने भएका छन्।
डिजिटल व्रतले मानिसलाई पुनः मानवीय सम्बन्धतर्फ फर्काउँछ। परिवारसँग बिताएको समय, साथीहरूसँगको प्रत्यक्ष संवाद, प्रकृतिसँगको सान्निध्य र पुस्तकसँगको एकान्त भेट- यी सबै जीवनका त्यस्ता अनुभव हुन् जसले मनलाई गहिरो तृप्ति दिन्छन्। यिनको विकल्प कुनै पनि डिजिटल माध्यमले दिन सक्दैन।
प्रकृतिको दृष्टान्त पनि यहाँ सान्दर्भिक छ। खेतमा निरन्तर खेती गर्दा माटोको उर्वरता घट्छ। त्यसलाई केही समय बाँझो छोड्दा पुनः शक्ति प्राप्त हुन्छ। नदीको पानी पनि केही क्षण शान्त हुँदा मात्र आफ्नो गहिराइ देखाउँछ।
आकाशमा बादल हटेपछि मात्र ताराहरू देखिन्छन्। त्यसैगरी मस्तिष्कलाई पनि निरन्तर सक्रियताबाट केही समय विश्राम आवश्यक पर्छ। डिजिटल व्रत त्यो विश्रामको अवसर हो।
तर, डिजिटल व्रतको अर्थ प्रविधि त्याग्नु होइन। आजको संसारमा प्रविधिबिना शिक्षा, अनुसन्धान, सञ्चार र विकासको कल्पना गर्न सकिँदैन। प्रश्न प्रविधिको अस्तित्वको होइन, प्रयोगको चेतनाको हो। आगोले भोजन पकाउँछ, तर असावधानीले घर जलाउँछ। त्यसैले प्रविधि साधन हो, साध्य होइन। जब साधनले साध्यलाई नियन्त्रण गर्न थाल्छ, तब समस्या उत्पन्न हुन्छ।
डिजिटल व्रतले मानिसलाई सन्तुलन सिकाउँछ। यसले भन्छ- प्रविधि प्रयोग गर, तर त्यसको दास नबन। सूचना ग्रहण गर, तर सूचनाको बाढीमा नबग। संसारसँग जोडिऔँ, तर आफ्नै आत्मासँगको सम्बन्ध नतोडौँ।
वास्तवमा आधुनिक युगको सबैभन्दा ठूलो विलासिता समय होइन, ध्यान हो। जसले आफ्नो ध्यान नियन्त्रण गर्न सक्छ, उसले आफ्नो जीवन नियन्त्रण गर्न सक्छ।
डिजिटल संसार ध्यानको बजार बनेको छ जहाँ प्रत्येक कम्पनी, प्रत्येक प्लेटफर्म र प्रत्येक विज्ञापन मानिसको ध्यान कब्जा गर्न प्रतिस्पर्धा गरिरहेको छ। यस्तो अवस्थामा आफ्नो ध्यानलाई जोगाउनु नै आत्मरक्षाको कार्य हो। डिजिटल व्रत यही आत्मरक्षाको अभ्यास हो।
‘इकिगाई’ पुस्तकका लेखक हेक्टर गार्जिया र फ्रान्सेस्क मिरालेसका अनुसार डिजिटल व्रत बस्दा मानिस आफ्नो काममा एकाग्र हुन सक्छ र मस्तिष्कको उत्पादन क्षमता बढ्छ। मेगन अस्टविकले पनि लेखेकी छन् कि आँखाको थकान कम गर्न, गहिरो निद्रा पर्न, चिन्ता घटाउन र जीवनसँग सन्तुष्ट हुन डिजिटल व्रत उपयोगी छ।
अत्यधिक स्क्रिन समयले पाचन शक्ति कम गर्ने र मानसिक असन्तुलन ल्याउने तथ्य विभिन्न अनुसन्धानले देखाएका छन्। साथै, ‘फोमो’ अर्थात् अरूले केही गर्दै छन् र म केही गुमाइरहेको छु भन्ने डर—ले मानिसलाई पटक-पटक स्क्रोल गर्न बाध्य बनाउँछ। डिजिटल व्रतले यस डरलाई कम गर्न मद्दत गर्छ।
डिजिटल व्रत बस्ने तरिका सरल छ। हेक्टर र मिरालेसका अनुसार, साताको एक दिन (सामान्यतया शनिबार वा आइतबार) प्रविधिबाट टाढा बस्न सकिन्छ। यस बेला गीत सुन्ने, पुस्तक पढ्ने, पैदल यात्रा, पौडी खेल्ने वा प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने काम गर्न सकिन्छ।
सिर्जनशीलताका गतिविधि जस्तै: लेखन, चित्रकला, नाचगानमा समय बिताउँदा मस्तिष्क र मन दुवैलाई विश्राम मिल्छ। डिजिटल व्रतलाई जीवनशैली र संस्कारसँग जोड्न सकिन्छ, जसले मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्य सुधार्छ।
डिजिटल व्रत प्रविधिबाट टाढा बस्ने अभ्यास मात्र होइन, यो मानसिक शान्ति, सामाजिक सम्बन्ध र व्यक्तिगत सन्तुष्टिको उपाय पनि हो। आजको डिजिटल युगमा प्रविधिबाट पूर्ण रूपमा अलग रहन सम्भव नहुन सक्छ, तर नियमित डिजिटल व्रत बस्नाले हाम्रो मस्तिष्क, आँखाको स्वास्थ्य र पारिवारिक सम्बन्धलाई संरक्षण गर्न सकिन्छ। यसले हामीलाई हाम्रो सामाजिक, प्राकृतिक र सांस्कृतिक वातावरणसँग जोड्न पनि मद्दत पुर्याउँछ।
