लघुकथा: दबदबा
“के भयो, हँ के भयो?” पहिलोले सोध्यो।
दोस्रोले झनक कसेर जवाफ फर्कायो, “अरूको बुद्धिमा लागेर करोडपति हुनूभन्दा आफ्नो बुद्धिमा जोगी हुनू बेस! कमसेकम कसरी जोगी भएँ भन्ने अनुभव त रहन्थ्यो?” ऊ कड्कियो।
चर्को घामले उकुसमुकुस भएको छ। चौतारीको छहारीमा बसेका छन्, पसिना पुछेका छन्। केही बेरको बसाइपछि शीतलताको आभास हुन्छ अनि कुराकानी चल्छ। अहिलेको युवा पुस्ताले गफमा विश्वास गर्दैन, हेर्छ त केवल रिजल्ट। उनीहरू परिणाममुखी छन्। विषय रोचक छ, सुन्नेले पनि कान ठाडा पारेर सुनेको देखिन्थ्यो।
दुई पुस्ताबिच कचहरी चल्यो। बुढाखाडासँग विचारको द्वन्द्व बाझियो। उनीहरूको हरेक प्रसङ्ग केवल टिकाउनेमा मात्र सीमित रह्यो। ‘घुमीफिरी रुम्जाटार’ भनेझैँ कसरी हुन्छ, गोडमेल गरेर साँठगाँठ गरी अस्तित्व बचाउनेमा केन्द्रित रहन्थ्यो।
बुद्धले सम्झाउँदै बोले, “ल सुन केटा हो, तिमीहरूलाई केही थाहा छैन! आलाकाँचा छौ, विवेक छैन। आफ्नो सत्ता बचाउन पकड मजबुत रहनुपर्छ क्या! नत्र अरूले हेप्छन्, तल परिन्छ, बुझ्यौ।” उनले मुहारमा पुर्लुक्क नजर दौडाए।
पहिलोलाई असह्य भयो, ऊ रनक्क रनकियो र भन्यो, “तिमीहरू विकासका बाधक हौ अनि नमस्तेका भोका छौ। युवाको जस्तो जोस, जाँगर र त्यो भिजन अरूमा कहाँ हुन्छ र? ‘हाम्रो होइन राम्रो’ को नारा लगाउनुहोस् अनि पो देशले चाहेको निकास पाउला!” उसले कालो अनुहार लगायो र निधार खुम्याउँदै बोल्यो।
बुद्धले कुरै सुनेनन्। ‘मेरो गोरुको बाह्रै टक्का’ जसरी रवाफ देखाए, “माउभन्दा चल्ला बाठा भनेको यही हो, नउम्रिँदै तिनपाते, बोलिसक्नु छ र? आफूलाई फाइदा हुने काम गर्नुपर्छ भन्दा बुझ्ने होइन!” उनी भड्किए।
सबै सुनिरहेको दोस्रोले छेड हान्यो, दाँज्यो। परिस्थिति नियाल्यो अनि फिस्स हाँस्दै बोल्यो, “यो दबदबा पनि एउटा मनोरोग नै रहेछ क्यार! शङ्काकै दृष्टिले हेर्नुपर्ने, हैन किन डराएका?” उसले दर्पण देखायो।
लघुकथा: विध्वंस
“होसियार! होसियार!! इन्कलाब जिन्दाबाद! इन्कलाब जिन्दाबाद!!”
