पोखरा भ्रमण र भारतीय पर्यटकबारेका तीता-मीठा अनुभव
मनसुनको आगमन हुन लागेकाले नेपालमा भारतबाहेकका अन्य देशका पर्यटकको सङ्ख्या घट्दो छ। त्यसमाथि खाडी युद्धकै कारण जताततै शान्ति-सुरक्षा कमजोर भएको महसुस हुनाले र यातायात पनि महँगिएकाले विश्वभर नै अनाहक घुमफिर गर्ने प्रवृत्तिमा हाल कमी आएको छ।
तर, भारतमा यतिबेला निकै गर्मी हुने भएकाले नै होला, हाल नेपालमा भारतीय पर्यटकको सङ्ख्या ज्यादै बढेको छ। नेपालमा सडकको अनुपातमा मोटरगाडीको सङ्ख्या निकै बढी भइरहेका बेला भारतीय पर्यटकका पनि दिनहूँ हजारौँ सवारी साधन पर्यटकीय क्षेत्र पुग्ने राजमार्गमा आवतजावत गर्दा यातायातको भीडभाड निकै बढेको छ।
खाडी युद्धका कारण विश्वमा नै सुन, पेट्रोलियम पदार्थ र सम्पूर्ण दैनिक उपभोग्य सामानको मूल्यवृद्धि भइरहेकाले पनि होला, भारतीय प्रधानमन्त्री मोदीजीले भारतीयहरूलाई सुन किन्ने र विदेशी मुद्रा खर्च गर्ने कामबाट टाढा रहन आह्वान गर्नुभएको छ। यतिबेला भारतमा गर्मी पनि ज्यादै बढेको छ। त्यसैले, भारतीयहरू आफ्नो मुलुकभित्रका ठन्डा उच्च पहाडी गन्तव्यहरू र नेपालको भ्रमणमा आकर्षित भएका हुन्।
नेपाल भ्रमण गर्न विदेशी मुद्रा सटही गरिरहनु नपर्ने, हुनेखानेले आफ्नै सवारी साधनमा भ्रमण गर्न सक्ने तथा गर्मी छल्न आउँदा विभिन्न देवी-देवता र मठमन्दिरको दर्शन पनि गर्न पाइने। त्यसमाथि ज्यादै सस्तोमा किनमेल हुने, खानपान तथा धर्म र संस्कृति पनि मिल्ने ज्यादै उदार देश।
पाहुनाको सत्कार गर्ने हामी सोझा नेपालीहरू। यिनै कारणले गर्दा केही महिनादेखि नेपाल भ्रमणमा आउने भारतीयहरूको सङ्ख्या ह्वात्तै बढेको छ। राजमार्गमा भारतीय नम्बर प्लेटका मोटरगाडीहरू छ्यापछ्याप्ती देखिन्छन्; ठूला बसदेखि जीप र कारको ताँती नै भेटिन्छ।
वास्तवमा नेपालीका निम्ति पनि विदेश जाने, भिसा प्राप्त गर्ने र विदेशी मुद्रा सटही गर्ने झन्झटमा पर्नुभन्दा भारतका सहरहरूको भ्रमणमा जानु नै उत्तम हुन जान्छ। विभिन्न तीर्थस्थलको दर्शन गर्न, स्वास्थ्योपचार गर्न र विश्वस्तरका सपिङ मलहरूमा किनमेल गर्न अब अन्य देश जानुभन्दा भारत नै सहज हुने गरेको छ।
नेपालबाट भारतका प्रमुख सहरहरूमा सिधा हवाई उडान छँदैछ भने मोटरगाडी र रेलबाट आवतजावत गर्न पनि निकै सुविधा छ। फरक यति मात्र हो कि नेपाली मोटरगाडीहरू भने त्यति सजिलोसँग भारतमा चलाउन पाइँदैन, जति भारतीय गाडीहरू नेपालमा स्वतन्त्र रूपमा गुड्न पाउँछन्।
पछिल्लो समय सडकमार्गबाट र त्यसमा पनि आफ्नै सवारी साधनमा नेपाल भ्रमणमा आउने भारतीयहरूको सङ्ख्या ह्वात्तै बढेको छ। पोखरामा हुने भीड त्यहीँका लागि मात्र आउने पर्यटकको नभई मुक्तिनाथजस्ता तीर्थस्थलमा जाँदा बाटो परेकाले केही दिन पोखरामा बिताउने ध्येयले पनि हो।
चितवन, भैरहवा र पोखराजस्ता सहरमा प्रशस्त पर्यटकीय पूर्वाधार रहेको भए पनि मुक्तिनाथ, स्वर्गद्वारी, धनकुटा वा अन्य गन्तव्यमा भने अझै पनि आवश्यकताभन्दा निकै कम पूर्वाधारको मात्र विकास भएको छ। तर, भारतीय पर्यटकको आगमन दीर्घकालीन रूपमा बढ्न थालेमा निजी क्षेत्रबाट गरिने पूर्वाधारको पनि विकास हुँदै जाने नै छ।