हेक्टर गार्जिया र फ्रान्सेस्क मिरालेस दुई जना स्पेनी लेखक र विचारक हुन्, जो जापानी संस्कृति र दर्शनप्रति आकर्षित थिए। उनीहरूले विशेष गरी जापानी जीवनशैली, कार्य-जीवन (वर्कलाइफ) सन्तुलन र ‘इकिगाई’ (जीवनको उद्देश्य) विषयमा लेखेका छन्।
गार्जियाको शैली स्पष्ट, व्यावहारिक र व्यक्तिगत अनुभवमा आधारित छ भने मिरालेसले सांस्कृतिक र ऐतिहासिक दृष्टिले गहिरो विश्लेषण गर्छन्। उनीहरूको संयुक्त लेखनले पाठकलाई जीवनलाई सरल तर सन्तोषजनक बनाउन, उद्देश्य खोज्न र दैनिक जीवनमा खुसी पाउन मार्गदर्शन गर्छ।
उनीहरूको विचार आधुनिक पश्चिमी जीवनशैलीलाई जापानी सादगी र मानसिक शान्तिसँग जोड्ने पुलका रूपमा काम गर्छ। आजको तीव्र गतिमा दौडिरहेका मानिसहरू अक्सर जीवनको साँचो उद्देश्य, शान्ति र आनन्द बिर्सेर बस्छन्।
यस्तो परिस्थितिमा, जापानी जीवन-दर्शन ‘इकिगाई’ ले संसारलाई एउटा नयाँ दिशा देखाएको छ। यो पुस्तक जीवनको यस्तो सुन्दर दर्शन हो, जसले हामीलाई आफ्नो अस्तित्वसँग सामञ्जस्य कायम गर्न प्रेरित गर्छ।
उनीहरूले वैज्ञानिक तथ्य, दार्शनिक दृष्टिकोण, कथाहरू र आफ्नै अनुभवलाई सँगै मिसाएर पठन अनुभवलाई जीवन्त बनाएका छन्। पढ्दा पाठकलाई यस्तो लाग्छ, मानौँ कोही साथीले तपाईंलाई अर्थपूर्ण कुरा सुनाइरहेको छ।
यस शैलीले पाठकलाई सहज तर गहिरो ढङ्गले सोच्न र आत्म-अन्वेषण गर्न प्रेरित गर्दछ। पुस्तकले विद्यार्थी, पेसाकर्मी, गृहिणी र सेवामुक्त (रिटायर्ड) सबैका लागि जीवनका उत्तर खोज्ने पाठ प्रस्तुत गर्दछ। स्वास्थ्य, दीर्घायु र जीवनशैलीका वैज्ञानिक तथ्यलाई दार्शनिक दृष्टिकोणसँग जोडेर मन, शरीर, भावना र उद्देश्य एकसाथ सम्बोधन गर्ने कला यसमा अद्भुत ढङ्गले प्रस्तुत गरिएको छ।
पुस्तकको भाषा सरल तर प्रभावशाली छ। यसले जटिल दार्शनिक विचारहरूलाई पाठकले सहजै बुझ्न र आत्मसात् गर्न सक्ने बनाउँछ। यद्यपि केही अंश दोहोरिएका छन्, जसले पठनक्रम कहिलेकाहीँ धीमा हुन सक्छ।
ओकिनावाको जीवनशैली सबै देशमा प्रत्यक्ष रूपमा लागू नहुने भए तापनि, दार्शनिक र सिद्धान्तगत आधार सार्वत्रिक रहेको हुनाले सबै पाठकका लागि उपयोगी रहन्छ। यो जीवनशैली वा स्वास्थ्यको पुस्तक मात्र नभएर, जीवनलाई अर्थपूर्ण, सन्तुलित र उद्देश्यपूर्ण बनाउन मार्गदर्शन गर्ने साहित्यिक र दार्शनिक यात्रा हो।
डिजिटल व्रत चेतनाको अनुशासन हो। यो बाहिरी संसारबाट भाग्ने प्रक्रिया होइन, आफूभित्र फर्किने यात्रा हो। यो सूचनाको विरोध होइन, सूचनामाथिको विवेकपूर्ण नियन्त्रण हो। यो समयको अपव्यय रोक्ने उपाय मात्र होइन, जीवनको अर्थ पुनः खोज्ने अवसर हो।
जब मानिस केही समयका लागि स्क्रिनको उज्यालोबाट टाढा हुन्छ, तब उसले भित्री प्रकाशलाई देख्न थाल्छ। जब नोटिफिकेसनहरूको कोलाहल शान्त हुन्छ, तब आत्माको सूक्ष्म स्वर सुनिन थाल्छ। जब सूचना प्रवाह केही क्षण रोकिन्छ, तब चेतनाको नदी स्वच्छ रूपमा बग्न थाल्छ।
त्यसैले, डिजिटल व्रत आजको युगमा मानसिक स्वास्थ्य, बौद्धिक स्पष्टता र आत्मिक सन्तुलनका लागि आवश्यक साधना हो। निराहार बस्दा जसरी शरीरले विश्राम पाउँछ, त्यसैगरी डिजिटल व्रतले मस्तिष्कलाई पुनर्जीवित गर्छ। र, पुनर्जीवित मस्तिष्कले मात्र शान्त, सन्तुलित, सिर्जनशील र अर्थपूर्ण जीवनको निर्माण गर्न सक्छ।







डिसी नेपाल







Facebook Comment