राज्यसँग असन्तुष्ट पक्षले सडकमा नारा लगाए, जुलुस निकाले। उनीहरूले देशमा व्यवस्थित कार्यप्रणाली, सुशासन, पारदर्शिता र सुनिश्चित भविष्यको माग राखेका थिए। नेतृत्व गर्नेले पहिला माइकबाट भने, अरूले जिन्दाबादले समर्थन जनाए भने असमर्थन मुर्दावादले गरेका थिए। उनीहरूले शान्त तवरले राज्यपक्षलाई दबाब दिन खोजेको प्रस्टै देखिन्थ्यो।
अपरिचित अनुहार हुलमा मिसियो। सडक जाम भयो, बाटो अवरुद्ध गरे, गाडीहरू छेउमा लामबद्ध लागे। ढुङ्गामुढा हुन थाल्यो। तोडफोड, आगजनी लगायत ठुलै जनधनको क्षति भयो। शान्तिपूर्ण जुलुस अचानक छारस्ट हुन पुग्यो। विध्वंसक गतिविधि बढ्यो, उग्र रूप लियो।
नाइकेले सम्हाल्न सकेन, आन्दोलन हिंसात्मक बन्यो, भागाभाग भयो, दौडधुप हुन थाल्यो, कसैले टेरेनन्। नाइके पछि हट्यो, उसलाई दबाब आयो र औँला ठड्याउँदै भनियो, “घटनाको पूर्ण जिम्मा तैँले नै लिनुपर्छ।” ऊ भयभीत भयो।
सुरुको सङ्गठन बिलायो, कोही घर फर्के त कोही अँध्यारो मुख लगाएर बसेका थिए। तेस्रो पक्षको सक्रियता बढ्यो। ‘को के’ भन्ने कसैले सुइँको पाएनन्। नाइकेलाई ‘निल्नु न ओकल्नु’ भयो। घटनाको पूर्ण जिम्मेवारी उसले नै लिनुपर्ने देखियो।
‘आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ भनेझैँ भयो। नाइके शिथिल भयो, निराश देखियो। ऊ ठुस्स के बसेको थियो, एकले कालो अनुहार लगाउँदै भन्यो, “मौकाको फाइदा लिने गिद्धे दृष्टि भएको चक्रव्यूहमा क्या नमज्जाले फसियो, यो विध्वंसको जिम्मा कसले लिन सक्छ हँ?” ऊ मलिन भयो।
लघुकथा: मर्का
“फेरि फेरि, के फेरि बढ्यो?”
मध्यमवर्गीय परिवार छ, जेनतेन गुजारा चलेको छ। जागिर गर्यो, महिना मर्दा यसोउसो तिरोतारो गर्दा तलब सकिन्छ। कतिपयको त अझ हिसाबै आउँदैन, गाह्रो छ। महँगी चुलिएको छ।
गाउँघर नै ठिक बस्न त? मेलापात, दाउराघाँस, भैँसी-भकारो, उकाली-ओराली गर्दा दिन बित्थ्यो। आफैँले उब्जाएको बिस्कुन सुकायो, उठायो, अर्गानिक खायो। स्वस्थ पनि भइने, कसरत पनि हुने— गजब थियो दिनचर्या त!
गौतमले छड्के आँखा तर्यो अनि ओठ लेप्र्याउँदै बोल्यो, “किन आएको त, उहीँ बसेको भए हुने नि! धेरै फुटानी नलगाऊ भो, उति बेला सहर-बजारमा सुख-सुविधा हुन्छ भनेर धायौ, अहिले महँगीको चपेटाले गाउँ नै सम्झियौ हैन!” उसले ङिच्च दाँत देखाउँदै बोल्यो।
काफ्ले केही नरम भयो। ऊ समाजको गतिशील पात्र हो, देखेको कुरा स्पष्ट बोल्ने अनि सहयोगी स्वभावको छ। उसले शब्दले छेड हानेको चाल पायो र भन्यो, “घरमा साधन हुँदाहुँदै किन हिँडेर आयौ, के भयो?”
गौतम: “नयाँ सरकार के बनेको थियो, पेट्रोलियम पदार्थको मूल्य आकासियो। कसरी थेग्नु हो यो भार पनि? छाडेँ चलाउन! जेजे भने पनि मर्काचाहिँ सर्वसाधारणलाई नै पर्ने रहेछ।” उसले समसामयिक परिवेश दर्सायो।
काफ्ले सोचमा परे, उनले विगत सम्झिए अनि बोले, “पहिला मूल्यवृद्धि सुन्नेबित्तिकै कामै ठप्प पारेर सडकमा उत्रिएर नारा-जुलुस गर्ने, टायर बाल्ने, हडताल गर्ने जनता पनि यिनै हुन्।” उनले तुलना गरे।
गौतम कड्किए, झनक कसे। समकालीन परिस्थिति नियाल्दै भने, “मूल्यवृद्धिले ढाड सेक्दा पनि सबैले मौनता साँधेका छन्, हैन! विगतमा किन अबुझ भएका त?”















Facebook Comment