धार्मिक पर्यटनअन्तर्गत नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र त्यतिबेला उहाँले गर्नुभएको जनकपुर, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथको तीर्थयात्रापछि तीव्र रूपमा बढ्न थालेको हो। हिजोआज मनकामनामा पनि भारतीय तीर्थयात्रीको ठूलो भीड लाग्ने गरेको छ।
एक प्रकारले यो निकै राम्रो सङ्केत हो। नेपाल भ्रमणमा भारतीय र चिनियाँ पर्यटकको सङ्ख्या बढ्दा नेपाली पर्यटनले फस्टाउने राम्रो मौका पाउँछ। न्यून बजेटका अन्य विदेशी पर्यटकको तुलनामा बसाइ अवधि कम भए पनि भारतीय र चिनियाँ पर्यटकको खर्च गर्ने बानी उच्च हुन्छ।
तर, यस्तो आगमनबाट विकृतिहरू भने नभित्रिऊन् भन्ने मात्र मूल कुरा हो। किनकि अधिकांश चिनियाँ पर्यटकहरू ज्यादै कडा र सङ्कुचित मिजासका हुन्छन् भने प्रायः भारतीयहरूको स्वभावमा अराजकता र अनुशासनहीनता मिसिएको हुन्छ। यो उनीहरूको जन्मजात दुर्गुण नै हो कि जस्तो लाग्छ, नत्र उनीहरूले नेपाल र नेपालीलाई माया गरेको नै भान हुन्छ।
नेपाल आउने पश्चिमा पर्यटक धेरैजसो ‘ब्याकप्याकर’ अर्थात् झोले पर्यटक मात्र हुने गरेका छन्। ब्याकप्याकरहरू कम खर्चमा घुम्न रुचाउँछन् भने उनीहरू भ्रमण गर्ने मुलुकका स्थानीय र ठेट खाना, बसाइ र रहनसहनमा रमाउन चाहन्छन्।
उनीहरूको भ्रमण अवधि खर्चालु पर्यटकको दाँजोमा लामो हुन्छ र मुलुकका विभिन्न ठाउँमा पदयात्रामा जाँदा वा अन्य तवरले घुम्न जाँदा स्थानीय जनतासँग घुलमिल भएर बस्न रुचाउँछन्। थोरै खर्च गर्ने भए पनि उनीहरूबाट स्थानीय जनताले केही न केही सिकी नै रहेका हुन्छन्।
यो सबै प्रसङ्ग केही दिनअघिको मेरो पोखरा भ्रमणको अनुभवको हो। ज्यादै व्यस्त दिनचर्याले गर्दा केही दिन बिल्कुलै आराम गर्ने चाहनाका साथ म पोखराका निम्ति छोरा-बुहारीसँग मोटरगाडीमा निस्कन्छु। काठमाडौँदेखि नौबिसेसम्मको बाटोको स्तर राम्रो भएको रहेछ, केही चौडा पनि गरिएको रहेछ।
तर, केही स्थानीयवासीको उजुरीका पक्षमा अदालतको विनासित्तिको ‘स्टे अर्डर’का कारण नैकापदेखि थानकोटपारिसम्म ठाउँ-ठाउँमा सडक विस्तार गर्न नमिलेर बाँकी रहेका पुराना घरहरूले गर्दा बाटो साँघुरो नै रहन गएको छ। घरहरू भत्काएर सडक विस्तार नहोउन्जेलसम्म मुआब्जा खाएर बस्ने कुनियत देखिन्छ, तर ती घरहरू जुनसुकै बेला पनि भत्किने भएकाले पछाडिपट्टि भने पक्की घरहरू बनाइसकेको पनि देखियो।
काठमाडौँ उपत्यकाबाट बाहिरिने प्रमुख मार्ग नौबिसेदेखि मुग्लिङसम्मको बाटो कछुवाको गतिमा पुनर्निर्माण भइरहेको देख्दा ज्यादै दिक्क लाग्यो। यो दूरी तय गर्न झन्डै चार घण्टाको पट्यारलाग्दो यात्रा गर्नुपर्ने बाध्यता छ।
आखिर कहिले तयार हुन्छ त यो बाटो? यस्तै विभिन्न ठाउँमा हात हालिएका सडक विस्तारका योजनाहरू सम्पन्न हुने कहिले होला खै! नेपालमा सडकहरू विस्तार गर्दा किन पुरै सडक जीर्ण बनाइन्छ र सम्पन्न हुन झन्डै एक दशक लाग्छ? सुरुको अनुमानित खर्चभन्दा निर्माण सम्पन्न हुँदाको खर्च पाँच-दश गुणा बढी भइसकेको हुन्छ र त्यतिन्जेलसम्म यात्रुले सकस पाइरहनुपर्ने!
तर, ठेकेदार, प्रशासक वा सरकार कसैलाई पनि कुनै पनि प्रकारको कारबाही वा गाल नपर्ने। खै कहिले नेपाल सप्रिएला! नयाँ र ‘केही गर्छु’ भनेर बनेको सरकारले यो विषयमा विशेष पहल गर्नु जरुरी छ। यस्तो अवस्थामा पनि बाटोमा खुलेका चिया, कफी र खाजाका स्तरीय पसलमा रोकिएर शौचालय प्रयोग गर्नुका साथै मीठो चिया-कफीको आनन्द लिन पाउँदा भने मन केही हदसम्म शान्त हुन्थ्यो।
मुग्लिनटार कटेर आँबुखैरेनीसम्मको बाटो चौडा गर्न नसकिएको भए पनि कमसेकम बाटो राम्रो अवस्थामा रहेकाले यात्रा गर्न रमाइलै भयो। नदीहरूमा कता-कतादेखि बगाएर ल्याएको माटोमिश्रित पानीको ठूलै बाढी देखिएको थियो।
आँबुखैरेनीबाट पोखरासम्मको चारलेनको बाटोमा मोटरमा बसेर यात्रा गर्दाको आनन्द भने बयान गरेर साध्य छैन। सरर… बगेझैँ भयाैं हामी त। त्यति लामो दूरी तय गर्न १ घण्टा २० मिनेट मात्र लाग्यो। दमौलीमा पुल र सडकको सानो खण्ड मात्र बनेर तयार हुन बाँकी रहेछ भने पोखरा पुग्दाका सेती नदीका दुई पुलको निर्माण कार्य अझै भइरहेकाले थोरै अवरोध भयो।
पोखराको नयाँ विमानस्थल जाने बाटो देखेपछि सो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेर सुनसान भएको कुराले मन निकै दुख्यो। तर, ‘हरेक नराम्रो दिनपछि राम्रो दिन पनि आउँछ’ भन्ने भावले मनलाई शान्त बनाएँ।
बाटोमा नेपालका अराजक माइक्रोबसले भन्दा पनि भारतीय मोटरगाडीको नियमविपरीतको हँकाइले केही असहज परिस्थितिको सामना गर्नुपरेको थियो। मोटरगाडीको झ्यालबाट विभिन्न प्रकारका खानाका खाली प्याकेट, बोतल, चुरोटका ठुटा र सुर्तीका प्याकेट बाहिर सडकमा फ्याँक्ने र विनासित्ति हर्न बजाउने हामी नेपालीको बानीमा निकै सुधार आएको भए पनि भारतीय मित्र तथा भाइबहिनीको भने सो आदत कायमै रहेछ।
यी र यस्ता सबै कुरालाई थाती राखेर हामी पोखराको सुन्दरतामा केही दिन रुझ्ने मनस्थिति बनाएर त्यहाँको सहरी इलाका हुँदै तालक्षेत्र (लेकसाइड) मा पुग्यौँ। भोकले हत्तु पारेकाले हाम्रो पहिलो प्राथमिकता नै खाना खानु हुन गयो।
एउटा थकाली खाना पाइने निकै नाम चलेको रेस्टुरेन्टबाहिर मोटर पार्क गरेर हामी पहिलो तलामा अवस्थित सो रेस्टुरेन्टमा गयौँ। त्यहाँ पनि पहिलेको शान्त वातावरण बद्लिएर भारतीयहरूले नै भरिभराउ भएको र बियर तथा अन्य मदिराजन्य पेय पदार्थ र चुरोट पिएर दिउँसै होहल्ला गरिरहेको दृश्य देख्यौँ।
हामी बेला-बेलामा त्यहाँ गइरहने भएकाले होटलका एक जना परिचित कर्मचारीले हामीलाई मुसुक्क हाँसेर एउटा क्याबिनमा लगेर राखे। ठेट थकाली खाना, त्यसमाथि भोक लागेका बेला भएकाले होला निकै मीठो मानेर सबैले खायौँ। फापरको ढिँडो त निकै नरम र घिउ पनि परेकाले ज्यादै स्वादिलो। आहा!
खानापछि हामी लेकसाइडमा नै रहेको तथा काठमाडौँबाटै बुक गरिएको रिसोर्टमा पुग्यौँ। त्यहाँ पनि पार्किङमा भारतीय नम्बर प्लेटका गाडीहरूले भरिएको र लबी पुरै भारतीयहरूले खचाखच भरिएको देखियो। एक मनले खुसी पनि लाग्यो।
यस्तो मनसुन सुरु हुन लागेका बेलामा भारत र दक्षिण एसियाबाहिरका विदेशीहरू प्रायः नेपाल भ्रमणमा नआउने भए पनि कमसेकम गर्मी छल्न भए पनि भारतीयहरू आउँदा मुलुकलाई पर्यटन उद्योगबाट केही न केही फाइदा भयो नै भन्ने कुराले मन सकारात्मक नै भएको थियो।
साँझमा मेघगर्जनका साथ पानी पर्यो, तर गर्मीलाई कम गर्दै छिट्टै थामियो पनि। म भने थकाइ मेट्न नै गएको मान्छे, केही बेर पानी परेको आवाज सुन्दै सुतिपो गएछु। राती लेकसाइडमा नै एक चिनियाँ रेस्टुरेन्टमा हल्का खाना खाएर होटल फर्कियौँ।
क्रमशः…….
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।















Facebook Comment